Comments Add Comment

रुपन्देहीको गैडहवा तालमा पर्यटन महोत्सव सुरु

ताललाई लुम्बिनीसँग जोड्न मुख्यमन्त्रीको सुझाव

१ फागुन, बुटवल । रुपन्देहीको गैडहवा ताल परिसरमा प्रथम पर्यटन तथा कृषि महोत्सव सुरु भएको छ । महोत्सवको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे ।

महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले रुपन्देहीको सबैभन्दा ठूलो गैडहवा ताललाई बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर पर्यटन विकास गर्नुपर्ने सुझाव दिए । गैडहवा तालमा पर्यटन विकासको प्रशस्त सम्भावना रहेको औंल्याउँदै उनले तालको दीगो संरक्षण गर्न र ताल क्षेत्रलाई फराकिलो सडकले जोड्न आग्रह गरे ।

ताल वरिपरि निर्माण गर्न थालिएको साढे तीन किलोमिटर सडकलाई १२ मिटर चौडाईको बनाउन सुझाव दिंदै मुख्यमन्त्री पोखरेलले सो सडकको कालोपत्रे प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाए । लुम्बिनी र तिलौराकोटको बीच भागमा पर्ने ताल क्षेत्रमा बुद्धकी पत्नी यशोधराको विशाल प्रतिमूर्ति सहितको पार्क बनाउने योजना ल्याउन गाउँपालिकालाई सुझाव दिंदै मुख्यमन्त्रीले पार्क बनाउन पनि प्रदेश सरकारले वजेट दिने प्रतिवद्धता जनाए ।

‘गैडहवा तालले ठूलो संभावना बोकेको छ, यसलाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन फराकिलो सडकले लुम्बिनीसँग जोड्नसक्नुपर्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘पर्यटकलाई आकर्षित गर्न सडकलाई फराकिलो र धुलोरहित बनाउनुस् ।’

तालको क्षेत्रफल र जलाशय नघटाई पूर्वाधार बनाउन सुझाव दिंदै मुख्यमन्त्रीले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकलाई गैडहवा तालसम्म आकर्षित गर्न ताल क्षेत्रमा स्तरीय होटल र रिसोर्टमा लगानी गर्न सुझाए ।

गाउँपालिकाले ताल आसपासमा तीन–चार सय बिघा जग्गा व्यवस्थापन गर्नसके प्रदेश सरकारले बैशाखमा गर्ने लगानी सम्मेलनबाट होटेल तथा रिसोर्टमा लगानी भित्रिने उनले बताए । पर्यटकलाई मनोरञ्जन दिन र आकर्षित गर्न स्थानीय समुदायको मौलिक कला संस्कृतिलाई संरक्षण गर्दै पस्कन र ताल क्षेत्रमा नील गाई संरक्षण केन्द्र बनाउन पनि मुख्यमन्त्रीले सुझाव दिए ।

रुपन्देही ५ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले गैडहवा तालको पर्यटन विकासका लागि संघीय सरकारले ४१ करोड रुपैयाँको गुरुयोजना बनाएको र चालु आर्थिक वर्षमा ४० लाख वजेट विनियोजन भएको बताए । आन्तरिक र वाह्य पर्यटकलाई तालसम्म आउने सडकको पहुँच बढाउन सडकका योजनालाई प्राथमिकतामा राखेको उनले बताए ।

गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्षको अवसर पारेर ताल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पहिलोपटक ताल महोत्सव आयोजना गरिएको बताए ।

तालको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले ३० लाख बजेट छुट्टाएर महोत्सव आयोजना गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने बताए ।

महोत्सव उद्घाटनमा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, प्रदेश सभा सदस्य फखरुद्दिन खान,सन्तोष पाण्डे, भूमिश्वर ढकाल, विष्णु पोखरेल र मोहम्मद इस्लामले गैडहवा ताललाई प्रदेश ५ कै नमूना पर्यटकीय स्थल र रुपन्देहीको ‘फेवा ताल’ बनाउन सकिने भन्दै स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वयमा काम गर्न सुझाव दिए ।

दश दिन भन्दा बढी चल्ने महोत्सवमा एक लाख दर्शकलाई अवलोकन गराउने र एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबारको लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment