Comments Add Comment

३ खर्ब बढ्यो राष्ट्रिय गौरवका आयोजनाको लागत

फास्ट ट्रयाकमा सबैभन्दा धेरै लागत बढ्यो

फाइल तस्वीर । निर्माणाधीन फास्ट ट्रयाक सडक

२८ माघ, काठमाडौं । तोकिएको समयमा काम नभएपछि राष्ट्रिय गौरवका आयोजनाको लागत ३ खर्ब रुपैयाँले बढेको छ । शुरुको लागतमा काम भएको भए अन्य ठूला परियोजना नै सम्पन्न हुने रकम बराबर लागत वृद्धि भएको पाइएको छ ।

राष्ट्रिय योजना आयोगले गरेको अध्ययन अनुसार नेपालका २२ वटा राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न भएको भए २ खर्ब ८३ अर्ब रुपैयाँ बचत हुने थियो । तर, अनेक कारणले आयोजना पछाडी धकेलिएपछि त्यसको मूल्य राज्यले झण्डै ३ खर्ब घाटा बेहोर्नु परेको हो ।

योजना आयोगका अनुसार २२ वटा राष्ट्रिय गौरवका आयोजनाको कूल लागत अहिले १९ खर्ब २७ अर्ब पुगेको छ । यी आयोजनाको प्रारम्भिक लागत १६ खर्ब ४४ अर्ब रुपैयाँ हो । तर, कुनै पनि आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् । यसबाट आयोजना कार्यान्वयनको लागत निरन्तर वृद्धि भइरहेको छ ।

आयोगले परियोजनाहरुको खरीद गुरुयोजनाका आधारमा कूल लागत निकालेको हो । यद्दपि कतिपय आयोजनाको भने खरीद गुरुयोजना स्वीकृत भइसकेको छैन । त्यस्ता परियोजनाको सम्बन्धमा भने पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययनलाई मुख्य आधार बनाइएको आयोगले जनाएको छ ।

प्रतिआयोजना औसत १३ अर्बले लागत बढ्यो

आँकडा अनुसार प्रतिआयोजना १२ अर्ब ९० करोड रुपैयाँले लागत बढेको छ । २२ आयोजनाको औसत लागत ७४.७ अर्ब रुपैयाँ रहेको थियो । तर, संशोधन भएपछि औसत लागत ८७.६ अर्ब रुपैयाँ पुगेको छ ।

आयोजना कार्यान्वयनमा भएको ढिलाइले हरेक आयोजनामा औसत १३ अर्ब रुपैयाँ अतिरिक्त लागत राज्यले बेहोर्नु पर्ने भएको छ । आयोगले आर्थिक वर्ष ०७५/७६ सम्मको संशोधित गुरुयोजनालाई आधार मानेर यो तथ्यांक निकालेको हो ।

२ अर्बदेखि ७ खर्बसम्मका आयोजना

सरकारले कूल २२ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको छ । तीमध्ये कतिपय आयोजना अब सम्पन्न हुने चरणमा छन् भने कतिपय कहिलेबाट शुरु हुन्छ भन्ने अन्योल छ ।

सबैभन्दा ठूलो लगानीको आयोजना निजगढ विमानस्थल हो । कोरियाली कम्पनी ल्याण्डमार्डले गरेको पूर्वसम्भाव्ययता अध्ययन अनुसार यो आयोजनाको कूल लागत ७ खर्ब रुपैयाँ हो । यो आयोजनाको खरीद गुरुयोजना नबनेका कारण सोही मूल्यलाई आयोगले कूल लागत मानेको छ ।

लागत अनुमानका आधारमा दोस्रो ठूलो आयोजना बुढीगण्डकी हो । यो आयोजनाको कूल लागत २ खर्ब ६० अर्ब रुपैयाँ हो । तेस्रो ठूलो आयोजना भने काठमाडौं तराई द्रुतमार्ग हो । यो आयोजनाको कूल लागत २१३ अर्ब रहेको छ । यो आयोजना भने कार्यान्वयनमा गइसकेको छ । लागतका आधारमा सबैभन्दा साना राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्र विकास कोष हो । यो आयोजना कार्यान्वयनमा २ अर्ब खर्च गर्ने लक्ष्य राखिए पनि लामो समयसम्म कार्यान्वयन हुन सकेको छैन ।

द्रुतमार्ग मार्गमा सबैभन्दा धेरै लागत बढ्यो

राष्ट्रिय गौरवका आयोजनामध्ये शुरु लागतको तुलनामा धेरै लागत बढ्ने आयोजना तराई मधेस दू्रतमार्ग हो । यो आयोजनामा शुरु र संशोधित लागतबीचमा १ खर्ब २ अर्ब ९० करोड रुपैयाँको अन्तर परेको छ ।

मध्यपहाडी राजमार्गमा संशोधित लागत ५० अर्ब ९० करोड रुपैयाँले बढेको छ । राष्ट्रपति चुरे तराई मधेष संरक्षण विकास समितिमा ६.८ गुणा, बबई आयोजनामा ६.६ गुणाले लागत बढेको छ । अन्य ६ वटा आयोजनाको लागत समेत दोब्बरले बढेको आँकडा छ । न्यून दरमा लागत बढेका आयोजना भने लुम्बनी विकास कोष र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत भने बढेको छैन ।

०४५/४६ कै आयोजना पनि सम्पन्न भएनन्

तथ्यांक अनुसार नेपालमा तोकिएका राष्ट्रिय गौरवका आयोजनामध्ये कतिपय तीन दशक अगाडी नै शुरु भएका थिए । तर, ती आयोजनाको कार्यान्वयनमा सरकारले चासो नदिँदा निरन्तर लागत बढेको देखिन्छ । बबई सिंचाई आयोजनाको निर्माण आव २०४५/४६ सालमा शुरु भएको हो ।

यो आयोजनाको संशोधित निर्माण सम्पन्न हुने मिति आव २०७९/८० हो । मेलम्ची खानेपानी आयोजना आव २०५५/५६ सालमा शुरु भएको हो । यो आयोजना सम्पन्न हुने मितिसमेत पटक–पटक बढेर २०७७/७८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment