Comments Add Comment

ललितानिवास प्रकरणमा तत्कालिन प्रधानमन्त्रीलाई उन्मुक्ति दिनु दूरासयपूर्ण : गगन थापा

‘गच्छदारबारे अदालतले गर्ने निर्णय मान्नुपर्छ’

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले ललिता निवास जग्गा प्रकरणमानीतिगत निर्णयको नाउमा तत्कालिन प्रधानमन्त्रीलाई उन्मुक्ति दिइनु दूरासयपूर्ण भएको बताएका छन् ।

बिहीबार ट्वीटरमार्फत उनले सार्वजनिक सम्पत्ति बदनियतपूर्ण रुपमा व्यक्तिका नाममा दिने कुरा नीतिगत निर्णय हुन नसक्ने जिकिर गरे ।

‘यदि सार्वजनिक जमिन व्यक्तिको नाममा सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रक्रियामा संलग्न मन्त्री दोषी हुन्छन् भने उक्त प्रस्ताव सदर गर्ने र कार्यान्वयन गर्न गराउन निर्देशन दिने तत्कालिन प्रधानमन्त्री र संलग्न अन्य अधिकारी उक्त अपराधबाट उन्मुक्ति पाउन सक्दैनन्’ उनले भनेका छन् । थापाले कानूनको अपब्याख्या गर्दै उन्मुक्ति दिने प्रयत्न दूरासयपूर्ण हुने बताए ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा मन्त्रिपरिषदको निर्णयबाट व्यक्तिको नाममा गए पनि अख्तियारले मन्त्रिपरिषदको निर्णय नीतिगत भएकाले त्यस विषयमा प्रवेश गर्नुनपर्ने भनी तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु क्षेत्राधिकारभित्र नपर्ने बताएको थियो ।

थापाले कांग्रेस नेता विजयकुमार गच्छदारको संलग्नताको विषय अदालतमा प्रवेश गरिसकेकाले अदालतले गर्ने निर्णय सबैले मान्नुपर्ने बताए । ‘उहाँ सही हुनुहुन्थ्यो वा गलत त्यसको फैसला अदालतले गर्नेछ, सम्मानित अदालतले गर्ने निर्णय सबैले मान्नुपर्छ’ उनले भनेका छन् ।

आफ्नो नाममा आएको ललिता निवास अन्तर्गतको जग्गा सरकारलाई छाडिदिन मन्जुर गरेको भन्दै अख्तियारलले नेकपा महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीलाई दोषी नदेख्नु हास्यास्पद र पूर्वाग्रहपूर्ण भएको थापाले बताएका छन् । यो निर्णयले अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न गर्ने पर्याप्त आधार दिएको पनि थापाले उल्लेख गरेका छन् ।

थापाले यस प्रकरणमा अदालतले अनुसन्धानले समेट्नुपर्ने तर नसमेटेका विषयलाई समेत दृष्टिगत गरेर र सत्ता, शक्ति र सम्बन्धको दबाबमा नपरी फैसला गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment