Comments Add Comment

ब्रिगेड ब्वाइजलाई हराउँदै आर्मी शीर्ष स्थानमा फर्कियो

अन्तिम खेलमा मछिन्द्रसँग बराबरी खेले उपाधि जित्ने

२८ माघ, काठमाडौं । ब्रिगेड ब्वाइज क्लबलाई ३–० ले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको छ । ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार बिहान भएको खेलमा ब्रिगेडलाई हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई यस सिजनको नवौं जित दिलाउन कप्तान भरत खवास, विकास खवास र टेक बहादुर बुढाथोकीले १–१ गोल गरे ।

खेलको पाँचौं मिनेटमै जर्ज प्रिन्स कार्कीको क्रसमा कप्तान भरतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यो अग्रतालाई कायमै राखेको आर्मीले दोस्रो हाफमा दुई गोल थप्यो ।

५४औं मिनेटमा विकास खवासले सन्तोष तामाङको पासमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । ७० औं मिनेटमा टेक बहादुरले गोल गर्दै आर्मीको अग्रता तेब्बर पारे । त्यही अग्रता कायम गर्दै आर्मीले जित हात पारेको हो ।

योसँगै १२ खेलबाट २९ अंकसहित आर्मी शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट २८ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ । १४ क्लब सहभागी लिगको फाइनलमा अब यी दुई क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल फागुन ३ गते शनिबार दशरथ रंगशालमा हुनेछ ।

पहिलोपटक लिग जित्ने लक्ष्य बनाएको विभागीय टोली त्रिभुवन आर्मी त्यसको नजिक पुगेको छ । शहीद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि जित्न बर्मीलाई अब १ अंक मात्र आवश्यक छ ।

त्यस खेलमा बराबरी नतिजाले मात्र पनि आर्मी च्याम्पियन बन्नेछ भने मछिन्द्रले जित नै निकाल्नुपर्नेछ ।

भरतले पूरा गरे ५० गोल

यस्तै, कप्तान भरत खवास ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गर्ने सातौँ खेलाडी बनेका छन् । एन्फा तेस्रो ब्याचका उत्पादन भरतले यसअघि संकटा क्लब फ्रेण्ड्स क्लब र नेपाल पुलिसबाट पनि लिग खेलेका थिए ।

यसअघि बसन्त थापा रमेश बुढाथोकी जिवेश पाण्डे सुरेन्द्र तामाङ गणेश लावती र सन्तोष तामाङले लिगमा ५० गोल पूरा गरेका थिए । सन्तोष साहुखलले यसै सिजन लिगमा १०० गोल पूरा गरेका छन् । उनले च्यासलबाट लिग खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment