News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय महिला फुटबल टिमले ७ कात्तिकमा इरानसँग त्रिदेशिय मैत्रीपूर्ण फुटबल खेल्नेछ।
- नविन न्यौपाने पहिलो पटक महिला टिमको प्रशिक्षक बनेर इरानविरुद्ध डेब्यु गर्नेछन्।
- टिममा दुई नयाँ खेलाडी र तीन खेलाडीको पुनरागमन भएको छ, जसले टिमलाई बलियो बनाएको छ।
७ कात्तिक, काठमाडौं । नयाँ प्रशिक्षक, फरक परिवेश, दुई नयाँ खेलाडी अनी नयाँ अध्यायको सुरुवात गर्ने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज इरानसँग खेल्दैछ ।
त्रिदेशिय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल अन्तर्गत नेपालले आफ्नो पहिलो खेल भारतको सिलोङस्थित जवाहरलाल नेहरु मैदानमा आज साँझ सवा ६ बजे इरानसँग खेल्नेछ ।
यसमा आयोजक भारतले पनि खेल्दैछ । यसअघि भएको पहिलो खेलमा इरानले भारतलाई हराएर बलियो सुरुवात गरिसकेको छ । भारत र इरानका लागि यो खेल एएफसी महिला एसियन कप छनोटको तयारीका सहयोगी हुनेछ भने नेपालका लागि दुई बलिया टिम विरुद्ध खेल्दा आफ्नो स्तर मापन गर्ने र नयाँ खेलाडीका लागि एक्सपोजर दिने अवसर हुनेछ ।
एसियन कपमा छनोट हुन नसकेको नेपाली महिला टोलीले भने फिफा विन्डोलाई सदुपयोग गर्दै त्रिदेशिय खेल र मैत्रीपूर्ण खेलहरु खेल्दै आफूलाई फिट राख्ने अवसर हुनेछ ।
न्यौपानेको नयाँ परिक्षा
महिला टिमको मुख्य प्रशिक्षकमा नविन न्यौपाने छन् । न्यौपाने त्यस्ता प्रशिक्षक हुन् जसले ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब, नेपाल सुपर लिगमा पोखरा थण्डर्स र एफसी चितवन, नेपाली राष्ट्रिय पुरुष टिम, यू२३ पुरुष टिमसम्मको प्रशिक्षण सम्हालिसकेका छन् ।
उनि पहिलो पटक महिला फुटबल टिमको प्रशिक्षक बनेका हुन् । त्यसैले उनका लागि यो फरक अनुभव समेत हुनेछ । त्यसमा पनि छोटो समयमको तयारीमै दुई बलिया टिमसँग खेल्न जाँदा न्यौपानेलाई अनुभव बटुल्ने मौका हुनेछ ।

एन्फाले नविन न्यौपानेल आसन्न साफ महिला च्याम्पियनसिप सम्मका लागि महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । त्यसैले इरान र भारतसँग हुने खेलबाट उनले नेपाली टिम र खेलाडीको बारेमा थप बुझ्ने मौका पाउनेछन् र आगामी दिनको लागि योजना बनाउन पनि सहज हुनेछ ।
इरान विरुद्धको खेलमार्फत न्यौपाने महिला टिमको प्रशिक्षकको रुपमा डेब्यु गर्ने छन् ।
नेपालमा छोटो समयमको तयारी भएपनि विदेशी लिग खेलेर आएका चार खेलाडीको आगमनले टिमको मोरल उच्च रहेको र खेल्न उत्सहित रहेको प्रशिक्षक न्यौपानेले बताएका छन् ।
‘बाहिरका खेलाडी आएपछि टिमको मोरल उच्च छ । यहाँको हावापानी पनि नेपालको जस्तै छ र पिच पनि राम्रो छ,’ शिलोङ पुगेपछि प्रशिक्षक न्यौपानेले भने, ‘हामीले इरान र भारतको म्याच पनि हेर्यौँ । इरान भारतलाई जितेर कन्फर्ट जोनमा छौँ ।’
नेपाली टोली तिहारको समयमा विदेशमा खेल्न गएको हो । तिहारको मुख्य दिन भाईटिकाको अघिल्लो दिन भारत पुगेको टोलीले भाइटिकाको भोलिपल्ट खेल्न लागेको हो ।
प्रशिक्षक न्यौपानेले यो ट्राई नेसन्स कपको उपाधि जितेर नेपालीलाई उपहार दिन चाहेको बताएका छन् । ‘हामी फ्रेण्डली भन्दा ट्राई नेसन कपको उपाधि जितेर नेपाली फुटबल समर्थकलाई राम्रो उपहार दिन चाहन्छौँ ।’
कप्तान सावित्रा भण्डारीले ट्राज्ञ नेसन्स फुटबलका लागि सबै खेलाडी उत्साहित रहेको बताएका छन् ।
‘सबै जना उत्साहित छन् । इरान र भारत एसियन कपलाई छनोट भएका छन् । उनीहरुको कन्फिडेन्स उच्च छ । त्यसका लागि हामी मानसिक र शारीरिक रुपमा तयार छौँ ।’ सावित्राले भनिन् ।

फेरिएको इरान विरुद्ध जित्ने लक्ष्य
मुख्य प्रशिक्षक न्यौपानेले इरान विरुद्धको खेलका लागि रणनीति बनाएको जित्ने लक्ष्य रहेको बताएका छन् ।
ट्राईनेसन्स मैत्रीपूर्ण फुटबलको उपाधि नै जित्ने लक्ष्य राखेको नेपालले पहिलो खेलमा इरान विरुद्ध सकरात्मक नतिजासहित सुरुवात गर्न चाहन्छ । इरानले पहिलो खेल जितिसकेकोले पनि लयमा छ । त्यसैले नेपालका लागि पहिलो खेल चुनौती बन्न सक्छ । तर प्रशिक्षक न्यौपाने भने जितकै लागि खेल्ने बताउँछन् ।
‘हामील इरानसँगको खेलका लागि जुन स्ट्राटेजी र प्लान बनाबको छौँ । इरान र भारत दुवै बलियो टिम छ । त्यसमा आफ्नो बेस्ट दिएर पोजिटिभ दिएर नतिजा निकाल्ने प्रयास गर्नेछौँ, उनले भने, ‘लक्ष्य भनेको जित्ने नै हो । पिच भित्र आउँदा जितको लक्ष्य भएन भने काम छैन । त्यस कारणले गर्दा हामीले इरानलाई जित्यो भने हामी कन्फर्ट जोनमा हुन्छौँ र भारतसँगको अन्तिम खेलबाट को विजेता बन्छ भनेर निर्णय हुन्छ । त्यसका लागि हामीले सुरुदेखि नै ध्यान दिनुनर्छ ।’
कप्तान सावित्रा भण्डारी साम्बाले पनि इरान विरुद्ध जितकै लागि खेल्ने बताएकी छिन् । हामी नतिजाको लागि आको र नतिजाका लागि खेल्छौँ । जित्नको लागि खेल्नेछौँ ।
सावित्राले पहिला देखि नै सँगै खेलिरहेको खेलाडी भएकोले टिम कम्बिनेसनमा पनि खासै समस्या नहुने बताइन् । ‘पहिला देखि खेलिरहेको साथीहरु छन् । कम्बिनेसनमा गाह्रो नहोला । प्रो खेलाडी भएपछि यो कुरा फेस गर्नुपर्छ ।’
सावित्राले नेपालको बलियो पक्ष नै जित्ने मानसिकता रहेको र त्यसै अनुसार खेल्ने बताइन् ।

नेपालले महिला फुटबलमा दोस्रो पटक इरानसँग खेल्न लागेको हो । यसअघि सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा नेपालले इरानलाई ३-० ले पराजित गरेको थियो । तर अहिले अवस्था फेरिसकेको छ ।
इरान फिफा वरियतामा नेपाल भन्दा १९ स्थान माथि छ । अर्कोतर्फ इरान एएफसी महिला एसियन कपका छनोट हुँदा नेपाल छनोट हुन सकेन । यसमा प्रशिक्षक न्यौपाने पनि जानकार छन् ।
‘पहिला हामीले जितेको इरान र अहिलेको इरान फरक छ । इरानले धेरै प्रोग्रेस गरिसक्यो । हामीले त्यही अनुसार रणनीति बनाएका छौँ र त्यसमा अडिग भएर खेल्छौँ र पोजिटिभ सुरुवात गर्नेछौँ ।’
दुई नयाँ खेलाडी र तीन खेलाडीको पुनरागमन
पछिल्लो पटक उज्वेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेको टिमबाट नेपाली महिला टोलीमा यस पटक ५ खेलाडी परिवर्तन भएका छन् । जसमा दुई नयाँ अनुहार समेटिँदा तीन खेलाडीले पुनरागमन गरेका छन् ।
गत वर्ष नेपालमै भएको साफ महिला च्याम्पियसिपसिपका दौरान घाइते भएका डिफेण्डर हिरा कुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले लामो समयपछि राष्ट्रिय टिममा पुनरागमान गरेका छन् । यस्तै डिफेण्डर सजनी थोकरले पनि पुनरागमन गरेकी छन्
यस्तै बाहेक यू१९ महिला टिमका दुई फरवार्ड मिना देउवा र पुर्णिमा राईले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । उनीहरुले उमेर समूहका साथै घरेलु प्रतियोगितामा पनि राम्रो प्रदर्शन गरेकोले राष्ट्रिय टिममा अवसर पाएका हुन् ।
नयाँ खेलाडी भएकोले उनीहरुको परिक्षण हुन बाँकै नै रहेको र भविष्यका लागि भने राम्रो हुने कप्तान सावित्राले बताइन् । ‘दुई नयाँ खेलाडीको टेष्ट हुनै बाँकी छ । नेसनल टिमा युवा खेलाडी आउँदा भोलीका लागि टिम र राष्ट्रलाई सहज हुन्छ । दुई बहिनी आउँदा त्यो प्लस प्वाइन्ट हुन्छ । उनीहरुमा पोटेन्सियल छ तर समग्रमा परिक्षण हुन बाँकी छ ।’

यस्तै हिरा र दीपा पहिला देखि नै टिममा महत्वपूर्ण खेलाडीको रुपमा रहेको भन्दै सावित्राले उनीहरु अब फेरि आफ्नो खेल प्रमाणित गर्न तयार भएको बताइन् । ‘हिरा र दिपालाई पहिला देखि महत्वपूर्ण खेलाडीको ट्याग थियो । तयो ट्याग भिरेर फेरि नेपालका लागि खेल्न रेडी हुनुहुन्छ । घाइते हुँदा पनि मिहिनेत गर्नुभयो र त्यसको प्रतिफल हो यो । पहिला भन्दा राम्रो प्रदर्शन होस् भन्ने कामना छ ।’
‘महिला फुटबलमा सम्भावना छ’
नेपालको महिला फुटबलले राम्रो गर्न सक्ने र त्यसका लागि सबैको सहयोग चाहिने मुख्य प्रशिक्षक र कप्तानले बताएका छन् ।
प्रशिक्षक न्यौपानेले महिला टिमका लागि लगानी गर्नुपर्ने बताए । ‘अहिले महिला फुटबलको हाइप छ । महिला टिमको नतिजा आउने चान्स छ,’ उनले भनेका छन्, ‘धेरै भन्दा धेरै सुविधा दिनसके धेरै राम्रो छ र त्यसमा एफए र सरकार लाग्नुपर्छ ।’
कप्तान साम्बाले महिला टोली अहिले उच्च समयमा रहेको बताइन् । ‘ नेपाली महिला फुटबलको प्राइमटाइम हो । सबैले लागिपर्नुहुन अनुरोध गर्दछु ।’
नेपाली महिला फुटबलले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । तर महत्वपूर्ण क्षणमा पुगेर चुक्ने गरेको छ । अहिलेसम्म दर्जन बढी अन्तर्राष्ट्रिय फाइनल खेलेपनि महिला टोलीले उपाधि जित्न सकेको छैन । एन्फाले राम्रो योजना बनाएर त्यसमा सबैको साथ र सहयोग भए महिला टोलीले छिटै ठूलो उपलब्धी हासिल गर्न सक्नेमा दुई मत छैन ।
ट्राई नेसन्स फुटबल जस्ता खेलबाट खेलाडीले आफ्नो स्तर थाहा पाउने र सुधार गर्ने अवसर पाउने कप्तान सावित्राको भनाई छ । ‘यस्तो गेमले हामी कुन लेभलमा छौँ र कति वर्कआउट गर्नुपर्छ थाहा हुन्छ । त्यस कारणले यस खालको टुर्नामेन्ट खेल्न पायौँ भने राम्रो हुन्छ ।’

प्रतिक्रिया 4