Comments Add Comment

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

२९ माघ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गदै बुधबार रिट दर्ता गराएका हुन् ।

ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय भने नीतिगत भन्दै अख्तियारले आफ्नो क्षेत्राधिकारमा नपर्ने ब्याख्या गरेको थियो ।

वरिष्ठ अधिवक्ता न्यौपानेले मन्त्रिपरिषदको सबै निर्णय नीतिगत नहुने भन्दै यसमा तत्कालिन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईसहित ती मन्त्रिपरिषदका सदस्यले उन्मुक्ति पाउन नहुने भनी रिट दायर गरेका हुन् ।

उनले पूरक निवेदन दर्ता गरी प्रधानमन्त्री र मन्त्रीहरुलाई समेत भ्रष्टाचार मुद्दा चलाउन माग गरेका छन् ।

त्यस्तै वरिष्ठ अधिवक्ता न्यौपानेले जग्गा फिर्ता गरेको नाउँमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्ति दिनु पनि गलत भएको रिटमा उल्लेख गरेका छन् । उनले आपराधिक वस्तु फिर्ता गरेको नाउँमा अपराधबाट मुक्त नहुने भन्दै उनीहरुविरुद्ध पनि मुद्दा चलाउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment