Comments Add Comment
युद्धको संस्मरण :

त्यसपछि हामीले गाउँ छाड्यौं

रोल्पाको जेल्बाङ । बा खाडीको लाहुरदेखि फर्किसकेका थिए । तर, सधैंका लागि होइन, केही दिनका लागि छुट्टी मिलाएर । बा विदेशदेखि गाउँ फर्किएका बेला देशमा जनयुद्ध उत्तराद्र्धमा पुगेको थियो ।

साँझ खाना खाइसकेपछि अँगेनामा बसेर आगो ताप्दै थियौं । बा गफगाफको परिधिभन्दा बाहिर मौनतामा गए । एकछिन सबैको अनुहार राम्रोसँग नियाले । त्यसपछि अचानक बोले, ‘अब गाउँ छोड्नुपर्छ । यहाँ बस्नु उचित छैन । म विदेश फर्किहाल्नुपर्छ, तिमीहरुलाई तलमाथि भयो भने के गर्छौ ?’

यसै पनि गाउँका बालकहरु निर्दोष, चञ्चल र लजालु प्रकृतिका हुन्छन् । सायद म पनि त्यस्तै थिएँ हुँला । बा’कै काखमा लडिबुडी गर्दै थिएँ । मलाई थाहा थिएन बा’ले किन गाउँ छोड्ने भने ? गाउँ छोडेर कहाँ जाने ? यो गाउँभन्दा पर पनि अर्को गाउँ छ ?

बा’ले अकस्मात गाउँ छोड्ने कुरा गरेपछि आबै (आमा) सुसुक्काउन थालिन् । गाउँमा जम्मा १०/१२ घर । त्यसमाथि २/३ घर तलमाथि गर्‍यो भनेमात्रै पनि माइत र घर सजिलै गर्न सकिने । उनको मनले कहाँ मान्दो हो र ? त्यो उमेरमा आइपुगेर सबै जिज छाडेर सहर झर्नु ?

मलाई लाग्छ, त्यो दिन आधा रातसम्म बा र आमाबीच गहिरो संवाद भएको थियो । टेकेको जमिनबारे, हुर्केको जीवनबारे, देखेको संसारबारे र भोगिरहेको नियतिबारे ।

आमामात्रै होइन, बा पनि रोएथे होलान् । तर, उनलाई आँसु देखाउनु कहाँ थियो र ? उनी त हाम्रो सुरक्षित गुँडको खोजीमा उडान भर्ने सपना देखिरहेका थिए ।

यो कुरा २०५८/०५९ सालको हो । जतिबेला जनयुद्ध सुख्खा जंगलमा आगो जसरी फैलिइसकेको थियो । आगोले कहाँ जीवन चिन्छ र ? उसको धर्मै त बल्नु हो, जलाउनु हो । निभाउने कोही भएनन् भने सकेसम्म धेरै जलाउँछ ।

०००

बाजेको हातमा अहिले पनि रेडियो छुट्दैन । अहिले पनि आफूलाई रेडियोमै भुलाइरहन्छन् । त्यतिबेला उनी कालापार (भारत) गएर एउटा राम्रो रेडियो लिएर आएका थिए । उनको रेडियोले प्रत्येक घन्टा लासको संख्या सुनाउँथ्यो, ‘…. भिडन्तमा… जनाको मृत्यु । राज्यतर्फबाट यति, विद्रोही पक्षका त्यति..।’

त्यो बालसुलभ मस्तिष्कमा मृत्युको दर्शन के थाहा ? भिडन्तको मतलब के थाहा ? तर, बाजेसँगै बसेर त्यसरी समाचार सुन्न पनि मजा आउँथ्यो । गाउँमा महिला, केटाकेटी र वृद्धमात्रै हुन्थ्यौं । मन लागेर भए पनि, नलागेर भए पनि तिनै बाजेको रेडियोसँगै उनीसँग खेल्नुको विकल्प पनि त थिएन हामीसँग ।

थाहा थिएन, त्यतिबेला उमेर पुगेका दाइ, दिदी कता थिए ? सोच्थें, मान्छे पहिले बच्चा हुन्छ, त्यसपछि सीधै वृद्ध हुन्छ । त्यसपछि मर्छ । किनकि मैले देखेकै परिस्थिति नै त त्यस्तै थियो ।

गाउँमा रातो रुमाल बाँधेर ‘काका’हरु आउँथे । हातमा ल्याक्टो चक्लेट र कोकनट बिस्कुट थमाइदिन्थे । पसलै नभएको त्यो गाउँमा त्यसरी कोही आएर चकलेट र बिस्कुट दिएपछि हामी केटाकेटीलाई अरु के चाहियो ! उनीहरुसँग छिट्टै घुलमिल हुन्थ्यौं ।

तर, अचम्मको कुरा, उनीहरु सधैं साँझमा आउँथे, आमाले खाना पकाइदिन्थिन् । र, बिहान म नबिउँझदै उनीहरु गायब भइसकेका हुन्थे ।

यो क्रम दोहोरिरहन्थ्यो ।

मलाई त्यसरी चकलेट ल्याइदिने ती काकाहरु मन पथ्र्यो । लाग्थ्यो–सधैं आइदिए हुने । वाह ! सधैं चकलेट, सधैं बिस्कुट !

एक साँझ मामाको घरबाट ठूलो मुस्लोसहित उज्यालो प्रकाश आयो ।

गाउँका महिला र बुढा बाजेबज्यैहरु चिच्याउँदै त्यतातर्फ लागे । म पनि आमाको पछिपछि लागें । घर दनदनी जलेर खरानी भइरहेको थियो । टाढाबाट जर्किनमा ल्याएको पानीले के निभोस् त्यत्रो आगो ! तर, पनि मानिसहरु ‘दुष्प्रयास’ गरिरहेकै थिए ।

मान्छेमा आशाको त्यान्द्रो बाँकी रहिरनु पनि कति गजब हुँदोरहेछ ।

मामाको घर जलेर खरानी भएको २ दिनपछि थाहा पाएँ – घर सेनाले जलाइदिएका रहेछन् । सेना अर्थात् तत्कालीन १० वर्षे जनयुद्धका राज्य पक्ष ।

पहिलोपटक नचिनेरै मलाई सेनाप्रति घृणा लाग्यो । देखें भने गुलेलीले हिर्काएर भाग्छु भन्ने आँट आयो । तर, मैले चिनेको थिइनँ । आखिर कस्तो हुन्छ सेना ? बाघजस्तो ? भालुजस्तो ? स्यालजस्तो ? वा घरमाथि पालिएको भोटे कुकुरजस्तो ?

जस्तो भए पनि गुलेली हान्छु भन्ने आँट आएको थियो मनमा । तर, आँट आएका बेला उनीहरु गाउँ आएनन् ।

त्यसपछि मामाको घर जलेजस्तै गाउँमा धेरैको घर जल्यो । गाउँमा आफन्त रगताम्य हुने गरी कुटिन्थे र लुटिन्थे । र, यो सब गरिरहेको थियो त्यही सेनाले । सेनाहरु हावा जसरी गाउँ छिर्थे, सिमलको भुवाजस्तो खुसी र चैनलाई उडाएर लैजान्थे ।

आफन्तका आँखामा आँसु देखेपछि प्रत्येक पटक सेनालाई मट्यांग्राले हान्छु भन्ने आँट आउँथ्यो । तर, सदाझैं प्रत्येक पटक आँट आएका बेला उनीहरुलाई भेट्दिनँ थिएँ ।

त्यतिबेला मलाई मन पर्ने अर्को कुरा मसाल जुलुस थियो ।

गाउँमा बचेखुचेका केटाकेटी, महिला र वृद्धवृद्धा गाउँमाथिको डाँडामा उक्लेर नारासहित ‘जिन्दावाद… मुर्दावाद…’ भन्थ्यौं । लस्करै आगो समातेर त्यसरी नारा लगाउँदा एक त त्यसको प्रकाशले अँध्यारोमा पनि प्रष्ट उज्यालो हुन्थ्यो । अर्को, त्यसको संगीत । सबैले एकै स्वरमा त्यसरी नारा लगाउँदा मीठो धुन संगीत बन्थ्यो ।

त्यो धुन अहिले पनि बेस्मारी सम्झिन्छु ।

मलाई लाग्थ्यो, यो मान्छेको जीवनै यस्तै हो । किनकि म जनयुद्धको समयमा जन्मिएँ र जनयुद्धसँगै हुर्किएँ । खेल्न, उफ्रिन थाहा छैन । स्कुल, कक्षा थाहा छैन । भाँडाकुटी र मेलापात थाहा छैन । आकाशमा हेलिकोप्टर आयो भने आमाहरु लुक्न जाओ भन्थे, हामी खुर्रर्रर्र दौडेर ठूलो रुखमुनि जान्थ्यौं । तर, त्यो गर्दा पनि मलाई आनन्द आउँथ्यो ।

कुनै कुरा थाहा पाउनुभन्दा थाहा नपाउनु बेश हुँदोरहेछ । जनयुद्ध मलाई त्यस्तै भयो ।

आकाश गर्जिएजस्तो बम बारुद दिनदिनै गर्जन्थ्यो । बम बारुदको ठूल्ठूलो आवाज आएका बेला दिदी र आमाहरु डरले थुरथुर काँप्थे । तर, मलाई त्यही आवाजसँग प्रेम बसिसकेको थियो । कुनै दिन कतैबाट आवाज आएन भने आमालाई सोध्थें, ‘आबै आज के दिन हो र, उनीहरुले बाजा नबजाएका ?’

आमालाई नाजवाफ घुरेर हेरिरहनुहुन्थ्यो ।

गाउँमा मलाई आनन्द थियो । रातो रुमाल बाँधेर आउनेहरुले चक्लेट र बिस्कुट दिने, उनीहरु हाम्रो घरमा आएका बेला मिठोमिठो खाना खान पाउने । हेलिकोप्टरको आवाजले लुक्न जाने । साँझमा आगो समाएर मसाल जुलुसमा घाँटी सुकुञ्जेल जिन्दावाद…मुर्दावाद… भन्ने । र, त्यसपछि राति ठूला विष्फोटक आवाज सुनेर निदाउने । म अभ्यस्त भइसकेको थिएँ त्यो समयसँग ।

तर, ठीक त्यहीबेला बा फेरि विदेशदेखि टुप्लुक्क आइपुगे ।

अहिलेजस्तो विदेशबाट घर फर्किंदा क्षणभरमा खबर गरेर आउने त्यो समय थिएन । जसरी आए पनि टुप्लुक्क नै हुन्थ्यो । अकस्मात हुन्थ्यो । बा पनि त्यसरी नै अकस्मात, टुप्लुक्क घर आए । र, भन्न थाले– ‘गाउँ सुरक्षित छैन । अब यहाँदेखि तराई झर्नुपर्छ । को आएर कतिबेला मार्छन्, थाहै छैन ।’

बा पहिलोपटक एकदम क्रुर लाग्यो ।

गाउँमा साथीसंगी थिए । मशाल जुलुस थियो । स्कुल जानु पर्दैनथ्यो । प्रत्येक दिन कसै न कसैको घर जल्थ्यो र म गुलेली समाएर पुगेकै हुन्थें । रातो रुमाल बाँध्ने काकाहरुको टोली आइरहेकै हुन्थ्यो । मैले चकलेट र बिस्कुट पाइरहेकै थिएँ । साँझमा गड्याङगुडुङको आवाजसँग मितेरी गाँसिसकेको थिएँ ।

तर, गाउँ छाडेपछि यी सब छोडेर जानुपर्ने भयो ।

बाले भनेको सहरमा यो सबै पाउँछ त ? मनले मनलाई नै प्रश्न गरिरहेको थियो । गाउँ छोड्न मन थिएन ।

तर, सहर पनि नपुगी भएको थिएन ।

०००

दिन बित्दै सहर झर्ने दिन आयो । गाउँदेखि एक दिनको बाटो हिँडेर सुलिचौर बजार आइपुग्यौं ।

त्यो दिन जिन्दगीमा पहिलोपटक गाडी देखें । त्यही गाडी पछाडि बसेर दाङमा साइँला मामाको घर जाँदा बाटोमा कम्तिमा २२ ठाउँमा सेनाले चेक गरेको थियो ।

त्यहीबेला हो सेनालाई पहिलो पटक नजिकबाट देखेको । मट््यांग्रा र गुलेली नल्याएकोमा छुकछुक लागिरह्यो । देखें, उनीहरु पनि मान्छे नै त रहेछन् । अनि किन जलाएको मेरो गाउँका घरहरु ? किन पिटेको गाउँलेलाई त्यसरी ?

उत्तर मसँग थिएन ।

०००

देशमा शान्ति सम्झौता भइसकेपछि थाहा पाएँ– हामी युद्धबाट विस्थापित भएका रहेछौं । हाम्रो गाविसबाट ७३ जनाले जनयुद्धमा ज्यान गुमाएका रहेछन् । गाउँका ४६० घरमध्ये ४५२ घरमा लुटपाट भएको रहेछ । मामाको घरजस्तै अरु १४ वटा घर जलेर खरानी भएका रहेछन् । र, २६ जना गाउँले सेनाको यातनाबाट अपांग र अंगभंग भएछन् । र, यो तथ्याङ्क देशकै पहिलो स्थानमा आउँदो रहेछ ।

त्यतिबेला हामी गाउँ छोड्दै गर्दा हामीसँग गाडीभरि अरु पनि थिए । मलाई लागेको थियो, उनीहरु रहरले शहर छिर्दैछन् । तर, म गलत रहेछु – त्यो त रहेछ बाध्यताको एउटा अन्तिम उपाय ।

बाँँच्ने लालसाले सहर पठाएको रहेछ । विदेश उडाएको रहेछ । जनयुद्धताका विस्थापित भएर यतिधेरै जेल्बाङेहरु दाङ झरे कि अहिले घोराही उपमहानगरको एउटा वडा नै उनीहरुका नाममा छ ।

जनयुद्धदेखि सुरु भएको गाउँ छोड्ने र विदेश भास्सिने प्रक्रिया अझै सकिएको छैन । विकासका नाममा जेल्बाङ अझै पनि उस्तै र उही छ ।

गाउँलेहरु अझै पुरानै दिनचर्यामा जिजीविषा खोजिरहेछन् । परिवर्तन के भएछ ?

यतिबेला ‘इ–रिक्सा’ चलाइरहेका एक पूर्वजनमुक्ति सेनाले रुँदै मलाई भनेको सम्झन्छु, ‘जनयुद्ध बेठीक थिएन । तर, हाम्रा ‘कमान्डर कामरेड’हरु आफू पतन भए । र, दोषजति हाम्रो टाउकोमा थुपारिदिएका छन् । अहिले सपनामा पनि सहिदहरु हामीलाई नै चिथोर्न आउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment