+

युरोपा लिग : सेमिफाइनल पहिलो लेगमा युनाइटेड र टोटनहमको सहज जित

२०८२ वैशाख  १९ गते ९:२८ २०८२ वैशाख १९ गते ९:२८
युरोपा लिग : सेमिफाइनल पहिलो लेगमा युनाइटेड र टोटनहमको सहज जित

१९ वैशाख, काठमाडौं । युरोपा लिग अन्तर्गत सेमिफाइनल पहिलो लेगमा दुई इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र टोटनहमले सहज जित हात पारेका छन् ।

ब्रनो फर्नान्डेजको दुई गोल मद्दतमा युनाइटेडले स्पानिस क्लब एथ्लेटिक विल्वाओलाई ३-० ले पराजित गरेको हो । युनाइटेडका लागि कासेमिरोले एक गोल गरे ।

कासेमिरोले ३०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

३५औं मिनेटमा डानी भिभिएनले रातो कार्ड सामना गरेपछि विल्वाओ दश खेलाडीमा समेटियो ।

त्यसको फाइदा उठाउँदै युनाइटेडले पहिलो हाफमै दुई गोल थप्यो । ब्रुनो फर्नान्डेजले ३७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । ब्रुनोले ४५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले अग्रता तेब्बर पार्‍यो ।

दोस्रो हाफमा भने युनाइटेडले गोल गर्न सकेन ।

अब मे ८ मा हुने घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने दोस्रो लेगमा युनाइटेडलाई सहज हुनेछ ।

यस्तै अर्को सेमिफाइनलमा टोटनहमले नर्वेजियन क्लब बोडो ग्लिम्टलाई ३-१ ले हरायो ।

घरेलु मैदानमा टोटनहमका लागि ब्रेनान जोनसनले पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । जेम्स म्याडिसनले ३४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

डोमिनिक सोलान्कले ६१औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि टोटनहमले ३-० को अग्रता बनाएको थियो । बोडो ग्लिम्टका लागि युरिक साल्टनेसले ८३औं मिनेटमा एक गोल फर्काए ।

अब दोस्रो लेग ८ मे मा बोडो ग्लिम्टको मैदानमा हुनेछ ।

युरोपा लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय