Comments Add Comment

अन्तर्जातीय बिहे गरेकी युवतीको जबर्जस्ती गर्भपतन, जनप्रतिनिधिविरुद्ध किटानी उजुरी

२ फागुन, काठमाडौं । आजका पत्रिकाहरुले वर्तमान सरकारको २ वर्षे कार्यकाल र चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षालाई प्राथमिकता दिएका छन् ।

साथै बालुवाटार जग्गा प्रकरणमा गृह मन्त्रालयले प्रहरीमा किटानी जाहेरी दिएको र पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि भ्रष्टाचारको विषयमा छानबिन गर्न संसदीय समितिले सुझाव दिएको विषयले पनि प्राथमिकता पाएको छ ।

केन्द्र सरकारको विकास खर्च सात महिनामा १९ प्रतिशत र प्रदेशको १६ प्रतिशत रहेको विषयलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले अन्तर्जातीय बिहे गरेकी एक युवतीको जबर्जस्ती गर्भपतन गराइएको पाँचथरको समाचारलाई पनि पहिलो पृष्ठमा समेटेको छ ।

पाँचथरको कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाका रमेश खड्काकी श्रीमती सीना नेपालीको गर्भपतन गराइएको हो । यसमा श्रीमान् रमेशससहित परिवारका सदस्य मात्रै होइन, जनप्रतिनिधि नै मुछिएको समाचारमा उल्लेख छ । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा जबर्जस्ती गर्भपात गराइएको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएको छ । ‘पीडितले २२ माघमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको भोलिपल्टैदेखि अध्यक्ष चेम्जोङ भने फरार छन्,’ नयाँपत्रिकाले लेखेको छ ।

कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षे कार्यकालको समीक्षा गर्दै समाचारको मुख्य हेडलाइन राखेको छ– अर्थतन्त्रमा अलमल । ‘तथ्यांक केलाउँदा अर्थतन्त्रको मुहार दुई वर्षअघिझैं निकै चुनौतीपूर्ण अवस्थामै छ । बजार सुस्तै छ । निजी क्षेत्रमा आत्मविश्वासको कमी यथावत छ,’ कान्तिपुर लेख्छ, ‘तथ्यांकका आधारमा मूल्यांकन हुने अर्थतन्त्रका चार क्षेत्र– वास्तविक, सरकारी वित्त, बाह्य र मौद्रिक क्षेत्रको प्रगति सामान्य छ ।’

कान्तिपुरले तेस्रो पृष्ठमा कांग्रेस उपसभापति विजयकुमार गच्छारसहित १७२ जनामाथि ठगी र किर्ते मुद्दामा अनुसन्धान गर्न गृहमन्त्रालयले प्रहरीमा जाहेरी दिएको समाचारलाई स्थान दिएको छ । गृहको जाहेरीसँगै सीआईबीको कसूरदार देखाइएकाहरुलाई पक्राउ गरेर अनुसन्धान थाल्न बाटो खुलेको छ ।

यो जाहेरीमाथि केही दिनभित्रै अदालतको आदेश लिएर अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले जनाएको छ ।

सीआईबीकै अनुसन्धान प्रतिवेदनसमेतको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोपमा गच्छदारसहितका व्यक्तिहरुमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

नागरिक दैनिकले पनि सरकारको दुई वर्षे कार्यकालको समीक्षा गर्दै सरकार–पार्टी सम्बन्धमा उतारचढाव आएको विषय उठाएको छ । साथै सरकारप्रति जनताका अपेक्षा धेरै भए पनि सरकारको काम गर्ने गति सुस्त रहेको समाचारमा उल्लेख छ ।

राजधानी दैनिकका अनुसार मुलुकको पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न ठेक्काको उचित व्यवस्थापन र अनुगमन हुन नसक्दा राज्यकोषको साढे २९ अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकका विभिन्न भागमा गरेको रुग्ण ठेक्काको अध्ययन–विश्लेषणले विकास आयोजनाको ठेक्का व्यवस्थापन भद्रगोल बन्न पुगेको निष्कर्ष निकालेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोष्ट दैनिकले चिनियाँ पर्यटक निर्बाध रुपमा नेपाल भित्रिइरहेको समाचार छापेको छ । कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम भने नरोकिएको समाचारमा उल्लेख छ । विमान कम्पनीका सञ्चालकहरुका अनुसार सातामा एक सय जना चिनियाँ नेपाल भित्रिइरहेका छन् ।

नेपाल समाचारपत्र दैनिकले नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानबिन गर्न राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको गठित कार्यदलले सिफारिस गरेको समाचार लेखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment