 
																			१४ माघ, काठमाडौं । आफूलाई परराष्ट्रमन्त्रीको स्वकीय सचिव दाबी गर्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त, गौशालाले उदयपुरको चौदण्डी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवाललाई पक्राउ गरेको हो ।
दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर एक महिना अघिबाटै अनुसन्धान गरिरहेको भए पनि हालै मात्र थाहा भएको हो । प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेपछि भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेको खुलेको छ ।
प्रहरीका अनुसार, अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा १४ माघ २०८० मै प्रहरी कहाँ जाहेरी परेको थियो । त्यसबेलै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालिएपनि आरोपीहरु पक्राउ परेका थिएनन् । २६ भदौ २०८१ मा फेरि नयाँ अनुसन्धान अधिकृत तोकेर खोजतलास गरिएको भेटिएको छ ।
प्रहरीमा परेको जाहेरी अनुसार, शिवाकोटी दम्पत्तीले ११ वैशाख २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर ७ लाख रुपैयाँ नगद बुझेका थिए । त्यसको केही समयपछि ५ लाख बुझाएपछि एक हप्ताभित्र काम हुने भनेको जाहेरीमा उल्लेख छ ।
पछि शिवाकोटीको इसेवा र उनकी श्रीमतीको खातामा थप नगद समेत पठाएको उल्लेख छ । सबै गरेर जम्मा १५ लाख ७६ हजार रुपैयाँ पठाएपछि शिवाकोटीले अमेरिका जान ४५ लाख रुपैयाँ खर्च हुन्छ भनेको जाहेरीमा उल्लेख छ ।
‘त्यसबेला उहाँले मलाई हाल नगद १५ लाख ७६ हजार रुपैयाँ दिनु भन्नुभएको थियो, त्यसपछि बाँकी नगद २९ लाख २४ हजार रुपैयाँ ठिक्क पारेर राख्नुस्, मैले फोन गरेपश्चात लिएर आउनुस् भन्नुभएको थियो’, जाहेरीमा भनिएको छ, ‘मैले उक्त बाँकी रहेको रकम सापटी लिएर जम्मा गरेपछि उहाँलाई सम्पर्क गर्दा अहिले शरणार्थी प्रकरणको मुद्दा चर्किएको भन्दै चुप लागेर बस्न भन्नुभएको थियो ।’
जाहेरीमा उल्लेख भएअनुसार, शिवाकोटीले आलटाल गर्न थालेपछि ठगिएको महसुस भएर रकम फिर्ता माग्दा विभिन्न किसिमका धम्की समेत दिइएको थियो । प्रहरीले यो मामलामा अनुसन्धान गरेर १५ लाख ७६ हजार रुपेयाँ बराबरको क्षतिपूर्ति समेत दिलाउन मागदाबी गर्दै रायसहितको प्रतिवेदन बुझाएको थियो ।
आइतबार दर्ता भएको मुद्दामाथि आज (सोमबार) बाट अदालतमा थुनछेक बयान र बहस हुँदैछ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०८० मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि समातिएका थिए ।
उनीहरुको बयानका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, बादलपछि गृहमन्त्री बनेका बालकृष्ण खाँण, उनका गृहसचिव टेकनारायण पाण्डे, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपसहितका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।
पाण्डे, रायमाझी लगायतका व्यक्तिहरु अझै कारागारमा छन् ।
गिरोहकै रोजाइमा नियुक्त गरिएको थियो शरणार्थी कार्यदलमा सदस्य
कार्यदलमार्फत नेपालीलाई शरणार्थी बनाउने प्रयास, असफल भएपछि प्रतिवेदन हत्याएर कीर्ते
पूर्वगृहमन्त्री खाँण र ठग गिरोह कनेक्सन : पन्थी कार्यदलको प्रतिवेदन गृहबाटै गायब
शरणार्थी मामिलामा प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न देऊ
सन्देश शर्मा र गजेन्द्रबीच टेलिफोन संवाद : ‘हामीलाई दुहुनो गाई बनाएका छन्’
‘मेरै कार्यकालमा तपाईंलाई समात्नुपर्ला भन्ने सोचेकै थिइनँ’
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको निष्कर्ष- टोपबहादुर र इन्द्रजित योजनाकार
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4