Comments Add Comment

वन वाटिकाको अध्यक्षमा शर्मा

चार उम्मेदवारको आपत्ति

२८ माघ, बुटवल । शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को अध्यक्षमा बेलप्रसाद शर्मा चयन भएका छन् । मंगलबार भएको केन्द्रको तेस्रो अधिवेशनबाट शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा खिमलाल पाण्डे, सचिवमा फर्सुराम भण्डारी, कोषाध्यक्षमा मनिराम भट्टराई चुनिएका छन् ।सदस्यहरुमा बालकृष्ण कुँवर, किरण खरेल, गीतादेवी न्यौपाने, ज्योतिमाया थापा, डोरबहादुर सारु, सरस्वती बराल र हरिकला अधिकारी चयन भएका छन् ।

अधिवेशनबाट लेखा समिति संयोजकमा प्रदीप पराजुली र सदस्यहरुमा डा. बाबुराम ज्ञवाली र दिपेश कंडेल चयन भएका छन् । वन वाटिकाको नयाँ नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनमुक्ति निकट सदस्यहरुबीच त्रिपक्षीय समझदारी भएको थियो ।

चार उम्मेदवारको आपत्ति

नयाँ नेतृत्व चयनप्रति चार जनाले आपत्ति र असहमति जनाएका छन् ।

निर्वाचन समितिले घोषित कार्यतालिका अनुसार चुनावी प्रक्रिया अघि नबढाई तीन दलको सहमतिमा पदको भागवण्डा गरेको भन्दै कार्यसमिति सदस्य पदका उम्मेदवार विदुर केसी र सुरेश विश्वकर्मा तथा लेखा समिति सदस्यका उम्मेदवार गोविन्द भुसाल र सन्दिप भट्टराईले आपत्ति जनाएका हुन् ।

निर्वाचन समितिले नै सार्वजनिक गरेको तालिका अनुसार माघ २४ गते उम्मेदवारी फिर्ता, २५ गते दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २६ गते मतदान प्रक्रिया शुरु गर्ने तालिका थियो ।

तर चुनावी प्रक्रिया अघि नबढाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी,नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीबीचको सहमतिमा पदको भागवण्डा गरी नेतृत्व चयन गरिएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

चार जनाले निर्वाचन समिति र तिलोत्तमा नगरपालिकाको न्यायिक समितिकी संयोजक जागेश्वरीदेवी चौधरी समक्ष उजुरी समेत गरेका थिए ।

आफूहरुले उम्मेदवारी फिर्ता नलिई मतदानको माग गरे पनि निर्वाचन समितिले बेवास्ता गर्दै तीन दलको सहमति अनुसार नेतृत्व चयन गर्नु विधिको शासन विपरीत र निरंकुश चरित्र भएको लेखा समिति सदस्य पदका उम्मेदवार सन्दिप भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment