+
+
हिरासतमा टेकनाथ–एसएसपी संवाद :

‘मेरै कार्यकालमा तपाईंलाई समात्नुपर्ला भन्ने सोचेकै थिइनँ’

‘मैले कलेज पढ्दा नै तपाईंबारे सुनेको थिएँ, तपाईंको चार वटै किताब पढेको थिएँ’, कार्कीले बोल्न थालेपछि रिजाल मौन बसे, कार्कीले थपे, ‘आदर्शका रूपमा चिनिएका व्यक्तिलाई समात्नुपर्ला, मुद्दा चलाउनुपर्ला, त्यो पनि मेरै कार्यकालमा भन्ने मैले सोचेको थिइनँ ।’

गौरव पोखरेल गौरव पोखरेल
२०८० जेठ ८ गते २०:०७

८ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले फोन गरेपछि भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले बिहीबार झापाबाट काठमाडौं आउने पहिलो उडानको टिकट काटे ।

एक साताअघि पनि प्रहरीले सोधपुछका लागि बोलाएको थियो । प्रहरीकहाँ आएर फर्किएका उनलाई ४ जेठमा ‘केही कागजमा हस्ताक्षर गर्नुपर्नेछ’ भन्दै डीएसपी भण्डारीले बोलाएपछि झोला बोकेर काठमाडौं ओर्लिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले कुरिरहेको होला भन्ने रिजालले कल्पनै गरेका थिएनन् । तर आन्तरिक कक्षको टर्मिनलबाट निस्किने वित्तिकै प्रहरीले उनलाई नियन्त्रणमा लियो, पक्राउ पुर्जी थमाएर जिल्ला प्रहरी परिसर, टेकु पुर्‍याइयो ।

‘मलाई झुक्काएर ल्याइयो, हस्ताक्षर गर्न भनेर ल्याएको मान्छेलाई प्रहरीले थुन्यो’ उनले अनुसन्धान अधिकृतहरूसँग भने, ‘म अर्को किताबमा प्रहरीले कसरी मलाई झुक्याएर ल्यायो भन्ने लेख्छु ।’ आफ्नो मोबाइल पनि नियन्त्रणमा लिएकाले फोटो खिच्न नपाएको भन्दै उनले लामो जुँगा भएका डीएसपी (धर्म भण्डारी) को तस्वीरको स्केच बनाएर अर्को पुस्तकमा समेट्ने बताए ।

अनुसन्धान अधिकृतहरूका अनुसार रिजाललाई झापाबाटै पक्राउ गरेर ल्याउनु जरूरी थिएन । त्यसैले केही प्रक्रिया बाँकी रहेको भन्दै बोलाइएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि उनी निराश देखिए, आफूलाई एकदमै नराम्रो लागेको सुनाए ।

त्यसक्रममा जिल्ला प्रहरी परिसर, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले रिजाललाई जति नराम्रो लागेको छ, त्योभन्दा बढी आफू दुःखी भएको बताए । ‘मैले कलेज पढ्दा नै तपाईंबारे सुनेको थिएँ, तपाईंको चार वटै किताब पढेको थिएँ’, कार्कीले बोल्न थालेपछि रिजाल मौन बसे ।

निर्वासन (२००४), प्यालेस टु प्रिजन (२००४), इथ्निक क्लिनजिङ एण्ड पोलिटिकल रिप्रेसन इन भुटान (२००९) र टर्चर किलिङ मी सफ्टली (२००९) गरी चारवटै किताब कार्कीले पढेका थिए । ‘आदर्शका रूपमा चिनिएका व्यक्तिलाई समात्नुपर्ला, मुद्दा चलाउनुपर्ला, त्यो पनि मेरै कार्यकालमा भन्ने मैले सोचेको थिइनँ’, कार्कीले भने । प्रहरी अधिकृतहरूका अनुसार कार्कीले यसो भन्दा रिजाल चुपचाप बसे, कुनै प्रतिवादमा केही बोलेनन् ।

अनुसन्धान अधिकृतहरूसँग भने उनले आफूलाई फसाइएको दाबी गरेका छन् । आफ्नो उद्देश्य बाँकी रहेका भुटानी शरणार्थीले दुःख नपाउन् भन्ने बाहेक केही नभएको उनले बताएका छन् । त्यसबाहेक सरकारी तहमा प्रभाव पार्ने गरी काम गर्ने हैसियत आफ्नो नभएको उनले बताएका छन् ।

‘मैले त्यो अर्कै प्रसंगमा सापटी लिएको पैसा थियो, फिर्ता पनि गरिसकेको थिएँ’ पक्राउ पर्नु केही दिनअघि रिजालले अनलाइनखबरसँग भनेका थिए, ‘अहिले त्यही जोडेर मलाई बद्नाम गर्न खोजिंदैछ ।’

जिल्ला अदालत, काठमाडौंबाट तीन दिन म्याद थप गरेर ल्याएपछि आइतबार अपराह्न पनि रिजालसँग एसएसपी कार्कीको जम्काभेट भयो । प्रहरी वृत्त, दरबारमार्गको हिरासततर्फ लैजानुअघि जिल्ला प्रहरी परिसर, टेकुमा जम्काभेट हुँदा उनले कार्कीतिर हेर्दै दुईहात जोडेर नमस्कार गरे । कार्कीले मुसुक्क हाँस्दै अभिवादन फर्काए ।

एसएसपी कार्कीका अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै करोडौं असुली गरिएको प्रकरणमा गिरोहले रिजालको छविलाई दुरुपयोग गरेका छन् । भन्छन्, ‘उनलाई देखाएपछि मान्छेलाई प्रभावमा पार्न सकिन्छ भन्ने हुनेभयो । त्यही भएर उनलाई मोरङको पथरी शनिश्चरेका पूर्व वडाध्यक्ष सागर राई मार्फत यो गिरोहले प्रयोग गरेको देखिन्छ ।’

सन् १९९० मा भुटानबाट लखेटिएर आएर झापा र मोरङमा बसेका शरणार्थीलाई स्वदेश फर्काउनुपर्ने मागमा भुटानी अधिकारवादी नेता रिजाल सधैं अडिग रहँदै आएका थिए । भुटानी शरणार्थी मामलालाई अन्तर्राष्ट्रियकरण गर्न पनि उनको भूमिका छ । त्यसैले हालका एमाले अध्यक्ष केपी शर्मा ओली परराष्ट्रमन्त्री भएका बेला (२०६२–६३) मा उनलाई सरकारले मासिक भत्ता, निजी सुरक्षा अधिकृत (पीएसओ) र गाडी सुविधा दिने निर्णय गरेको थियो ।

केही वर्षपछि रोकिएको उनको सुविधा माओवादी र एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार बनेका बेला पुनः सुरु गरिएको थियो । त्यसबेला ओली नै प्रधानमन्त्री थिए । ‘उनले मासिक एक लाख भत्ता पाइरहेका थिए, निर्वासनमा रहेका विदेशी उच्च तहका नेतालाई सम्मानस्वरुप यो सुविधा दिइएको थियो’ एक जानकार भन्छन्, ‘यस्ता व्यक्तित्वले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहबाट आर्थिक लाभ लिनु जरूरी थियो भन्ने लाग्दैन ।’

एक अनुसन्धान अधिकृतका अनुसार बयानका क्रममा उनलाई १० लाख रुपैयाँ दिइएको एक आरोपीले खुलाएका छन् । रिजाल स्वयंले भने पथरी शनिश्चरेका सागर राईसँग ७ लाख रुपैयाँ सापटी लिएको बताएका थिए । ‘मैले त्यो अर्कै प्रसंगमा सापटी लिएको पैसा थियो, फिर्ता पनि गरिसकेको थिएँ’ पक्राउ पर्नु केही दिनअघि रिजालले अनलाइनखबरसँग भनेका थिए, ‘अहिले त्यही जोडेर मलाई बद्नाम गर्न खोजिंदैछ ।’

रिजाल तिनै व्यक्ति हुन्, जसले शरणार्थीको नाममा असुली भइरहेको भन्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला उच्च सरकारी अधिकारीहरूलाई जानकारी समेत गराएका थिए । झापा र मोरङमा तेस्रो मुलुक पुनर्वासमा लगिने भन्दै असुली भइरहेको सूचना व्यापक भएपछि बेलडाँगी र पथरी शनिश्चरेस्थित शिविरमा ‘भ्रममा नपर्न’ भन्दै सूचना निकालिएको थियो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायतलाई पनि उनले जानकारी गराएका थिए ।

तर अहिले सचिव पाण्डे आफैं गिरोहलाई सघाएको आरोपमा हिरासतमा छन् । शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका एक अधिकृतको दाबीमा गिरोहका सदस्यले बनाएको सूचीमा भएका अधिकांश व्यक्तिको ठेगाना दक्षिण भुटानको लामिडाँडाको राखिएको छ । लामिडाँडा रिजालको जन्मस्थल हो । त्यहींबाट चुनाव जितेर उनी भुटानमा जनप्रतिनिधि बनेका थिए । उनी भुटानी राजाको सल्लाहकार समेत बनेका थिए । उनी भुटानमा भ्रष्टाचार नियन्त्रणका लागि बनेको शक्तिशाली आयोगमा समेत सदस्य थिए ।

त्यसबेला भुटानमा नेपाली भाषीको प्रभाव बढ्दै गएको थियो । यस्तो बेला भुटानमा भएको जनगणनाले भुटानी नागरिकलाई वंशज, बसाइँ सरेर आएका र गैरभुटानी भनेर तीन वर्गमा छुट्याएपछि रिजालले विरोध जनाए । अधिकांश नेपाली भाषीलाई गैरभुटानी बनाएर राखिएको प्रति उनको आपत्ति थियो ।

आफ्नै सल्लाहकार रिजालको विरोधपछि राजा रुष्ट बनिरहेका बेला भुटानको संसद्मा उपसभामुखको निर्वाचनमा राजा समर्थित उम्मेदवारको हार भयो भने रिजालले समर्थन गरेका व्यक्ति विजयी भए । लगत्तै राजाले सन् १९८८ मा उनलाई विभिन्न राजनीतिक आरोपहरू लगाउँदै विद्रोही करार गरिदिएका थिए । यसरी भुटानबाट लखेटिएर नेपाल आइपुगेका उनलाई झापाको बिर्तामोडबाट तत्कालीन पञ्चायत सरकारले पक्राउ गरेर सुपुर्दगी गरेको थियो ।

उनी भुटानको विभिन्न सैन्य कारागारमा १० वर्ष बसेका थिए । जन्मकैद सजाय तोकिएका उनलाई शरणार्थी समस्या समाधान भुटान–नेपाल वार्ताबाट गरिने भन्दै १७ डिसेम्बर १९९९ मा थुनामुक्त गरिएको थियो । छुटेपछि उनले पटक–पटक भुटानी राजालाई भेट्न गरेको प्रयास असफल भयो । कुनै उपाय नलागेपछि उनी भारतको सिलिगुडी, कोलकाता र दिल्लीहुँदै ३० असोज २०६० मा काठमाडौं आएका थिए ।

काठमाडौंमा आएर उनी पटक–पटक भुटानी शरणार्थीको पक्षमा वकालत गर्दै अनशन बसे । १ असोज २०६१ मा सरकारले उनलाई ‘अन्तर्राष्ट्रिय भ्रमण’का लागि ‘ट्राभल डकुमेन्ट’ बनाइदियो । त्यसपछि उनले जेनेभामा गएर संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग (यूएनएचसीआर) को बैठकमा समेत भाग लिएका थिए ।

हाल झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेस्थित शिविरमा ६ हजार ५७७ शरणार्थी बाँकी छन् । जम्मा १ लाख १३ हजार ४२८ शरणार्थीमध्ये तेस्रो मुलुक पुनर्वासपछि बचेका उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि उनले माग उठाइरहेका थिए । उनले तेस्रो देश पुनर्वासले निम्त्याएको पारिवारिक वियोग हटाउन परिवार एक हुने वातावरण सिर्जना गर्नुपर्ने सहितका १२ बुँदे माग पेश गरेका थिए ।

रिजालको ज्ञापनपत्रलाई आधार बनाएर तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले १४ जेठ २०७६ मा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपाय पहिल्याउन भन्दै पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका थिए । तर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गरेको गिरोहलाई अनुकूल हुने प्रतिवेदन नआएपछि चलखेल सुरु भयो । गृह मन्त्रालयमा गोप्य रहेको कार्यदलको प्रतिवेदन नै किर्ते गरिएको सार्वजनिक भएको छ ।

पूर्व उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत भीआईपी जोडिएको यो प्रकरणमा जिल्ला प्रहरी परिसर, काठमाडौंले झण्डै ६० दिन लामो अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंसमक्ष सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?