+
+
Shares

एङ्ग्लो-अफगान युद्ध : साम्राज्यहरूको चिहान

डा. विलियम ब्राइडनको टाउकोमा तरबारको गहिरो चोट थियो । उनलाई सोधियो, ‘बाँकी सेना कहाँ छ?’, उनले भने, ‘म नै बाँकी सेना हुँ।’ १६ हजार ५०० को विशाल फौजबाट बाँचेर गन्तव्यमा पुग्ने उनी एक मात्र युरोपेली थिए।

कञ्चन कञ्चन
२०८२ फागुन २७ गते १७:२३
चमन स्टेशन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रथम एङ्ग्लो-अफगान युद्ध (१८३९–१८४२) मा बेलायती सेनाले काबुल कब्जा गरे तापनि स्थानीय विद्रोह र कठोर भूगोलले उनीहरूलाई पराजित गरायो।
  • दोस्रो एङ्ग्लो-अफगान युद्ध (१८७८–१८८०) पछि ड्यूरान्ड रेखा कोरियो जसले अफगानिस्तान र ब्रिटिस भारतबीच सीमा निर्धारण गर्‍यो र पस्तुन समुदाय विभाजित भयो।
  • तेस्रो एङ्ग्लो-अफगान युद्ध (१९१९) पछि अफगानिस्तानले पूर्ण सार्वभौमिकता प्राप्त गर्‍यो र बेलायतसँग रावलपिण्डी सन्धि गरी स्वतन्त्र राष्ट्रको रूपमा मान्यता पायो।

इतिहासको पृष्ठ पल्टाउँदा मध्य-एशियामा सधैँ चर्चाको केन्द्रमा रह्यो एउटा पहाडी भूगोल हो- अफगानिस्तान। कहिलेकाहीँ प्रविधि, आधुनिक शिक्षा र वैभवयुक्त साम्राज्यहरू सामान्य र कमजोर समूहद्वारा पराजित हुन्छन् र साम्राज्य विस्तार अन्त्यको कारक पनि बन्न जान्छन्। इतिहास पढ्दा कहिलेकाँही यस्तै यथार्थसँग साक्षात्कार हुन्छ ।

उन्नाइसौँ र बीसौँ शताब्दीमा विश्वका दुई ठूला शक्तिहरू- बेलायती साम्राज्य र रुसी साम्राज्य शक्ति सङ्घर्षको बीचमा अफगानिस्तान पर्न गयो। तर अफगानिस्तानले यी दुई साम्राज्यहरूलाई यतिसम्म घुँडा टेक्न बाध्य पार्‍यो कि यो देशको उपनाम ‘साम्राज्यहरूको चिहान’ रहन गयो।

ग्रेट गेम

एङ्ग्लो-अफगान युद्धको बीउ कुनै एक घटनाले मात्र उमारेको थिएन। यो तत्कालीन विश्वका दुई महाशक्तिहरूबीचको शीतयुद्ध जस्तै प्रतिस्पर्धा थियो, जसलाई इतिहासमा ‘द ग्रेट गेम’ भनिन्छ। रुसी साम्राज्यले मध्य-एशिया हुँदै भारत (ब्रिटिस इन्डिया) माथि आक्रमण गर्नेछ भन्ने भयले आक्रान्त थियो बेलायत । रुसले आफ्नो सिमाना दक्षिणतर्फ विस्तार गर्दै ल्याइरहेको थियो। अफगानिस्तान बेलायती भारत र रुसी साम्राज्य बीचमा एउटा ‘बफर स्टेट’ को रूपमा रहेको थियो।

सन् १८३० को दशकमा अफगानिस्तानका अमिर दोस्त मोहम्मद खानले रुससँग निकटता बढाउन खोजे, तब बेलायती गभर्नर जनरल लर्ड अकल्यान्ड सशङ्कित भए। उनले अफगानिस्तानमा आफ्नो कठपुतली शासक राख्ने निर्णय गरे, जसले प्रथम एङ्ग्लो-अफगान युद्धको बाटो खोल्यो।

सन् १८३९ देखि १८४२ सम्म चलेको प्रथम एङ्ग्लो-अफगान युद्ध इतिहासको त्यस्तो अध्याय हो, जसले तत्कालीन विश्वको महाशक्ति बेलायती साम्राज्यलाई घुँडा टेक्न बाध्य बनायो। यो युद्ध कुनै सीमा विवादका लागि मात्र थिएन, यो ‘द ग्रेट गेम’ को एउटा रणनीतिक चाल थियो। १९औँ शताब्दीको सुरुवातमा इस्ट इन्डिया कम्पनीको शासन रहेको भारतमा बेलायतलाई रुसी साम्राज्यको ठूलो डर थियो।

रुसले मध्य-एशियाका राज्यहरू एकपछि अर्को गर्दै जित्दै थियो। बेलायतीहरू भयभीत थिए कि रुसले अफगानिस्तानलाई प्रयोग गरेर भारतरूपी ‘सुनौलो चरो’ कब्जा गर्नेछ। त्यतिबेला अफगानिस्तानमा दोस्त मोहम्मद खान सत्तामा थिए। उनी चतुर र राष्ट्रवादी नेता थिए। बेलायतले उनलाई आफ्नो पूर्ण वशमा राख्न चाहन्थ्यो, तर दोस्त मोहम्मदले रुस र बेलायत दुवैसँग सन्तुलित सम्बन्ध राख्न खोजे। यही कुरा बेलायती गभर्नर जनरल लर्ड अकल्यान्डलाई सह्य भएन। उनले दोस्त मोहम्मदलाई हटाएर बेलायतको इसारामा रहने पूर्व-शासक शाह शुजालाई सत्तामा फर्काउने योजना बुने।

सन् १८३९ : ‘आर्मी अफ इन्डस काबुलमा भ्रमपूर्ण विजय

सन् १८३९ को मार्चमा बेलायतले २१ हजार सैनिक र झन्डै ३८ हजार सहयोगीहरूसहितको विशाल फौज ‘आर्मी अफ इन्डस’ अफगानिस्तान पठायो। बोलानको भञ्ज्याङ हुँदै उनीहरू कान्दहार पुगे। सुरुमा अफगानीहरूले कडा प्रतिरोध गरेनन्। बेलायती सेनाले गजनीको किल्ला ध्वस्त पारिदियो र ७ अगस्ट १८३९ मा शाह शुजालाई काबुलको सिंहासनमा बसालियो। दोस्त मोहम्मद खान पहाडतिर भागे र पछि आत्मसमर्पण गरे।

बेलायतीहरूलाई लाग्यो, उनीहरूले अफगानिस्तान जिते। उनीहरूले काबुलमा आफ्ना परिवारसमेत ल्याउन थाले, छाउनी बनाएर रक्सी र नाचगानमा रमाउन थाले। तर, उनीहरूले यो बिर्सिए कि अफगानीहरूले शाह शुजालाई ‘शासक’ होइन, बेलायतीको ‘कठपुतली’ मात्र मान्थे।

सन् १८४१ : विद्रोहको आगो सर अलेक्जेन्डर बर्न्सको हत्या 

दुई वर्षसम्म काबुलमा बेलायती सेनाको उपस्थिति र उनीहरूको विलासी जीवनशैलीले स्थानीय जनतामा घृणा पैदा गर्‍यो। खाद्यान्नको मूल्य बढ्यो र विदेशीहरूको उपस्थिति अपमानजनक लाग्न थाल्यो। नोभेम्बर १८४१ मा विद्रोहको ज्वालामुखी फुट्यो।

काबुलको बजारमा बेलायती राजनीतिक एजेन्ट सर अलेक्जेन्डर बर्न्सको घर घेरियो र उनको वीभत्स हत्या गरियो। त्यसपछि दोस्त मोहम्मदका छोरा वजिर अकबर खान काबुल आए र विद्रोहको नेतृत्व सम्हाले। बेलायती सैन्य अधिकारीहरू अलमलमा परे। उनीहरूले समयमै कठोर कदम चाल्न सकेनन् र आफ्नै छाउनीभित्र घेराबन्दीमा परे।

सन् १८४२ : अपमानजनक सम्झौता मृत्युको पैदल यात्रा

खाद्यान्न सकिँदै गयो, बाहिर हिउँ पर्न थाल्यो। बेलायती प्रतिनिधि सर विलियम म्याकनटेनले अकबर खानसँग सम्झौता गर्ने प्रयास गरे, तर वार्ताकै क्रममा अकबर खानले म्याकनटेनको हत्या गरिदिए। अब बेलायती सेनासँग आत्मसमर्पण गर्नुको विकल्प थिएन।

६ जनवरी १८४२ मा १६ हजार ५ सयको सङ्ख्यामा रहेका मानिसहरू (४,५०० सैनिक र १२,००० सर्वसाधारण) काबुलबाट जलालावादका लागि निस्किए। यो यात्रा होइन, मृत्युको कुण्ड थियो।

काबुल र जलालावादको बीचमा पर्ने खुर्द काबुल भञ्ज्याङमा ५ फिटसम्म हिउँ थियो। मानिसहरूका खुट्टा हिउँले खाएर कुहिन थाले। अकबर खानले सुरक्षित मार्ग दिने बाचा गरेका थिए, तर पहाडका चुचुराहरूमा लुकेर बसेका अफगानी ‘गिल्जाई’ लडाकुहरूले उनीहरूमाथि अन्धाधुन्ध गोली र ढुङ्गा बर्साए।

सात दिनको यात्रामा हजारौँ सैनिक मारिए। महिला र बालबालिकाहरूलाई अपहरण गरियो। भोकमरी र चिसोले बाँकी रहेकाहरूलाई पनि सिध्यायो।

एकजना जीवित साक्षी: डा. विलियम ब्राइडन

१३ जनवरी १८४२ मा जलालावादको किल्लामा रहेका बेलायती सैनिकहरूले टाढाबाट एउटा घोडा चढेको मान्छे लरखराउँदै आइरहेको देखे। ती व्यक्ति थिए डा. विलियम ब्राइडन। उनको टाउकोमा तरबारको गहिरो चोट थियो र उनी मृत्युको मुखबाट उम्किएर आएका थिए।

जब उनलाई सोधियो, ‘बाँकी सेना कहाँ छ?’, उनले निराशाजनक जवाफ दिए, ‘म नै बाँकी सेना हुँ।’ १६,५०० को विशाल फौजबाट बाँचेर गन्तव्यमा पुग्ने उनी एक मात्र युरोपेली थिए।

बदलाको सेना युद्धको अन्त्य

यो खबरले लन्डन र कलकत्तामा भुइँचालो गयो। बेलायतको अपमान भएको थियो। त्यसपछि बेलायतले ‘आर्मी अफ रिट्रिब्युसन’ (बदलाको सेना) पठायो। उनीहरूले काबुल पुगेर ऐतिहासिक बजार (ग्रान्ड बजार) जलाइदिए र बदला लिए। तर, उनीहरूलाई थाहा भइसकेको थियो कि अफगानिस्तानलाई कब्जामा राख्न असम्भव छ।

अन्ततः बेलायतले शाह शुजाको हत्यापछि अफगानिस्तान छोड्ने निर्णय गर्‍यो। उनीहरूले कैदमा रहेका दोस्त मोहम्मद खानलाई रिहा गरे र उनलाई पुनः अमिर स्वीकार गरे।

प्रथम एङ्ग्लो-अफगान युद्धले बेलायतलाई एउटा महँगो पाठ सिकायो। कुनै पनि विदेशी शक्तिले अफगानिस्तानमा आफ्नो इच्छा लाद्न सक्दैन। यो युद्धमा बेलायतले लाखौँ पाउन्ड खर्च गर्‍यो र हजारौँ ज्यान गुमायो, तर नतिजा ‘शून्य’ रह्यो।

दोस्त मोहम्मद खानले पछि ठट्टा गर्दै भनेका थिए, ‘मैले तिम्रो देशको संसाधन, तिम्रो सेना र तिम्रो शक्ति देखेँ। तर मलाई एउटा कुरा बुझ्न गाह्रो भयो कि यति शक्तिशाली देशका शासकहरू किन मेरो जस्तो गरिब र पहाडी मुलुक कब्जा गर्न यति टाढा आए?’

यो युद्धले अफगानिस्तानलाई ‘साम्राज्यहरूको चिहान’ को रूपमा विश्व मानचित्रमा स्थापित गरिदियो। पहिलो एङ्ग्लो-अफगान युद्धको लज्जास्पद पराजयपछि झन्डै ४० वर्षसम्म बेलायतले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अपनायो। तर, सन् १८७० को दशकको अन्त्यतिर विश्वको भूराजनीतिक र आर्थिक परिदृश्य फेरि बदलियो।

रुसी साम्राज्यको सिमाना हिन्दुकुश पर्वतको नजिक आइपुग्नु र बेलायती साम्राज्यले आफ्नो ‘भारतको मुकुट’ असुरक्षित देख्नु नै दोस्रो एङ्ग्लो-अफगान युद्ध (१८७८–१८८०) को मुख्य कारण बन्यो।

रुसी कूटनीति बेलायतीआक्रामक नीति

सन् १८७० को दशकमा बेलायतमा ‘फरवार्ड पोलिसी’ का समर्थक लर्ड लिटन भायसराय भएर आए। उनी अफगानिस्तानलाई बेलायतको पूर्ण इसारामा चल्ने ‘बफर स्टेट’ बनाउन चाहन्थे। सन् १८७८ मा रुसी जनरल स्टोलेटोभ काबुल पुगेर अमिर शेर अली खानसँग वार्ता थाले।

बेलायतले यसलाई आफ्नो सुरक्षामाथिको सिधा चुनौती मान्यो। बेलायतले पनि आफ्नो मिसन काबुल पठाउन खोज्यो, तर अफगानीहरूले खैबर भञ्ज्याङमा रोकिदिए। यही अपमानलाई निहुँ बनाएर १८७८ नोभेम्बरमा ३५ हजार बेलायती सेनाले तीनतिरबाट अफगानिस्तानमाथि आक्रमण सुरु गरे।

सैन्य श्रेष्ठता गण्डामकको अपमानजनक पासो

पहिलो युद्धको तुलनामा यसपटक बेलायती सेना आधुनिक राइफल र तोपखानाले सुसज्जित थियो। अमिर शेर अली खान रुसी सहयोगको आशामा उत्तरतिर भागे र त्यहीँ उनको मृत्यु भयो। त्यसपछि उनका छोरा मोहम्मद याकुब खान सत्तामा आए।

बढ्दो सैन्य दबाबका बीच १८७९ मे २६ मा ‘गण्डामकको सन्धि’ भयो। यो सन्धिले अफगानिस्तानलाई आर्थिक र राजनीतिक रूपमा बेलायतको पञ्जामा पार्‍यो।

यस घटनापछि अफगानिस्तानको विदेश नीति पूर्णतः बेलायतको नियन्त्रणमा गयो। काबुलमा बेलायती ‘रेजिडेन्ट’ राख्न अफगानिस्तान बाध्य भयो। यसको बदलामा बेलायतले अमिरलाई वार्षिक ६ लाख रुपैयाँ दिने र सुरक्षाको ग्यारेन्टी दिने वाचा गर्‍यो।

विद्रोह आइरन अमिरको उदय

गण्डामकको सन्धि भएको केही महिनामै काबुलमा विद्रोह भयो र बेलायती रेजिडेन्ट सर लुइस क्याभाग्नारीको हत्या गरियो। यसले युद्धलाई फेरि चर्कायो। अफगानिस्तानमा निरन्तर आक्रमण गरिरहनु बेलायतको लागि आर्थिक रूपमा समेत नोक्सान हुने कार्य बन्न पुग्यो।

त्यसपछि बेलायतले चतुर नेता अब्दुर रहमान खानलाई ‘अमिर’ स्वीकार गर्‍यो। उनले बेलायतलाई विदेश नीति सुम्पेर आन्तरिक रूपमा आफ्नो शासन बलियो बनाए। यही समयमा जनरल रोबर्ट्सले काबुलदेखि कान्दहारसम्मको ऐतिहासिक सैन्य मार्च गरेर बेलायती सैन्य साख जोगाएका थिए।

ड्यूरान्ड रेखा: सदाबहार घाउ

दोस्रो युद्धको सबैभन्दा ठूलो र दीर्घकालीन नतिजा भनेको ‘ड्यूरान्ड रेखा’ को निर्धारण हो। सन् १८९३ मा बेलायती विदेश सचिव सर मोर्टिमर ड्यूरान्ड र अमिर अब्दुर रहमान खानबीच यो सीमा सम्झौता भएको थियो। बेलायतले आफ्नो साम्राज्यको सिमानालाई वैज्ञानिक रूपमा सुरक्षित गर्न यो रेखा कोरेको थियो। यसले ‘ब्रिटिस इन्डिया’ र ‘अफगानिस्तान’ को सिमाना छुट्यायो।

यस रेखाले गर्दा अफगानिस्तानले समुद्री मार्ग र रणनीतिक व्यापारिक केन्द्रहरूमाथिको पहुँच गुमायो। ऐतिहासिक रूपमा अफगानिस्तानको प्रभाव र पहुँच अरब सागरसम्म थियो। ड्यूरान्ड रेखाले गर्दा अफगानिस्तानले समुद्रसँगको सबै प्रत्यक्ष सम्पर्क गुमायो।

प्राचीन समयदेखि नै कान्दहार र दक्षिण अफगानिस्तानका व्यापारीहरू कराँची र ग्वादर जस्ता तटीय क्षेत्रहरूसँग सीधा व्यापार गर्थे। ड्यूरान्ड रेखा कोरिएपछि यी क्षेत्रहरू पूर्ण रूपमा ब्रिटिस इन्डियाको कब्जामा गए।

यस रेखाले गर्दा अफगानिस्तानले आफ्नो सामान विदेश निर्यात गर्न वा आयात गर्न छिमेकी राष्ट्र (पहिले ब्रिटिस भारत, अहिले पाकिस्तान) को अनुमति र कर प्रणालीमा भर पर्नुपर्ने अवस्था सिर्जना भयो। यसले अफगानिस्तानको वैदेशिक व्यापारलाई महँगो र राजनीतिक रूपमा असुरक्षित बनाइदियो।

पेशावर ऐतिहासिक रूपमा अफगानिस्तानको ‘हिउँदे राजधानी’ जस्तै थियो। यो मध्य-एशिया र दक्षिण-एशिया जोड्ने सबैभन्दा ठूलो व्यापारिक केन्द्र थियो। ड्यूरान्ड रेखाले पेशावरलाई अफगानिस्तानबाट अलग गरिदिएपछि अफगानिस्तानले आफ्नो सबैभन्दा ठूलो आर्थिक बजार र व्यापारिक नाका गुमायो।

बोलान भञ्ज्याङ (पास) नजिकै रहेको क्वेटा रणनीतिक रूपमा कान्दहार र सिन्ध प्रान्त जोड्ने मुख्य विन्दु थियो। यो क्षेत्र बेलायती नियन्त्रणमा गएपछि अफगानिस्तानको दक्षिण-पूर्वी व्यापारिक नियन्त्रण समाप्त भयो।

चमन क्षेत्र कान्दहारको व्यापारिक गेटवे थियो। ड्यूरान्ड रेखाले चमनलाई ब्रिटिस क्षेत्रमा पारेपछि कान्दहारको फलफूल र ऊन व्यापारमा बेलायती भन्सार र नियन्त्रण हाबी भयो।

व्यापारिक सामान ओसारपसार हुने मुख्य पहाडी मार्गहरूमाथिको एकाधिकार अफगानिस्तानले गुमायो। खैबर भञ्ज्याङ संसारकै सबैभन्दा चर्चित व्यापारिक र सैन्य मार्ग हो। यस मार्गमाथि पूर्ण नियन्त्रण हुँदा अफगानिस्तानले शुल्क उठाउने र व्यापार सञ्चालन गर्ने गर्थ्यो। ड्यूरान्ड रेखापछि यसको पूर्वी भाग र नियन्त्रण बेलायतको हातमा गयो, जसले गर्दा काबुलको अर्थतन्त्रमा सीधा धक्का लाग्यो।

बोलान र गोमल भञ्ज्याङ मार्गहरू मध्य-एशियाली घोडा र कपडा व्यापारका लागि जीवनरेखा थिए। यी नाकाहरू गुमाउँदा अफगानिस्तानको ‘ट्रान्जिट’ राज्यको रूपमा हुने कमाइ शून्य भयो।

पस्तुन घुमन्तेहरू हिउँदमा आफ्ना सामान र जनावर लिएर भारतका मैदानहरूमा व्यापार गर्न आउँथे। ड्यूरान्ड रेखाले उनीहरूको परम्परागत व्यापारिक मार्गमा ‘अन्तर्राष्ट्रिय पर्खाल’ खडा गरिदियो, जसले गर्दा हजारौँ परिवारको जीविकोपार्जन खोसियो।

यो रेखाले एउटै जाति (पस्तुन समुदाय) लाई दुई भागमा विभाजन गरिदियो। आजको पाकिस्तान र अफगानिस्तानबीचको तनावको मुख्य कारण यही रेखा हो। अफगानीहरूले यसलाई १०० वर्षको लागि मात्र गरिएको ‘अस्थायी सम्झौता’ मान्छन् भने पाकिस्तानले यसलाई स्थायी अन्तर्राष्ट्रिय सिमाना मान्दछ।

दोस्रो एङ्ग्लो-अफगान युद्धले बेलायती ढुकुटीको झन्डै २० करोड रुपैयाँ रित्त्याइदियो। आर्थिक रूपमा यो अभियान निकै महँगो थियो, तर भूराजनीतिक रूपमा बेलायतले आफ्नो उद्देश्य पूरा गर्‍यो। रुसी साम्राज्यलाई भारतको सिमानाभन्दा टाढै राखियो र अफगानिस्तानलाई एउटा ‘आश्रित राज्य’ (प्रोटेक्टोरेट) मा परिणत गरियो।

पहिलो एङ्ग्लो-अफगान युद्ध ‘विनाशकारी’ थियो र दोस्रो युद्ध ‘रणनीतिक’ थियो, तर सन् १९१९ को तेस्रो एङ्ग्लो-अफगान युद्ध अफगानिस्तानका लागि आत्मसम्मान र पूर्ण सार्वभौमिकताको अन्तिम लडाइँ बन्यो। बीसौँ शताब्दीको सुरुवातमा विश्वको राजनीति तरङ्गित भइरहेका बेला, हिन्दुकुशका पहाडहरूमा पुनः युद्धको बिगुल गुञ्जियो। यो युद्ध छोटो भए तापनि यसले दशकौँदेखि बेलायती पञ्जामा रहेको अफगानिस्तानको विदेश नीतिलाई मुक्त मात्र गरेन, बरु मध्य-एशियामा बेलायती साम्राज्यको सूर्यास्तको पहिलो सङ्केतसमेत दियो।

राष्ट्रवादको लहर अमानुल्लाह खानको अठोट

सन् १९१९ को सुरुवातमा अफगानिस्तानमा एउटा ठूलो राजनीतिक परिवर्तन आयो। अमिर हबिबुल्लाह खानको रहस्यमय हत्यापछि उनका छोरा अमानुल्लाह खान सत्तामा आए। अमानुल्लाह आफ्ना पिता र बाजेभन्दा फरक विचार राख्ने एक आधुनिक र कट्टर राष्ट्रवादी नेता थिए। उनी अफगानिस्तानलाई केवल आन्तरिक रूपमा मात्र होइन, वैदेशिक रूपमा पनि बेलायती हस्तक्षेपबाट पूर्ण मुक्त गराउन चाहन्थे।

त्यतिबेलाको विश्व परिस्थिति अमानुल्लाहका लागि अनुकूल थियो। भर्खरै प्रथम विश्वयुद्ध सकिएकाले बेलायती साम्राज्य सैन्य र आर्थिक रूपमा थाकेको थियो। छिमेकी भारतमा जलियावाला बाग नरसंहारपछि ब्रिटिस विरोधी भावना चरम उत्कर्षमा थियो। अमानुल्लाहले यही ऐतिहासिक अवसरलाई सदुपयोग गर्ने निर्णय गरे। उनले घोषणा गरे कि अफगानिस्तानले अब आफ्नो विदेश नीति कसैको इसारामा चलाउने छैन। यही घोषणा नै तेस्रो एङ्ग्लो-अफगान युद्धको मुख्य कारण बन्यो।

युद्धको विस्फोट बहुमोर्चाको सङ्घर्ष

३ मे १९१९ मा अफगान सेनाले खैबर भञ्ज्याङ पार गरेर बेलायती भारतको सिमानामा आक्रमण सुरु गर्‍यो। अमानुल्लाहले सिमानाका पस्तुन जनजातिहरूलाई बेलायतविरुद्ध ‘जिहाद’ को आह्वान गरे, जसले गर्दा बेलायती सेनाभित्र रहेका स्थानीय सिपाहीहरूमा विद्रोहको लहर चल्यो।

यो युद्ध तीनवटा मुख्य क्षेत्रमा केन्द्रित थियो। खैबर मोर्चामा सबैभन्दा भीषण लडाइँ भयो, जहाँ बेलायती सेनाले अफगान फौजलाई रोक्न कडा सङ्घर्ष गर्नुपर्‍यो।

वजिरिस्तान मोर्चामा अफगान जनरल नादिर खानले बेलायती सेनालाई ठूलो क्षति पुर्‍याए र थुप्रै रणनीतिक पोस्टहरू कब्जा गरे। त्यस्तै, कान्दहार मोर्चामा पनि दुवै पक्षबीच सन्तुलित तर हिंसक भिडन्तहरू भए। अफगानीहरूको छापामार युद्ध शैलीले आधुनिक बेलायती सेनालाई रक्षात्मक हुन बाध्य बनाएको थियो।

काबुलमा पहिलो हवाई आक्रमण: युद्धको नयाँ रूप

तेस्रो एङ्ग्लो-अफगान युद्ध सैन्य इतिहासमा एउटा नयाँ प्रविधिको प्रयोगका लागि पनि चिनिन्छ। बेलायतले इतिहासमा पहिलोपटक अफगानिस्तानमा हवाई शक्तिको प्रयोग गर्‍यो। २४ मे १९१९ मा बेलायती ‘ह्यान्डली पेज’ बमवर्षक विमानहरू काबुलको आकाशमा देखा परे। उनीहरूले अमिरको दरबार र सैन्य अड्डालाई लक्षित गरी बम खसाले।

यो हवाई हमलाले सैन्य रूपमा भन्दा पनि मनोवैज्ञानिक रूपमा ठूलो प्रभाव पार्‍यो। काबुलका नागरिकहरूका लागि आकाशबाट आगो वर्षिनु एउटा अनौठो र त्रासदीपूर्ण घटना थियो। यद्यपि यी विमानहरूले युद्धको नतिजा पूर्ण रूपमा बदल्न सकेनन्, तर यसले अमानुल्लाह खानलाई वार्ताको टेबुलमा आउन र युद्ध अन्त्य गर्न दबाब दियो। बेलायत पनि भारतमा बढ्दो अशान्ति र आफ्नै घरेलु समस्याका कारण युद्ध लम्ब्याउन चाहँदैनथ्यो।

रावलपिण्डीको सन्धि स्वतन्त्रताको उत्सव

युद्ध सुरु भएको झन्डै एक महिनापछि दुवै पक्ष युद्धविरामका लागि सहमत भए। ८ अगस्ट १९१९ मा रावलपिण्डी (हालको पाकिस्तान) मा एउटा ऐतिहासिक सन्धि भयो, जसलाई ‘रावलपिण्डीको सन्धि’ भनिन्छ। यो सन्धिले पहिलो र दोस्रो युद्धका सबै पुराना सम्झौताहरूलाई खारेज गरिदियो।

यस सन्धिको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भनेको बेलायतले अफगानिस्तानलाई एक पूर्ण सार्वभौम र स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिनु थियो। अफगानिस्तानले अब विश्वका कुनै पनि देशसँग सीधा कूटनीतिक र व्यापारिक सम्बन्ध गाँस्न पाउने अधिकार प्राप्त गर्‍यो। यसको बदलामा बेलायतले दिँदै आएको वार्षिक अनुदान रोक्का भयो, तर अफगानीहरूका लागि पैसाभन्दा ठूलो कुरा आफ्नो स्वतन्त्रता थियो। त्यसैले अगस्ट १९ लाई आज पनि अफगानिस्तानले आफ्नो स्वतन्त्रता दिवसको रूपमा मनाउने गर्दछ।

अनि जन्मियो आधुनिक अफगानिस्तान 

यस युद्धले दक्षिण एशियाको राजनीतिक मानचित्रलाई सदाका लागि बदलिदियो। बेलायती साम्राज्य अब पहिले जस्तो ‘अजेय’ रहेन भन्ने सन्देश विश्वभरि फैलियो। यसले भारतको स्वतन्त्रता आन्दोलनलाई थप ऊर्जा प्रदान गर्‍यो। अमानुल्लाह खानले स्वतन्त्रतापछि अफगानिस्तानमा व्यापक आधुनिक सुधारहरू जस्तै: महिला शिक्षा, नयाँ संविधान र प्रशासनिक पुनर्संरचना सुरु गर्ने साहस गरे।

भूराजनीतिक रूपमा, बेलायतको नियन्त्रणबाट मुक्त भएपछि अफगानिस्तानले तुरुन्तै सोभियत युनियनसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्‍यो। यसले मध्य-एशियामा नयाँ शक्ति सन्तुलन सिर्जना गर्‍यो। तेस्रो एङ्ग्लो-अफगान युद्धले यो प्रमाणित गरिदियो कि एउटा सानो तर दृढ राष्ट्रले विश्वको महाशक्तिलाई पनि घुँडा टेक्न बाध्य बनाउन सक्छ। आजको स्वतन्त्र र सङ्घर्षशील अफगानिस्तानको जग सन् १९१९ को यही रगतले भिजेको विजयमा अडिएको छ।

एङ्ग्लो-अफगान युद्धहरू केवल विगतका सैन्य भिडन्त मात्र थिएनन्, बरु ती आधुनिक दक्षिण र मध्य-एशियाको राजनीति, सिमाना र द्वन्द्वको आधारशिला हुन्। १९औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको सुरुवातमा हिन्दुकुशका पहाडहरूमा बगेको रगतले आजको विश्व भूराजनीतिलाई एउटा यस्तो आकार दिएको छ, जसको प्रभावबाट यो क्षेत्र अझै मुक्त हुन सकेको छैन। यी युद्धहरूले विश्वका महाशक्तिहरूलाई भूगोलको कठिन पाठ मात्र सिकाएनन्, बरु कहिल्यै निको नहुने राजनीतिक र सामाजिक घाउहरू पनि छोडेर गए।

साम्राज्यहरूको चिहान: भूगोल स्वतन्त्रताको अपराजेय शक्ति

यी युद्धहरूले विश्व इतिहासमा अफगानिस्तानलाई ‘साम्राज्यहरूको चिहान’ भन्ने एउटा अमिट उपनाम दिलाए। बेलायती साम्राज्य, जुन त्यतिबेला विश्वकै सबैभन्दा शक्तिशाली सैन्य र आर्थिक शक्ति थियो, उसले समेत अफगानिस्तानको कठोर भूगोल र त्यहाँका मानिसहरूको स्वतन्त्रताप्रतिको अदम्य मोहलाई दबाउन सकेन।

पहिलो एङ्ग्लो-अफगान युद्धमा १६ हजारभन्दा बढीको फौज एकजनाबाहेक सबै सखाप हुनु र तेस्रो युद्धमा हवाई हमला गर्दा पनि अफगानीहरूले आत्मसमर्पण नगर्नुले के प्रमाणित गर्छ भने, सैन्य प्रविधिले जमिन त कब्जा गर्न सकिन्छ, तर मानिसको आत्मालाई जित्न सकिँदैन।

अफगानिस्तानको पहाडी बनावट, दुर्गम गल्छीहरू र त्यहाँका प्रत्येक नागरिकमा रहेको ‘विदेशीलाई स्वीकार नगर्ने’ जन्मजात स्वभावले विश्वका ठूला सेनाहरूलाई सधैँ पराजित तुल्यायो। बेलायतले झन्डै ८० वर्षको प्रयासमा पनि अफगानिस्तानलाई भारतजस्तो आफ्नो उपनिवेश बनाउन नसक्नु नै अफगानी वीरताको सबैभन्दा ठूलो प्रमाण हो। यो ऐतिहासिक तथ्यले पछिल्लो समयमा सोभियत सङ्घ र संयुक्त राज्य अमेरिका जस्ता महाशक्तिहरूलाई पनि उस्तै नियति भोग्न बाध्य बनायो।

ड्यूरान्ड रेखा: एउटा कोरिएको सिमाना विभाजित पहिचान

दोस्रो एङ्ग्लो-अफगान युद्धको सबैभन्दा विवादास्पद र कष्टकर नतिजा भनेको सन् १८९३ मा कोरिएको ‘ड्यूरान्ड रेखा’ हो। तत्कालीन बेलायती विदेश सचिव सर मोर्टिमर ड्यूरान्ड र अमिर अब्दुर रहमान खानबीच भएको यो सम्झौताले अफगानिस्तान र ब्रिटिस भारत (हालको पाकिस्तान) को सिमाना त तय गर्‍यो, तर यसले एउटै रगत र संस्कृति भएका पस्तुन समुदायलाई दुई भागमा चिरा पारिदियो। यो रेखा कोर्दा न त भूगोलको ख्याल गरियो, न त त्यहाँ बसोबास गर्ने मानिसहरूको भावनाको।

आज झन्डै सवा सय वर्ष बितिसक्दा पनि ड्यूरान्ड रेखा पाकिस्तान र अफगानिस्तानबीचको सबैभन्दा ठूलो तनावको केन्द्र बनेको छ। अफगानिस्तानका कुनै पनि शासकले यसलाई आधिकारिक सिमानाको रूपमा पूर्ण हृदयले स्वीकार गरेका छैनन्। यसले सिर्जना गरेको भौगोलिक र मानवीय विभाजनले गर्दा यो क्षेत्र आज पनि उग्रवाद र अस्थिरताको अखडा बनिरहेको छ। आफ्नो पुर्ख्यौली थलोबाट काटिनुको पीडाले पस्तुन राष्ट्रवादलाई मात्र बलियो बनाएन, बरु यसले दुई छिमेकी देशबीच कहिल्यै विश्वासको वातावरण बन्न दिएन।

ग्रेट गेमको निरन्तरता: रुसीअमेरिकी शक्ति सन्तुलन

१९औँ शताब्दीमा बेलायत र रुसबीच सुरु भएको ‘द ग्रेट गेम’ (The Great Game) वास्तवमा कहिल्यै सकिएन। यसको स्वरूप मात्र परिवर्तन भयो। बेलायती साम्राज्यले रुसी प्रभाव रोक्न अफगानिस्तानमा जे-जति लगानी र सैन्य कारबाही गर्‍यो, त्यसको आधुनिक प्रतिध्वनि हामीले सन् १९७९ को सोभियत आक्रमण र सन् २०२१ को अमेरिकी नेतृत्वको सैन्य अभियानमा प्रष्ट देख्न सक्छौँ। मध्य-एशियाको प्राकृतिक स्रोत र रणनीतिक मार्गमाथि नियन्त्रण जमाउने महाशक्तिहरूको भोकले अफगानिस्तानलाई सधैँ युद्धको मैदान बनाइराख्यो।

शीतयुद्धको समयमा अमेरिकाले सोभियत सङ्घलाई रोक्न अफगानिस्तानलाई प्रयोग गर्नु र पछि आफैँ त्यही जालमा फस्नु एङ्ग्लो-अफगान युद्धकै रणनीतिक निरन्तरता हो। ‘ग्रेट गेम’ को यो आधुनिक रूपले के देखाउँछ भने, बाह्य शक्तिहरूले आफ्नो स्वार्थका लागि अफगानिस्तानलाई ‘बफर स्टेट’ बनाउन खोज्दा त्यहाँको आन्तरिक शान्ति सधैँ बलि चढेको छ। साम्राज्यहरू बदलिए, हतियारहरू बदलिए, तर अफगानिस्तानलाई आफ्नो प्रभावमा राख्ने महाशक्तिहरूको होडबाजीले यस क्षेत्रको राजनीतिलाई सधैँ अस्थिर बनाइराख्यो।

इतिहासले सिकाएको कठोर सत्य

एङ्ग्लो-अफगान युद्धहरूको समग्र इतिहासलाई फर्केर हेर्दा एउटा कठोर सत्य सतहमा आउँछ। सैन्य शक्तिले कुनै पनि देशको नक्सा बदल्न त सक्छ, तर त्यहाँका मानिसहरूको विचार र स्वतन्त्रताको चाहनालाई कदापि बदल्न सक्दैन। बेलायती साम्राज्यले आफ्नो शक्तिको चरम उत्कर्षमा रहँदा, जब उसको राज्यमा ‘घाम कहिल्यै अस्ताउँदैन’ भनिन्थ्यो, त्यतिबेला पनि उसले अफगानिस्तानलाई आफ्नो उपनिवेश बनाउन सकेन। यो अफगानीहरूको केवल सैन्य सफलता मात्र होइन, यो त उनीहरूको पहिचान र स्वाभिमानको विजय थियो।

अन्ततः, यी युद्धहरूले विश्वलाई सिकाएको पाठ यो हो कि कुनै पनि बाह्य हस्तक्षेपले स्थानीय भावना र भूगोललाई जित्न सक्दैन। आजको अफगानिस्तान र यस क्षेत्रको भूराजनीतिलाई बुझ्नका लागि यी तीनवटा युद्धका घाउहरू र तिनले कोरेका रेखाहरूलाई बुझ्न अनिवार्य छ। साम्राज्यहरू आउँछन् र जान्छन्, तर स्वतन्त्रताको मोह र भूगोलको शक्ति सधैँ अटल रहन्छ भन्ने कुराको साक्षी हिन्दुकुशका पहाडहरूले दिइरहेका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कञ्चन

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?