Comments Add Comment

पुलिस शीर्ष ६ मा पर्ने पक्का, यस्तो रह्यो लिगमा प्रदर्शन

१ फागुन, काठमाडौं । जुमानु राईले राष्ट्रिय टिमबाट खेल्न छाडेका ५ वर्ष बितिसक्यो । २०१५ मा घरेलु मैदानमा साफ खेलेयता उनले राष्ट्रिय टिममा पर्न सकेनन् ।

उनीसंगै त्यही टिममा खेलेका सन्तोष साहुखल पनि जापानतिर लागे । राष्ट्रिय टिममा फर्केनन् । राष्ट्रिय टिममा संगै खेलेका मध्ये अनिल गुरुङले भने केही समय पछिसम्म राष्ट्रिय टिममा खेले अनी सन्यास लिए ।

जुमानु र सन्तोषले सन्यास लिएका छैनन् । संयोगवश यी तीन खेलाडी शहीद स्मारक लिगमा यस सिजन खेलिरहेका छन् । च्यासल युथ क्लबबाट खेलेका सन्तवष साहुखलले ७ गोल गरेका छन् उनी सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन् । अनीलले गोल गर्न सकेका छैनन् ।

जुमानु राईले यस सिजन लिगमा पुलिसको अन्तिम खेलमा ह्याट्रिक गरे । फ्रेण्ड्स क्लबविरुद्ध बिहीबार भएको खेलमा उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ३ गोल गरे । हेमन्त श्रेष्ठको स्थानमा ४६ औं मिनेटमा मैदान प्रवेश गरेका जुमानुले ४९ औं मिनेटमा पहिलो गोल गरे ।

त्यसपछि ५६ औं र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यस सिजन उनी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यसअघि थ्री स्टारका सन्जोग राईले सरस्वती युथ क्लबविरुद्ध ह्याट्रिक गरेका थिए ।

यस सिजन पहिलो खेलमा हिमालयन शेर्पाविरुद्ध कप्तानी गर्दै पहिलो रोजाईमा खेले पनि त्यसपछि जुमानु पहिलो रोजाईमा परेका थिएनन् । अन्तिम खेलमा पनि उनी बेन्चमा थिए । तर दोस्रो हाफमा मैदान प्रवेश गर्न पाए  र ३ गोल ठोके ।

जुमानुको ह्याट्रिकमै पुलिसले फ्रेण्ड्सलाई ३-० ले पराजित गर्द लिगमै सुखद अन्त्य गरेको छ । पहिलो खेलमा हिमालयन शेर्पासंग गोलरहित बराबरी खेल्दै लिग शुरु गरेको पुलिसले पहिलो जितका लागि तेस्रो खेल कुर्नुपरेको थियो । दोस्रो खेलमा थ्री स्टारसँग १-० ले पराजित भएको पुलिसले तेस्रो खेलमा सरस्वती क्लबविरुद्ध २-० को जित हात पारेको थियो ।

पुलिसले यस सिजन १३ खेल खेल्दा ६ खेलमा जित हात पार्‍यो भने २ खेल बराबरी खेलेको थियो  । बाँकी ५ खेलमा भने पुलिस पराजित भयो ।

१३ खेलबाट २० अंक जोडेको पुलिस पाँचौ स्थानमा उक्लेको छ । शीर्ष ६ मा स्थान पक्का गरेको पुलिसले अन्तिम खेलमा जाउलाखेल क्लब मनाङ मर्स्याङ्दीसँग पराजित भए पाँचौ स्थानमै रहनेछ । पुलिसले लिगको शुरुवातमा पहिलो लक्ष्य शीर्ष ६ नै बनाएको थियो । लिगको बीचमा राम्रो प्रदर्शन हुँदा पुलिसले अझै अगाडि पुग्ने सोचेको थियो तर एकरुपको प्रदर्शन हुन नसक्दा पुलिसले केही अंक गुमाउन पुग्यो ।

२०६० बाट ए डिभिजन लिग खेल्न शुरु गरेको पुलिस शुरुवाती दुई सिजन उपविजेता भएको थियो । २०६२ सालमा चौथो भएको पुलसले २०६३ सालमा पहिलो पटक लिग उपधि जित्यो । त्यसपछि लिग प्रतियोगिता भएन । २०६६ मा फेरि लिग शुरु भएपछि पुलिसले लगातार दुई सिजन लिग जित्यो । त्यसयता भने पुलिसको प्रदर्शन खस्कियो २०६९ सालमा आठौं भएको पुलिस ७० सालमा तेस्रो भयो । ५ वर्षपछि गत सिजन लिग हुँदा पुलिस छैटौं भएको थियो ।

फ्रेण्ड्सको मिश्रित नतिजा

लिगमा लगातार तीन हारसहित शुरुवात गरेको ललितपुरको फ्रेण्ड्सले त्यसपछि पुनरागमन गर्‍यो । चौथो चरणमा साविक विजेता मनाङलाई १-१ ले रोकेको फ्रेण्ड्सले अर्को चरणमा हिमायन शर्पासंग गोलरहित बराबरी खेल्यो भने छैटौं चरणमा ललितपुरे डर्बीमा थ्री स्टारलाई हराउँदै लिगमा पहिलो जित हासिल गर्‍यो । त्यसपछि फ्रेण्ड्सले सरस्वती युथ क्लब, च्यासल युथ क्लब र एनआरटीलाई हरायो ।

फ्रेण्ड्सले यस सिजन समग्रमा ४ खेल जित्दा २ खेल बराबरी खेल्यो भने ७ खेलमा हार ब्यहोर्‍यो । ब्राजिलियन प्रशिक्षक मार्कुस डान्तस र ३ ब्राजिलयन खेलाडी भित्र्याएको फ्रेण्ड्सले शुरुवाती खेलमा तालमेल नमिल्दा लगातार हार ब्यहोरेको थियो । शीर्ष ६ मा पर्ने लक्ष्य बनाए पनि एकैनाशको प्रदर्शन गर्न नसक्दा फ्रेण्ड्स शीर्ष १० मा परेको छ १३ खेलबाट १४ अंक जोड्दै दशौँ स्थानमा छ ।

यस वर्षको लिगमा पुलिस क्लबको प्रदर्शन

पुलिसविरुद्ध हिमालयन शेर्पा ०-०

पुलिसविरुद्ध  थ्री स्टार ०-१

पुलिसविरुद्ध सरस्वती २-०

पुलिसविरुद्ध संकटा २-१

पुलिसविरुद्ध च्यासल २-२

पुलिसविरुद्ध एनआरटी ०-१

पुलिसविरुद्ध जावलाखेल २-०

पुलिसविरुद्ध मछिन्द्र ०-१

पुलिसविरुद्ध एपीएफ १-०

पुलिसविरुद्ध आर्मी २-४

पुलिसविरुद्ध ब्रिगेड १-०

पुलिसविरुद्ध मनाङ ०-२

पुलिसविरुद्ध फ्रेण्ड्स ३-०

(६ जित, २ बराबरी, ५ हार)

फ्रेण्ड्सको प्रदर्शन

फ्रेण्ड्सविरुद्ध आर्मी १-२

फ्रेण्ड्सविरुद्ध ब्रिगेड ०-२

फ्रेण्ड्सविरुद्ध मछिन्द्र ०-३

फ्रेण्ड्सविरुद्ध मनाङ १-१

फ्रेण्ड्सविरुद्ध हिमालयन ०-०

फ्रेण्ड्सविरुद्ध थ्री स्टार १-०

फ्रेण्ड्सविरुद्ध सरस्वती ४-१

फ्रेण्ड्सविरुद्ध संकटा ०-१

फ्रेण्ड्सविरुद्ध च्यासल १-०

फ्रेण्ड्सविरुद्ध एनआरटी २-०

फ्रेण्ड्सविरुद्ध जावलाखेल ०-१

फ्रेण्ड्सविरुद्ध एपीएफ २-५

फ्रेण्ड्सविरुद्ध पुलिस ०-३

(४ जित, २ बराबरी, ७ हार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment