Comments Add Comment

विश्वकप लिग २ : ओमानविरुद्ध बदला लिन नेपाललाई अर्को मौका

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि पहिलो खेलमै घरेलु टोली नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो । सन् २०१३ यता नेपालले ५० ओभरको क्रिकेटमा ओमानलाई हराउन सकेको छैन ।

विश्वकप लिग २ अन्तर्गत नेपालमा पहिलोपटक त्रिकोणात्मक सिरिज भइरहेको छ । जहाँ नेपाल र ओमानसहित अमेरिका पनि सहभागी छ । ओमानले सुरुवाती दुई खेलमा नेपाल र अमेरिकालाई नै पराजित गरिसकेको छ । नेपालले पनि आफ्नो दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै लिग २ मा पहिलो २ अंक जोडिसकेको छ ।

सन् २०१३ मा बर्मुडामा भएको डिभिजन ३ मा हरायता नेपालले ओमानलाई पराजित गर्न सकेको छैन । त्यसयता नेपाल ५० ओभरमा ४ पटक र ओडिआईमा १ पटक ओमानसँग पराजित भइसकेको छ । यी सबै हारको एकमुष्ट बदला लिने अवसर नेपालसामु छ ।

यस सिरिजमा ओमानका लागि दुई खेलमा म्यान अफ दी म्याच प्रदर्शन गरेका मोहम्मद नदिम हेर्नलायक खेलाडी हुनेछन् ।उनले नेपाल र अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै कप्तान जिसान मक्सुक, फास्ट बलर बिलाल खान र कलिमुल्लाह अमेरिकाविरुद्ध अर्धशतक बनाएका अकिब इल्यास नेपालका लागि घातक बन्न सक्छन् ।

नेपालबाट पनि केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । फास्ट बलर करण केसीले दुवै खेलमा ४–४ विकेट लिएका छन् । यस्तै सुशन भारीले पनि दुवै खेलमा ३–३ विकेट लिएका थिए । पहिलो खेलमा विकेट लिन नसके पनि ब्याटिङ २८ रन बनाएका सन्दीप लामिछानेले दोस्रो खेलमा अमेरिकालाई हराउँदै सुरुवाती २ विकेट लिएका थिए । ब्याटिङमा पनि नेपालले पहिलो खेलमा भन्दा दोस्रो खेलमा केही सुधार गरेको थियो । कुशल मल्लले अमेरिकाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरे । उनी ओडीआईमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडीसमेत बने । यस्तै विनोद भण्डारीले पनि दोस्रो खेलमा अर्धशतक प्रहार गरेका छन् ।

पहिलो खेलमा अर्धशतक प्रहार गरेका शरद भेषावकर चोटका कारण सिरिजबाट बाहिरिसकेका छन् । उनको स्थानमा टिममा आएका सुवास खकुरेल दोस्रो खेलमा ३ रनमै आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्र सिंह ऐरी, आरिफ शेख अझै रन बनाउन संघर्षरत छन् । पहिलो खेलमा शून्यमा आउट भएका रोहित कुमार पौडेल दोस्रो खेलमा पहिलो रोजाइमा परेनन् । ओमानलाई पराजित गर्न नेपालले ब्याटिङमा अझै सुधार गर्नुपर्ने देखिन्छ ।

कप्तान ज्ञानेन्द्र मल्लले ओमानविरुद्ध खेल्दा गल्ती दोहोर्याउन नहुने बताएका छन् । ‘हामीले ब्याटिङमा अझै सुधार गर्नुछ । मिडल अर्डरमा हामी अझै केन्द्रित हुन सकिरहेको छैनौं । त्यसमा अलि राम्रो गर्न सकियो भने त्यसले पक्कै राम्रो रिजल्ट आउँछ,’ अमेरिकालाई हराएपछि कप्तान ज्ञानेन्द्रले भने ।

नेपाल भर्सेज : ओमान हेड टू हेड

२००२ एसीसी ट्रफी : नेपाल १०५ रनले विजयी
२०१० एसीसी ट्रफी एलिट : नेपाल ६ विकेट विजयी
२०१३ डिभिजन थ्री : नेपाल २८ रनले विजयी
२०१४ एसीसी प्रिमियर लिग : ओमान २ विकेटले विजयी
२०१५ एसोसिएट टुर म्याच : ओमान ३ विकेटले विजयी
२०१८ डिभिजन टू : ओमान ६ विकेटले विजयी
२०१८ एसिया कप छनोट : ओमान ७ विकेटले विजयी
२०२० विश्वकप लिग २ : ओमान १८ रनले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment