२९ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज खेलेको नेपालले अमेरिकाविरुद्ध दुबै खेल जित्यो भने ओमानसँगका दुबै खेल हार्यो । ओमानले चारवटै खेल जित्दा अमेरिका सबैमा पराजित भयो ।
नेपालले चारमध्ये एक खेलमा मात्र ब्याटिङमा २०० रनको आँकडा पार गरेको थियो । त्यही खेलमा मात्र नेपालले पूरा ५० ओभर ब्याटिङ गरेको थियो । तर त्यही खेल हार्यो । २०० भन्दा कम स्कोर बनाएको ३ मध्ये दुई खेल नेपालले जित्यो ।
यो सिरिजमा कुनै पनि नेपाली ब्याट्सम्यानले शतक हान्न सकेनन् । चार खेलाडीले अर्धशतक प्रहार गरे । तर ६० रन कटाउन सकेनन् । यस्तै साझेदारी पनि अर्धशतकीयमै सीमित रह्यो ।
दुई खेल जितेर नेपालले विश्वकप २०२३ को रोडम्यापको रुपमा रहेको लिग २ मा ४ अंक जोडे पनि अझै सुधार गर्नुपर्ने ठाउँ धेरै रहेको कप्तान ज्ञानेन्द्र मल्लले बताए ।
सिरिजको अन्तिम खेलमा बुधबार नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको थियो तर यो लक्ष्य भेट्टाउन पनि नेपालले ५ ओभर भन्दाबढी ब्याटिङ गर्नुपर्यो, दुई विकेट पनि गुमायो ।
त्यसैले विश्वकप लिग २ का लागि नेपालले मुख्य सुधार गर्नुपर्ने क्षेत्र ब्याटिङ नै भएको कप्तान मल्लले बताएका छन् । ‘ब्याटिङमा कसरी कन्सिसटेन्समा ल्याउने मुख्य हो’ सिरिजपछि उनले भनेको छन्, ‘सानो सानो शुरुवातलाई कसरी धेरै रनमा कन्भर्ट गर्ने भन्ने सुधार गर्नुपर्छ ।’
ओमानी खेलाडीको ब्याटिङबाट समेत धेरै सिक्न सकिने उनले बताए । ओमानले ४ खेल मध्ये तीन खेलमा २०० रन कटाएको थियो भने नेपालविरुद्ध एक खेलमा १९७ रनमै रोकिएको थियो । तर त्यो खेलमा समेत उसले नेपाललाई १८ रनले हरायो । ओमानले अमेरिकाविरुद्ध दुबै खेलमा २०० भन्दा बढी रन बनायो । यस्तै एक खेलमा नेपालले २५० रनको लक्ष्य दिँदा पनि ओमानले भेट्टाएको थियो । उक्त खेलमा अकिब इल्यासले शतक नै प्रहार गरे । अमेरिकाविरुद्ध ओमानका अकिबसंगै कप्तान जिसन मक्सुदले पनि शतक प्रहार गरेका थिए ।
‘ओमानकै ब्याट्सम्यानबाट हामीले धेरै कुरा सिक्न सक्छौं । राम्रो शुरुवात पाइसकेपछि इनिङ्सलाई बिल्ड अप गरेर खेल सकाउनेतिर उनीहरु लागेका थिए’ कप्तान मल्लले भनेका छन्, ‘हामी खेल सकाउने कसरी भनेर सिक्नुपर्छ ।’
बलिङ नेपालको बलियो पक्ष र मुख्य हतियार हो । नेपालले अमेरिकाविरुद्ध दुवै खेल जित्दा बलिङमा शानदार प्रदर्शन गरेको थियो । खेल जितेपछि पनि कप्तान ज्ञानेन्द्रले बलिङमा अझै सुधार गर्नुपर्ने बताएका थिए ।
अमेरिकाविरुद्ध १९० रन बनाउँदा पनि नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा स्कोर डिफेण्ड गर्न सफल भएको थियो । अन्तिम खेलमा अमेरिकालाई ३५ रनमा अलआउट गर्दै पनि नेपालको बलिङ नै चम्किएको थियो ।
राम्रो ब्याट्सम्यान विरुद्ध खेल्दा बलिङ अझै सुधार गर्नुपर्ने कप्तान मल्लले बताए । ‘यस्तै बलिङमा पनि राम्रो विकेटमा राम्रो ब्याट्सम्यानलाई बाँधेर राख्न सकिनुपर्छ’ उनले भने ।
ब्याटिङ, त्यसमा पनि ओपनिङ नेपालको पुरानै समस्या हो । अमेरिकाविरुद्ध ३६ रनको सामान्य लक्ष्य पछ्याउँदा पनि नेपालले शुरुमै २ विकेट गुमाएको थियो । दुवै ओपनर दोस्रो ओभरमा आउट भएका थिए । अरु खेलमा पनि नेपालको ओपनिङ उल्लेख्य रहेन । चार अर्धशतक र दुई अर्धशतकीय साझेदारी बाहेक नेपालको ब्याटिङ खासै देखिएन ।
नेपालले ओमानविरुद्ध पहिलो खेलमा १९८ रनको लक्ष्य पछ्याउँदा नेपाल ४६.५ ओभरमा १७९ रनमै अलआउट भएको थियो । शरद भेषावरले ५५ रनको अर्धशतकिय इनिङ्स खेले । जुन घरेलु मैदानमा पहिलो ओडीआई अर्धशतक समेत हो ।
दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । यस खेलमा ४९ रनमा ५ विकेट गुमाएको नेपालको लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक प्रहार गर्दै जोगाएका थिए । छैटौं विकेटका लागि उनीहरुले ८४ रनको साझेदारी गरे । विनोदले ५९ र कुशलले ५० रन बनाए । कुशलले डेब्युमै अर्धशतक प्रहार गरेका हुन् । साथै उनी ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी समेत बनेका छन् ।
तेस्रो खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गर्दै ओमानविरुद्ध ५० ओभरमा २४९ रन बनाएको थियो । यो स्कोर त्रिवि क्रिकेट मैदानमा नेपालले बनाएको अहिलेसम्मकै उच्च स्कोरसमेत हो । यस्तै नेपालले विपक्षीलाई दिएको उच्च लक्ष्य पनि हो ।
यो खेलमा कप्तान मल्लले अर्धशतक बनाए । उनले ५६ रन बनाउँदै नेपालका लागि ओडीआईमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । ज्ञानेन्द्रले दोस्रो विकेटका लागि पारस खड्कासंग ५९ रनको साझेदारी समेत गरेका थिए । तर ओमानले १६ बल अगावै २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
विश्वकप लिग २ मा सहभागी एक राष्ट्रले कूल ९ सिरिजमा गरेर ३६ खेल खेल्नेछ । नेपालले ४ खेल खेलेको छ र अझै ८ सिरिज खेल्न बाँकी छ । जसमा ३२ खेल हुनेछ ।नेपालले अब अर्को सिरिज अप्रिलमा नामिबियामा गएर खेल्नेछ । यस्तै जुनमा पपुवा न्यू गिनी र जुलाईमा स्कटल्याण्डमा गएर त्रिकोणात्मक सरिज खेल्नेछ ।
प्रतिक्रिया 4