
२९ माघ, कैलाली । प्रहरी निरीक्षक हुँ भन्दै ठगी गर्ने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका चालक पक्राउ परेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सवारी चालकका रुपमा रहेका किसन सिजापतिसहित तीन जनालाई नक्कली प्रहरी निरीक्षक बनेर धनगढीमै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
माघ २ गते धनगढी उपमहानगरपालिका- ३ बडहरा घर भइ मिलन चोकस्थित रिक्सा र साइकल मर्मत पसलबाट काम गर्ने एक व्यक्तिबाट रकम असुली गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर पुनर्वास नगरपालिका-५ घर भइ धनगढी उपमहानगरपालिका-१ बस्ने मुख्यमन्त्री मन्त्रिपरिषदको कार्यालयका सवारी चालक ३३ वर्षीय किसन सिजापतिसहित तीनजना पक्राउ परेका हुन् ।
किसनसँगै बझाङको खप्तड छान्ना गाउँपालिका- १ घर भइ धनगढी उपमहानगरपालिका-७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी र धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने वर्ष ३५ का गौरव हमाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरीको हो र आफूहरू जिल्ला प्रहरी कार्यालयबाट आएका हौं भन्दै दुई हजार पाँच सय रकम असुली गरेको गुनासो आएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
प्रतिक्रिया 4