Comments Add Comment

कुशल र विनोदको अर्धशतक, अमेरिकालाई १९१ रनको लक्ष्य

२५ माघ,  काठमाडौं । युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआई (एक दिवशीय) मै अर्धशतक अनी विनोद भण्डारीको अर्धशतक प्रेरित नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको हो ।

कुशल नेपालका लागि ओडीआईमा अर्धशतक प्रहार गर्ने सातौं र विनोद आठौं खेलाडी समेत बने । विनोदले ५९ र कुशलले ५० रन बनाए । शरद भेषावरले चोटका कारण सिरिज गुमाएपछि उनको स्थानमा टिममा आएका सुवास खकुरेलले कप्तान ज्ञानेन्द्र मल्लसँग इनिङ्सको शुरुवात गरेका थिए । तर सुवास व्यक्तिगत ३ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए ।

ओमान विरुद्ध ओपनिङ गरेका पारस खड्का अमेरिका विरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । ज्ञानेन्द्र र पारसले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा पुगेका उपकप्तान दिपेन्द्र सिंह ऐरी खाता नखोली आउट भए । पारस खड्का २१ रन बनाएर आउट भए ।

लगत्तै आरिफ शेख २ रन बनाएर आउट भए । ४९ रन हुँदा ५ विकेट गुमाउँदै धरासयी भएको नेपालको इनिङ्स कुशल मल्ल र विनोद भण्डारीले सम्हाले । कुशल मल्लले ओडीआई डेब्युमै कीर्तिमानी अर्धशतक प्रहार गर्दै विनोद भण्डारीसँग ८४ रनको साझेदारी गरेपछि नेपालको रन उकासिएको थियो ।

कुशलले ओडीआई डेब्युमै अर्धशतक बनाउँदा सबैभन्दा कान्छो उमेर अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तमान तोडे । ३६औं ओभरको दोस्रो बलमा करिम गोरेको बलमा एलमोर हचिनसनबाट क्याचआउट हुनुअघि कुशलले ५१ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५० रन बनाए ।

यो पनि पढ्नुहोस डेब्यु ओडीआईमै कुशलले बनाए विश्व कीर्तिमान

त्यसपछि क्रिजमा पुगेका करण केसीले १२ रन बनाए । अघिल्लो खेलमा ओमान विरुद्ध २८ रन बनाएका सन्दीप लामिछानेले खाता नखोली आउट भए । अन्तिम ओभरको दोस्रो बलमा सुशन भारी इयान होलायण्डको बलमा आउट भएपछि नेपाल अलआउट भएको हो ।

विनोद र सुशन भारीले नवौं विकेटका लागि २६ रनको साझेदारी गरे । ४८औं ओभरको तेस्रो बलमा आउट हुनुअघि भण्डारीले ७९ बल खेल्दै ५९ रन बनाए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।

अमेरिकाका लागि क्यामररुन स्टेभेनसनले १० ओभरमा २ मेडन राख्द ३० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सौरभ नेत्रभाल्करले १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चेर २ विकेट लिए । रस्टी थेरोनले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिए ।

यो पनि पढ्नुहोस विनोदले पनि पुरा गरे अर्धशतक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment