Comments Add Comment

दिल्ली विधानसभा : झाडूले बढार्ला कि कमल फूल्ला ?

२८ माघ, काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना आज हुँदै छ । दिल्लीमा कस्को सरकार बन्छ भन्ने कुरा मतगणनाको आजकै नतिजाले स्पष्ट हुने छ ।

दिल्लीको विधानसभाको ७० सिटका लागि फेब्रुअरी आठ तारिखमा भएको थियो । भारतीय जनता पार्टी र आम आदमी पार्टी दिल्ली विधानसभाका मुख्य प्रतिस्पर्धी हुन् ।

अघिल्लो चुनावमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले बहुमत ल्याएको थियो । यसपटक फेरि पनि केजरीवालकै बर्चस्व रहला वा भारतीय जनता पार्टीको कमल फूल्ला ? त्यो केहीबेरपछि सुरु हुने मतगणनाका प्रारम्भिक रुझानबाट स्पष्ट हुनेछ ।

दिल्लीमा सरकार गठनका लागि कम्तिमा ३६ सिट ल्याउनुपर्ने हुन्छ ।

मतदानलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणहरुले आम आदमी पार्टीले सबैभन्दा धेरै सिट जित्ने देखाइएको थियो । मत सर्वेक्षणलाई मान्ने हो भने दिल्लीमा आम आदमी पार्टीको सरकार सजिलै गठन हुन्छ ।

तर, मुख्य प्रतिस्पर्धी दल भाजपा, आम आदमी र कांग्रेस दुवैले आफ्नो जित सुनिश्चित रहेको  दाबी गर्दै आएका छन् । भाजपाका अध्यक्ष मनोज तिवारीले आफूहरुले ४८ सिट जित्ने दाबी गरेका छन् । यस्तै दिल्ली कांग्रेसका प्रदेश अध्यक्ष सुभाष चोपडाले मत सर्वेक्षणभन्दा फरक नतिजा आउने बताउँदै आएका छन् । उनले दिल्लीमा केजरीवाल र भाजपा दुवैले एकल सरकार गठन गर्न नसक्ने गरी नतिजा आउने दाबी गरेका छन् ।

विगत २० वर्षदेखि दिल्लीको सत्तामा भाजपा छैन । पाँच वर्षयता केजरीवाल नेतृत्वको आम आदमी पार्टीले सरकारको नेतृत्व गर्‍यो । त्यसअघि १५ वर्षसम्म कांग्रेसले दिल्लीमा शासन गरेको थियो ।

२०१२ नोभेम्बरदेखि अस्तित्वमा आएको आम आदमी पार्टी सन् २०१३ मा झाडू चुनाव चिह्न लिएर निर्वाचनमा होमिएको थियो । भ्रष्टाचारको मुद्दा उठाएको उसले सबैलाई चकित तुल्याउँदै कांग्रेसको १५ वर्षसम्मको शासन उल्टाइदियो । तर केही दिनपछि नै केजरीवालले सरकारको नेतृत्वबाट राजीनामा दिए । त्यसपछि २०१४ मा भएको चुनावमा केजरीवाल नेतृत्वकै आम आदमी पार्टीले बहुमत हासिल गरेर एकल सरकार चलाउँदै आएको छ ।

यसपटकको चुनावमा भाजपाले चुनावी नतिजा आफ्नो पक्षमा पार्न सम्पूर्ण बल प्रयोग गरेको देखिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत भोट माग्दै घरघरमा पुगे । भाजपाले नेतृत्व गरेका प्रदेशका मुख्यमन्त्रीहरुले समेत चुनावी सभाहरुलाई सम्बोधन गरे । साथै राष्ट्रवादको नारालाई अघि सार्दै भाजपाले भव्य सभा र र्‍यालीहरु गर्‍यो । चुनाव प्रचारको आचारसंहिता मिचेको भनेर चुनाव आयोगले भाजपालाई सचेतसमेत गराएको थियो ।

अर्कोतर्फ आम आदमीले केन्द्र सरकारले ल्याएको नागरिकता संशोधन कानुनलगायतलाई चुनावी एजेण्डा बनाएको छ । साथै जनताका न्युनतम आवश्यकता बिजुली, पानी, शिक्षा, महिला सुरक्षा जस्ता विकासका मुद्दालाई अघि सारेर आम आदमीले भोट मागेको थियो ।

दिल्लीका जनताले राष्ट्रवादको मुद्दालाई रुचाएका छन् कि विकासको मुद्दालाई भन्ने कुरा आजको प्रारम्भिक मतगणनाबाटै स्पष्ट हुने छ ।

चुनाव आयोगले निर्वाचन भएको २० घण्टापछि ६२ दशमलव ५९ प्रतिशत मत खसेको जानकारी दिएको थियो । तर, मतदानको आँकडा ढिलो सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगको आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment