Comments Add Comment

२८ वर्षमा चार हजार एक सय घन्टा उड्यो सेनाको ‘एल्लोइड थर्ड’ हेलिकोप्टर

१ फागुन, काठमाडौं । नेपाली सेनाको ‘एल्लोइड थर्ड’ हेलिकोप्टरले २८ वर्षमा ४ हजार १ सय २१ घन्टा उडान गरेको छ । यो अवधिमा ९ हजार ७ सय ५२ पटक ल्याण्डिङ गरेको छ । अन्तिम पटक २ चैत २०७५ मा होलिकोप्टरले उडान भरेको थियो ।

करिब एक वर्षदेखि प्रयोगविहीन भएपछि बुधबार सेनाले अध्ययन प्रायोजनका लागि उक्त हेलिकोप्टर पुल्चोक इञ्जिनियरिङ क्याम्पसलाई हस्तान्तरण गरेको छ ।

जंगीअड्डाका सम्भाररथी प्रभुराम शर्माले सेवाअवधि पुरा भएको हेलिकोप्टर ‘एरोस्पेस’ इञ्जिनियरिङ अध्ययन तथा तालिम प्रायोजनका लागि हस्तान्तरण गरेका हुन् ।

फ्रान्समा बनेको यो हेलिकोप्टर २३ जेठ २०४७ देखि नेपाली सेनाले प्रयोग गर्दै आएको थियो । यो ‘सिंगल इञ्जिन’ हेलिकोप्टर हो भने भारत, पाकिस्तान, बंगलादेश, फ्रान्स, इराक लगायतका देशका सैनिकले पनि यो हेलिकोप्टर प्रयोग गर्छन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै उपरथी शर्माले प्रधानसेनापति पूर्णचन्द्र थापाको कमाण्ड मार्ग निर्देशनअनुसार देशको शैक्षिक क्षेत्रमा समेत सहयोग पुर्‍याउन सेना तयार रहेको बताएका थिए ।

नेपालमा पहिलो पटक सञ्चालक भएको एरोस्पेस इञ्जिनियरिङ अध्ययनमा व्यवहारिक ज्ञानका लागि हेलिकोप्टर सहयोगी हुने विश्वास उनले व्यक्त गरे ।

सेनामा विमान अझै अपर्याप्त

हाल सेनासँग १३ हेलिकप्टर र ६ वटा जहाज छन् । तीमध्ये ५ हेलिकप्टर र ४ वटा जहाज मात्रै सञ्चालनमा छन् । सेनाले विपद् उद्दार र अति विशिष्ट पदाधिकारीको सुरक्षाका लागि विमानको प्रयोग गर्दै आएको छ ।

सेनाले यही वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिका लागि भनेर अगुस्टा वेस्टल्यान्ड हेलिकप्टर र सीएन २३५–२२० विमान ल्याएको थियो । तर, अझै विमान अपुग भएको सैनिक अधिकृतहरु बताउँछन् ।

सेनाले हवाइ सेवा विस्तार गर्दै हरेक प्रदेशमा एयर वेस सञ्चालन गर्ने लक्ष्य राखेको छ । हाल पश्चिम एयर वेस सुर्खेतमा र मध्यएयर वेस काठमाडौंमा सञ्चालनमा छन् । पूर्व एयरवेस इटहरी वा विराटनगरमा स्थापनामा गर्ने सेनाको योजना छ । यद्यपि, जग्गा प्राप्त भइनसकेकाले टुंगो लाग्न नसकेको जनाइएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले तयार पारेको आर्मी भिजन २०२० मा एयरवेश पिच्छे ५ वटा हवाई साधन राख्ने लक्ष्य लिइएको छ । सेनाको हेलिकप्टर गृह मन्त्रालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै अन्य अत्यावश्यक अवस्थामा प्रयोग हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment