Comments Add Comment
ओली सरकारको अक्षम्य लापरबाही :

सातामा ७ सय चिनियाँ भित्रिए, कोरोनामा ‘पशुपतिनाथ’ को भर !

विज्ञ भन्छन्- सरकारको यो लापरवाही महंगो पर्न सक्छ

२७ पुस, काठमाडौं । जनवरी १५ तारेखमा चीनबाट अमेरिका फर्किंदा मेडिकल ‘स्कृनिङ’ मा सकुशल देखिएका एक यात्रुमा चार दिनपछि कोरोना संक्रमण पुष्टि भयो । अमेरिकाले ‘ट्राभल एड्भाइजरी’ जारी गरेपछि फर्किएका ती यात्रु अमेरिकाको पहिलो कोरोना संक्रमित हुन् र हालसम्म अमेरिकामा यस्तो संक्रमितको संख्या एक दर्जन पुगेको छ ।

नेपालले अहिले अपनाइरहेको स्वास्थ्य सतर्कताको स्तर हेर्दा नेपाल पनि यस्तो घटनाको शिकार बन्न सक्ने जोखिम उच्च छ । अहिले कतिपय देशले गुपचुपरुपमा चीनबाट आएका सबै यात्रुलाई क्वारेन्टाइनमा राख्न सुरु गरेको खबर आउन थालेको छ । यस्तो अभ्यास चीन प्रशासित हङकङले पनि थालेको छ ।

तर, शक्तिशाली एवं स्रोत साधनसम्पन्न मुलुक चीनलाई कोरोना भाइरसको त्रासले आच्छु-आच्छु पारिरहँदा छिमेकी मुलुक नेपालमा सरकारले अक्षम्य लापरबाही गरिरहेको छ । चीनको सरकारले पुरै शक्ति लगाउँदा पनि संक्रमण फैलिन रोकिएको छैन र मृतकको संख्या दिनदिनै बढेको बढ्यै छ । तर, नेपालमा भने सरकारी स्तरबाट लापरबाही भइरहेको छ ।

छिमेकी मुलुकमा यस्तो डरलाग्दो संक्रमण फैलिँदै गर्दा त्यसलाई रोक्न नेपालले के गर्दैछ त ? वुहानमा रहेका १८० नेपालीलाई समेत स्वदेश ल्याउन नसकेको नेपाल सरकारले कोरोनाको जोखिमबाट बच्नका लागि देशभित्र जुन रुपमा सतर्कता अपनाउनुपर्ने हो, त्यो अपनाउन सकेको देखिँदैन ।

विदेशबाट कोरोना भाइरस भित्रिन नदिन अहिलेसम्म नेपाल सरकारले के- के गर्‍यो ? स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहाल भन्छन्, चीनसँगका नाकाहरु बन्द छन्, विमानस्थल र सबैजसो नाकामा हेल्थ डेस्क छन् ।’

तर, कोरोनाजस्तो डरलाग्दो संक्रमणलाई नेपाल भित्रिन नदिन यतिमात्रै सतर्कता पर्याप्त छ त ? सरकारको भाषामा भन्ने हो भने पर्याप्त मात्रै हैन, विश्वस्तरीय मापदण्डअनुसार नै काम भइरहेको छ ।

सरकारको यस्तो जवाफ सुन्दा लाग्न सक्छ, विमानस्थलमा यात्रीहरुमाथि कडा स्वास्थ्य जाँच हुन्छ, चीनबाट फर्किएकालाई त झन विशेष निगरानीमै राखिन्छ होला ।

यो पनि पढ्नुहोस नेपालीलाई ल्याउन फागुन ३ गते वाइडबडी चीन जाने

तर, त्रिभुवन विमानस्थलमा त्यस्तो कुनै दृश्य देख्न पाइन्न, जसले कोरोनासँग साँच्चिकै नेपाल सरकार गम्भीर र सतर्क रहेछ भन्ने पुष्टि गरोस् । त्यहाँ शरीरको ज्वरो पत्ता लगाउने मेसिनले स्कृनिङ त गर्छ, तर सामान्य तापक्रम देखिए कसैले पनि विमानस्थलमा अतिरिक्त जाँच गराउनुपर्दैन ।

विमानस्थलमा रहेको त्यही स्त्रिmनिङ गर्ने मेसिन पनि बारम्बार बिगि्रएर स्वास्थ्यकर्मीलाई हैरानी छ ।

चीनसँगका अन्य नाकाबाट भने आवत-जावत रोकिएकाले खासै समस्या छैन । तर, भारतसँगका नाकामा भने यात्रीको स्वास्थ्य जाँच्ने प्रभावकारी संयन्त्र नै छैन । जसले स्थलमार्गबाट आउने पर्यटक र नेपाली यात्रीबाट पनि कोरोना भित्रिने जोखिम उच्च बनाएको छ ।


अझ नेपालमा रोग फैलिहाले के गर्ने भन्ने स्पष्ट योजना पनि बनेको छैन । त्यस्ता बिरामी राख्न केही अस्पतालहरुमा शैया पहिचान गर्नेवाहेक अन्य प्रभावशाली प्रतिरक्षाको योजना नबनाई बसेको छ सरकार ।

सरासर आउँछन् चिनियाँ

वुहानका नेपालीलाई ल्याउन र क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गर्न सरकारलाई सकस छ । तर, चीनका अन्य प्रान्तबाट दैनिक आइरहेका सयौं यात्रीले नेपालमा सहजै प्रवेश पाएका छन् । वुहानबाहेक अन्य प्रान्त पनि कोरोनाबाट मुक्त नभएकाले सरकारले अहिले अपनाएको नीति प्रत्युत्पादक हुन सक्ने देखिएको छ ।

त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयका अनुसार कोरोनाको संक्रमणको हल्लाका बावजुद पनि विगत ७ दिनमा ७ सय चिनियाँ नागरिक नेपाल आएका छन् । यसअनुसार एक महिनाका बीचमा हजारौं चिनियाँ यात्रु नेपाल आएका छन् ।

अहिले चीनबाट आएका नेपाली नागरिक र चीनलाई ट्रान्जिट पारेर आएका नेपाली तथा विदेशी नागरिकको संख्या पनि सानो छैन ।

तर, न उनीहरुको स्वास्थ्यको निगरानी सरकारले गरेको छ, न उनीहरुको विवरण राखेर भविश्यमा पर्न सक्ने संकटसँग जुध्ने तयारी नै भएको छ । विश्वभरका विमानस्थलमा भइरहेको कडा मेडिकल स्कृनिङका अघि नेपालको विमानस्थलमा भइरहेको फितलो जाँच लाजमर्दो छ ।

निष्प्रभावी हेल्थ डेस्क

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहाल विमानस्थलमा राखिएको हेल्थ डेस्कले हालसम्म १७ जनालाई शंकास्पद मानेर अस्पताल पठाएको बताउँछन् । उनका अनुसार विमानस्थलमा राखिएको हेल्थ डेस्कले हरेक यात्रुलाई जाँच्दैन । विमानस्थलमा थर्मल स्कृनिङ मेसिन राखिएको छ, जुन मेसिनमा सबै यात्रुको शरीरको तापक्रम जाँच हुन्छ ।

त्यसक्रममा उच्च तापक्रम भएका (ज्वरो आएका) हरुलाई हेल्थ डेस्कले नियन्त्रणमा लिन्छ र सामान्य जाँच गरेर एम्बुलेन्समार्फत अस्पताल पठाउँछ । विमानस्थल हेल्थ डेस्कका इञ्चार्ज गोपाल पाण्डे विमानस्थलमा शंकास्पद विरामीलाई प्रारम्भिक जाँच गर्न अलग्गै कक्ष राखिएको बताउँछन् ।

‘सबै यात्रुलाई जाँच्न सकिँदैन, उनी भन्छन्, जोखिम देखिएकालाई मेसिनले पहिचान गर्छ,’ उनी भन्छन्, ‘त्यसलाई आधार बनाएर यात्रुलाई डेस्कमा ल्याएर थप चेकजाँच गर्छौं ।’

यस्ता बिरामीलाई जाँच तथा उपचारका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रोटोकल बनाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहाल बताउँछन् । उनले प्रोटोकल अनुसार स्वास्थ्य जाँच गरेपछि बिरामीको स्थिति र लक्षण हेरेर शंकास्पद अवस्था नभए डिस्चार्ज गर्ने गरिएको बताए ।

यही प्रक्रिया अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएका एक नेपालीलाई अस्पतालबाट ‘स्वास्थ्य लाभ’को कामना गर्दै विदा गरिएको थियो ।

आफैं अस्पताल पुग्दैछन् यात्री

विमानस्थलमा यस प्रकारले हुने शरीरको तापक्रम नाप्नेबाहेक अरु कुनै मेडिकल स्कृनिङ नगरिँदा यात्री आफैं पनि आफ्नो स्वास्थ्य अवस्थाप्रति ढुक्क हुन सकेका छैनन् ।

त्यसैले चीनबाट फर्किएका कतिपय नेपाली आफैं आश्वस्त हुन नसकेर अस्पतालमा जाँच पुगिरहेका छन् । कोरोना भाइरसको हल्लापछि मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ५० भन्दा बढी चीनबाट फर्किएका नेपालीले डाक्टरहरुलाई भेटेर परामर्श गराएका छन् ।

चिनियाँ नागरिकहरु आफैं पनि अस्पतालमा पुग्दैछन् भने कतिपय चिनियाँ नागरिकको सामीप्यमा रहेकाहरु मनोवैज्ञानिक त्रासका कारण रुघा लाग्नासाथ अस्पताल पुग्ने गरेका छन् ।

टेकु अस्पतालका बरिष्ठ सुरुवारोग विशेषज्ञ शेरबहादुर पुन रोगबारे सर्वसधारणलाई पर्याप्त ज्ञान हुन थालेको बताउँछन् । अझ रुघाखोकीलाई नै कोरोना संक्रमण हो कि भन्दै अस्पताल आउनेहरु प्रशस्तै बढेको उनको अनुभव छ ।

‘संक्रमण नभित्रिए पनि आन्तरिकरुपमा सर्वसाधारणमा यसबारे जुन किसिमको सतर्कता बढेको देखिन्छ, यसले सचेतना बढेको देखाउँछ,’ पुन भन्छन्, ‘सरकारले अपनाएको सतर्कतामा यसले पनि एउटा ईंटा थप्छ ।’

तर, चीनसँग सीमा जोडिएका क्षेत्रमा पनि सतर्कता र सचेतनाको पाटो बढाउनुपर्ने विज्ञहरुको सुझाव छ । तिब्बतमा कोरोनाको संक्रमण फैलिए त्यसको असर छिट्टै हिमाली क्षेत्रमा देखिन सक्ने भएकाले उत्तरी क्षेत्रका लागि पनि विशेष योजना बनाउन आवश्यक देखिएको छ ।

घट्दै यात्रु

अहिले चीनबाट आउने यात्री घटेपछि वायुसेवा कम्पनीले उडान भने कटौती गर्दै लगेका छन् । जसका कारण चीनबाट आउने यात्री भने घटेका छन् । अध्यागमन कार्यालयका अनुसार अहिले चीनबाट भित्रिनेभन्दा बाहिरने चिनियाँको संख्या तेब्बर छ । एक हप्तामा ७ सय चिनियाँ भित्रिँदा २१ सय चिनियाँ नेपालबाट बाहिरिएका छन् ।

त्यसैले चाइना साउदर्न एयरलइन्सले दैनिक एक उडान गरिरहेको छ, चाइना इस्टर्नले सातामा तीन उडान कायम राखेको छ । अन्य कम्पनीले भने नेपाल उडान बन्द गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक देव चन्द्रलाल कर्णले बताए ।

उनका अनुसार चीनबाट एयर चाइना, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल उडान तत्कालका लागि स्थगित गरेका छन् । यसबाहेक नेपालको हिमालय एयरलाइन्सले समेत चीनको उडान बन्द गरिसकेका छन् ।

‘चीनबाट यात्रु नगन्य छन्, चाइना साउदर्न र इस्टर्नले उडान निरन्तरता दिएपनि अन्यले भने नेपाल उडान झिकिसकेका छन्,’ उनले भने । यसअघि नेपालमा चिनियाँ कम्पनीबाट सातामा ७० हाराहारी उडान भइरहेको थियो । यो उडान घटेर सातामा १० उडानमा खुम्चिएको छ ।

चाइना साउदर्न एयरलाइन्सले ग्वाङझाउ-काठमाडौं, चाइना इस्टर्न एयरलाइन्सले कुनमिङ-काठमाडौं, तिब्बत एयरलाइन्ले छेन्दु-काठमाडौं, एयर चाइनाले छेन्दु-ल्हासा-काठमाडौं तथा छेन्दु-काठमाडौं र सिचुवान एयरलाइन्सले छेन्दु-ल्हासा-काठमाडौं रुटमा उडान भर्ने गरेका छन् । नेपालको हिमालय एयरलाइन्सले बेइजिङ-काठमाडौं, काठमाडौं,-छोङछिङ, काठमाडौं-गुयाङ,, काठमाडौं-चाङ्सा र काठमाडौं-सेनजेन रुटमा उडान भर्छ ।

विज्ञको चेतावनी

अनियन्त्रित रुपमा फैलन सक्ने जोखिम भएको रोगलाई रोक्न अहिले अपनाइएको सतर्कता ज्यादै कमजोर भएको बताउँछन् विशेषज्ञ डाक्टर तथा पूर्वस्वास्थ्य सचिव दीर्घसिंह बम ।

‘यदि यो संक्रमण नेपालमा फैलियो भने सरकारले अहिले गरेको भनिएको तयारी फिक्का पर्छ,’ उनी भन्छन्, ‘यो नफैलिञ्जेलसम्म मात्रै समान्य जस्तो लागेको हो, तर देखा परिहाल्यो भने परिस्थिति सम्हाल्न हाम्रोजस्तो मुलकलाई सजिलो हुँदैन । त्यसैले गर्नुपर्ने पूर्वतयारी र सतर्कता योभन्दा माथिल्लो स्तरको हुनुपर्छ ।’

डा. बमले विमानस्थलमा गरिएको लापरवाही नेपालका लागि महंगो पर्न सक्ने बताए । किनभने, सरकारले चीनबाट आउने यात्रुलाई समेत एउटा थर्मल (शरीरको तापक्रम नाप्ने यन्त्र) स्कृनिङ गरेका भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जान दिइरहेको छ ।

विदेशका विमानस्थलमा थुप्रै चरणको स्कृनिङपछि आएका यात्रीलाई नेपालको विमानस्थलमा निकै ‘सजिलो’ छ । तर, यो सजिलोले भोलि नेपाललाई झनै अप्ठेरोमा पार्न सक्ने बताउँछन् डाक्टर बम ।

विज्ञहरुका भनाइअनुसार नेपालको सौभाग्य हो कि चीनले नै यो संक्रमणलाई फैलन नदिन आफ्नो देशभित्र उच्च सतर्कता अपनाएको छ र विमानस्थलबाट बाहिरिने र भित्रिने यात्रुलाई कयौं चरणहरुमा चेकजाँच गर्ने गरिरहेको छ । त्यसकै कारणले पनि नेपाल यस्तो संक्रमणबाट अहिलेसम्म जोगिन सकेको छ ।

तर, जोखिमको मूल्यांकन गरेर योजना बनाउन सरकार चुकिरहेको छ । पूर्वतयारी र सतर्कतामा यस्तै हेलचक्र्याइँ भइराखे कोरोना जुनसुकै बेला नेपालमा भित्रिन सक्ने चेतावनी सरुवा रोगका जानकारहरुको छ ।

कोरोना भाइरसले आक्रमण गरेकै दिनमा दिनमा ज्वरो आउने लगायतका लक्षण नदेखिने भएकाले अहिले विमानस्थलबाट सजिलै उम्किएका यात्रीमा भोलि संक्रमण देखिन सक्दैन भन्ने कुनै ग्यारेन्टी नभएको उनीहरु बताउँछन् ।

अहिले चीनको कोरोना प्रभावित प्रान्तहरुबाट आएका नेपाली र चिनियाँलाई विमानस्थल तथा नाकाहरुमा नेपालमा सामान्य चेकजाँचसम्म पनि भइरहेको छैन । भारतीय नाकाहरुमा राखिएका हेल्थ डेस्कमा जाँच भइरहेको छैन । अझ भारतसँगको खुला सीमानाको चुनौती पनि नेपाल सामु छँदैछ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहाल स्थानीय तह र प्रदेश सरकारले राखेका यस्ता डेस्कमा नाकाबाट भित्रिने शंकास्पद बिरामीलाई स्वास्थ्य परामर्श दिने काम भइरहेको बताउँछन् ।

यहाँ प्रश्न जन्मिन्छ, कोरोना परामर्शका भरले रोकिएला त ?

नेपालले कोरोनाको उद्गमस्थल मानिएको चीनको वुहानबाट आउने १८० जना नेपालीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेको छ । यसरी बिरामी ल्याउँदा हुन सक्ने जोखिमलाई पनि सरकारले निकै ध्यान पुर्‍याउनुपर्ने अवस्था रहेको डाक्टर बम बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी विमानस्थलमा यात्रीको हेल्थ डिक्लियरिसेन र्फम भराउनुपर्ने बताउँछन् । ‘हामीसँग यात्रुको सबै डिटेल हुनुपर्छ, भोलि कसैले संक्रमणपछि सँगै आएको मान्छेले खोकेको थियो, सर्‍यो होला भन्यो भने ऊसम्म पुग्न पनि हामीले यात्रीको विवरणहरु चुस्त राख्नुपर्छ,’ उनले भने ।

विशेषज्ञ सुवेदी भविश्यमा रोग फैलिने अवस्था आए समुदायस्तरमा काम गर्नसक्ने जनस्वास्थ्य संयन्त्र पनि विकास गनुपर्ने बताउँछन् । उनले अस्पतालमा राखेर मात्रै यस्तो संक्रमण नियन्त्रण नहुने भएकाले सरकारले समुदायस्तरमा पुग्नसक्ने गरी योजना बनाउनुपर्ने बताए ।

‘कसैलाई भोलि रोग देखियो भने उसलाई कसबाट रोग सर्‍यो भनेर पत्ता लगाउन सक्ने र उसका सम्पर्कमा आएका सबै व्यक्तिको जाँच गर्न सक्ने तथा लक्षणहरु हेरेर उपचारसम्म गर्न सक्ने गरी संयन्त्र बन्नुपर्छ,’ उनले भने,’यस्ता काममा अहिले सरकारले ध्यान नदिए भविश्यमा समस्या पर्न सक्छ ।’

यो पनि पढ्नुहोस चीनबाट उद्धार गरिने नेपालीलाई चार स्थानमा राखिनेयो पनि पढ्नुहोस वुहानका नेपालीको उद्धारका ‘मुख्य मापदण्ड’ पूरा गर्नै बाँकी !यो पनि पढ्नुहोसचीनमा रहेका छोराछोरी नेपाल ल्याउन माग गर्दै स्वास्थ्य मन्त्रालय घेराउयो पनि पढ्नुहोस‘बाँसुरी बजाउन समय छ, हामीलाई भेट्न फुर्सद हुन्न’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment