Comments Add Comment

लिभ इन रिलेशनमा रहनु अघि

लिभ इन रिलेशनमा रहनु सामान्य जस्तै भएको छ । मन मिल्ने जोडी विवाह नगरी एकसाथ बस्ने गरेका छन् । यसरी बसिरहँदा उनीहरुबीच मत-भिन्नता भए अलग हुन सक्छन् । यदि दुबैको मन मिल्यो भने सम्बन्ध अरु प्रगाढ हुन्छ ।

लिभ इन रिलेशनलाई कतिले विवाहको पूर्व अभ्यासको रुपमा समेत लिने गरेका छन् । लिभ इन रिलेशनमा रहँदै पार्टनरको आनीबानी, प्रवृत्ति, स्वभाव, रुची, इच्छा आदि जान्न/बुझ्न पाइन्छ । त्यसैले विवाहपछि कसरी दुबैले एकअर्कालाई स्विकार्ने भन्ने कुरा सहज हुन्छ । यद्यपि लिभ इन रिलेशनले अहिले धेरैजसो जोडीमा भने समस्या निम्त्याउने गरेको छ ।

यद्यपि धेरैले यसलाई केवल टाइमपास र शारीरिक इच्छा पूर्तिको माध्यम मात्रै बनाउने गरेका छन् । उनीहरुको सम्बन्ध दुखद मोडमा गएर टुंगिने गरेको छ । त्यसैले लिभ इन रिलेशनमा रहनुअघि केही कुरामा ख्याल राख्नैपर्छ ।

मित्रतापछि मात्रै लिभ इन

लिभ इनमा बस्नुभन्दा अगाडि आफ्नो पार्टनरलाई राम्रोसँग चिनेको र बुझेको हुनुपर्छ । उसको भावुकता वा मुडको बारेमा राम्रो आँकलन हुनुपर्छ । लिभ इनमा बस्नुअघि राम्रो मित्रता कायम भएको हुनुपर्छ ।

केटीहरुले यस मामलामा विशेष सावधानी अपनाउनु आवश्यक छ । आफ्नो पार्टनरको प्रेमलाई राम्ररी महसुस गर्नुपर्छ । यदि अलिकति मात्रै पनि सन्देह छ भने यो सम्वन्धबाट आफूलाई अलग गरिहाल्नुमा भलाई छ ।

रिसको झोंकमा गलत कुरा

सम्वन्धमा कहिलेकाहीँ तितोमिठो हुनु आम कुरा हो । यसले सम्वन्धमा ताजापन आउँछ र सम्वन्धलाई अझै मजबुत बनाउँछ । यस्तोमा कहिलेकाहीँ सानोतिनो असन्तुष्टीमा तपाईंले गलत कुरा बोलियो भने पार्टनरलाई नराम्रो लाग्न सक्छ । जस्तैः आफ्नै घर जाउँ, अलग हुनुपर्छ, अब मलाई तिम्रो आवश्यकता छैन, आदि । रिसको बेलामा यो याद राखौं कि पार्टनरलाई आफुप्रति पुरा भरोसा भएर नै सँगै बस्नका लागि सहमत भएको हो ।

खर्चको व्यवस्थापन

अहिले महंगी यति बढेको छ कि कुनै पनि जोडीका लागि राम्रो जीवनशैली बिताउन सानोतिनो आम्दानीले पुग्दैन । त्यसैले लिभ इनमा बस्नुभन्दा अगाडि नै खर्चको बाँडफाँड कसरी गर्ने भन्ने प्रष्ट खाका बनाउनुस । अक्सर पार्टनरहरुबीच खर्चको विषयलाई लिएर खटपट भएको र सम्वन्ध तोडिने अवस्थासम्म पुगेको पाइन्छ ।

मासिक र भावनात्मकरुपमा मजबुत

आफ्नो पार्टनरलाई राम्ररी चिन्ने र बुझ्ने उद्देश्यले लिभ इन रिलेसनसिप रोज्नुभएको छ भने आफूलाई मानसिक र भावनात्मकरुपमा मजबुत बनाउनुपर्छ । यदि सँगै बस्ने क्रममा पार्टनरको कुनै स्वभाव मन परेन भने आपसी भलाकुसारीबाट त्यसलाई सुल्झाउनुपर्छ । यसका अलावा कतिपय कमी कमजोरीलाई नजरअन्दाज गर्नुपर्ने हुन सक्छ किनभने कमजोरी नभएका कोही मान्छे पनि हुँदैनन् ।

अलग हुन तयार

लिभ इन रिलेसनसिपमा बस्नेवित्तिकै विवाह हुन्छ नै भन्ने ग्यारेन्टी हुँदैन । दुई जनाबीच कुनै पनि समय सम्वन्ध विग्रने र छुट्टनिुपर्ने हुन सक्छ । त्यसका लागि आफूलाई मानसिक रुपमा तयार राख्नुपर्छ । पार्टनरले आफ्नो भावनासँग खेलवाड गर्न खोजेको वा आफूलाई धोका दिन लागेको महसुस भयो भने ‘प्लान बी’ मा जानुपर्ने हुन्छ । यसको मतलब हो यो सम्वन्धलाई तोडेर नयाँ ढंगले आफ्नो जिन्दगीलाई अघि बढाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment