Comments Add Comment

सैनामैनाका १४ सडकको अध्ययन, नियमित मर्मत गरे एक तिहाई खर्च घट्ने

२७ माघ, बुटवल । सैनामैना नगरपालिका भित्रका मुख्य सडकहरुको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय डीएफआईडी अन्तर्गतका सडक विशेषज्ञ टोलीले सैनामैनामा रहेका १४ वटा मुख्य सडकको अध्ययन पश्चात नगरपालिकालाई प्रतिवेदन बुझाएको हो ।

विशेषज्ञ सहितको टोलीले तीन महिना समय लगाएर गरेको अध्ययन प्रतिवेदन सिनियर कन्सल्टेन्ट पूर्ण कडेरियाले सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीलाई सोमबार बुझाएका हुन् ।

सडक अध्ययनमा सडकको क्षेत्रफल, सडकको अवस्था, सडकमा भएका नाली, पुल, कल्भर्ट, टेवा पर्खाल, रोडफर्निचर, सडकको ट्राफिक चापको स्थिति समावेश गरिएको थियो ।

सैनामैना क्षेत्रमा १७३ किलोमिटर सडक रहेको छ । प्रतिवेदन बुझाउँदै सडक विशेषज्ञ कडेरियाले सडकहरुको नियमित मर्मतसम्भार गरेमा एक तिहाई खर्च कम हुने जानकारी गराए ।

समयमा सडकहरुको मर्मतसम्भार नहुँदा राज्यले ठूलो आर्थिक भार ब्यहोर्नु परेको उनले औंल्याए । ‘बिग्रेका सडकको तत्काल मर्मतसम्भार गरेमा एक तिहाइ खर्च कम हुन्छ,’ कडेरियाले भने ।

सडकको मर्मतमा कूल वजेटको १ देखि ३ प्रतिशत वजेट अनिवार्यरुपमा लगानी गरेमा मात्रै सडकको गुणस्तर कायम हुने कडेरियाको सुझाव छ ।

सबै स्थानीय तह, प्रदेश र संघीय सरकारले समयमै सडक मर्मत गर्ने परिपाटीको विकास गरेमा राजयको ठूलो वजेट वचत हुने कडेरियाले सुझाए ।

प्रतिवेदन अनुसार अब सडक क्षेत्रको नियमित सरसफाईका लागि वाषिर्क २९ लाख रुपैयाँ बजेट छट्याउनुपर्ने उल्लेख गरिएको छ ।

सैनामैनाका नगर प्रमुख कार्कीलेे विज्ञहरुको प्रतिवेदनका सुझाव अनुसार सडकको नियमित मर्मतसम्भारका लागि वजेट विनियोजन गरिने बताए ।

नगरका सबै सडकहरुको प्राविधिकमार्फत नियमित अनुगमन गरी समयमै मर्मत गरेर बजेट सदुपयोग गर्ने कार्कीले बताए ।

सडक विशेषज्ञ गम्भीर श्रेष्ठले सडक समयमै मर्मतसम्भार गर्ने हो भने भबिष्यमा हुने ठूलो रकम बचत हुने र सडकको आयु बढ्ने बताए ।

सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले अध्ययनपछि सैनामैनाका सडकको बस्तुस्थिति वेबसाइटमार्फत विश्वका जुनसुकै ठाउँबाट हेर्न सक्ने गरी राखिने र सडक सम्पत्तिको गुणस्तर र मर्मतसम्भारलाई नीति तथा कार्यक्रम र वजेटमा प्राथमिकता दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment