Comments Add Comment

मौलाकालिका केबलकार स्थानीय सहभागिताको नमूना प्रोजेक्ट बन्छ-ढकाल

२७ पुस, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौलाकालिका केबलकार नेपालमा स्थानीय सहभागिताको एक नमूना प्रोजेक्टका रुपमा निर्माण हुन गइरहेको बताएका छन् ।

गैँडाकोट नगरपालिकामा स्टेसन भइ प्रसिद्ध देवीस्थल मौलाकालिकामा निर्माण हुन लागेको सो केबलकार आयोजनामा कुनै पनि निजी क्षेत्रको आयोजनामा स्थानीय समुदायको उदाहरणीय सहभागितासहित एक नमूना यसमा प्रस्तुत हुने जानकारी उनले दिए ।

गैँडाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित गैँडाकोट महोत्सव समापन सभालाई सम्बोधन गर्दै उनले भने- यस केबलकारलाई हामीले नेपालको एक प्रसिद्ध धार्मिक पर्यटनका हिसाबले अघि बढाउन खोजेका छौँ र यसलाई स्थानीय सहभागिताको एक नमूना प्रोजेक्टका रुपमा पनि विकास गर्ने हाम्रो प्रयत्न छ ।

उनले केही समयपछि नै यो केबलकार सञ्चालनमा आउने जानकारी दिए । केही औपाचारिकताका कामहरु बाँकी छन्, त्यसपछि चाँडै नै यो केबलकार सञ्चालनमा आउँदैछ- उनले भने ।

यो आयोजनाले नेपालभरिका पर्यटकीय स्थलहरुमा बन्न सक्ने होटल, रिसोर्ट, फनपार्क या अन्य कुनै पनि सम्भावित प्रतिष्ठनको स्थापना र सञ्चालनमा स्थनीय समुदाय तथा निजी क्षेत्र, स्थानीय या केन्द्र सरकार समेतको संयुक्त सहभागिताको नमूना प्रस्तुत गर्ने उनले बताए ।

उनले आफूले आगामी कार्यकालका लागि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेको भन्दै सहयोगका लागि निजी क्षेत्रका सबै प्रतिनिधिहरुलाई उनले आग्रह पनि गरे ।

आफूले महासंघको नेतृत्वमा पुगेर नेपालमा लगानीको वातावरण निर्माण गर्ने, केन्द्र प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा उद्योगी व्यवसायीहरुका व्यावसायिक समस्याहरु हल गर्न प्रयत्न गर्ने, कर लगायतका हाल निजी क्षेत्रलाई परिरहेका समस्याहरुको समाधान गरी देशमा लगानीमैत्री वातावरण निर्माण गर्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment