+
+
Shares

माननीयज्यू, स्वस्थानी च्यात्ने चेष्टा नगरौं !

महिलामुक्तिको वाधक नै श्रीस्वस्थानी हो त ?

चिरञ्जीवी पौडेल चिरञ्जीवी पौडेल
२०७६ फागुन २ गते ११:२७

श्रीस्वस्थानी व्रत केही दिनअघि समापन भयो । तर, यसमाथि बहसको नयाँ श्रृंखला भर्खरै आरम्भ भएको छ सामाजिक सञ्जालमा । सत्तारुढ दलकी एक माननीयले संसदभित्र ‘स्वस्थानीका पानाहरु च्यात्नुपर्ने’ अभिव्यक्ति दिएसँगै यो बहस उब्जेको हो ।

त्यसो त हरेक वर्ष स्वस्थानी व्रतकथा सुरु भएपछि महिलावादी कोणबाट फुटकर टिप्पणी तथा आलेखहरु सञ्चारमाध्यममा आउने गर्छन् नै । तर, तिनीहरुले जनमतलाई खासै प्रभावित पार्न सकेको पाइँदैन । यसपटक सत्तारुढ महिला सांसदबाट संसदभित्रै आवाज उठेकाले बढी तरंग देखिएको हुनसक्छ ।

मंगलबार प्रतिनिधिसभा वैठकको शून्य समयमा बोल्दै सांसद हुन् यसोदा सुवेदी (गुरुङ) ले स्वस्थानीको विरोध गरेकी थिइन् । ब्राह्मण परिवारमा जन्मेकी भए पनि जनजाति कोटाबाट समानुपातिक सांसद बनेकी नेतृ हुन् उनी । तत्कालीन माओवादी नेता देव गुरुङसँग बिहे गरेर जनजाति सुविधा उपभोग गरे पनि उनी श्रीमानको थर प्रयोग गर्न त्यति रुचाउँदिनन् ।

खैर, यो भयो उनको व्यक्तिगत मामला । अब मुद्दामै आउँ ।

यसोदाले  सांसदमा वाचन गरेको लिखित मन्तव्यको एउटा अंश यस्तो थियो :

‘…छाउ संस्कार भत्काउन सरकार, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज सबैको संयुक्त प्रयासमा सशक्त अभियानको खाँचो छ, जसले धार्मिक अन्धविश्वास भत्काउन सकोस्… छाउजस्तो परम्परा र संस्कारलाई मजबुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमी व्रतकथाका पानाहरु च्यात्न सकोस् । ’

सुवेदीले विगतदेखि नै संसदभित्र खासगरी लैंगिक विभेदका मुद्दाहरुमा निकै सक्रियता देखाउँदै आएकी छिन् । कसैले लेखिदिएको भाषणलाई विषयको चुरो नबुझिकन अज्ञानतामै बाचन गरेकी अवश्य होइनन् उनले । तर, विषयको संवेदनशीलता भने उनले ख्याल नराखेको देखिन्छ । धर्मसँग जोडिएका विवादले समाजमा छिटो उत्तेजना सिर्जना गर्न सक्छन् । त्यसैले जिम्मेवार व्यक्तिहरुले यसमा सतकर्ता अपनाउनुपर्छ । यसमा सुवेदी चुकेकी छन् ।  ‘स्वस्थानी कथाले छाउ संस्कारलाई मजबुत पारेको’ भन्ने उनको तर्क एकातर्फ हचुवा छ भने अर्कोतर्फ ‘स्वस्थानीका पानाहरु च्यात्ने अभियान चलाउनुपर्ने’ भन्ने माग आपत्तिजनक छ ।

माननीयले जति सहजरुपमा ‘स्वास्थानीका पानाहरु च्यात्नुपर्ने’ आवाज उठाइन्, त्यति सजिलो कुरा होइन यो । स्वस्थानी एउटा पौराणिक कथासंग्रह मात्र नभएर लाखौं नेपालीहरुको श्रद्धा र आस्था गाँसिएको पवित्र ग्रन्थ हो । नेपालका ग्रामिण क्षेत्रमा मात्र होइन, शहरभित्र शिक्षित/सम्भ्रान्त परिवारमा पनि उत्तिकै चाख लिएर स्वस्थानी पढिन्छ । स्वस्थानी व्रत नेपाली संस्कृतिकै एक अंगजस्तो बनेको छ । त्यसैले कुनै विद्यार्थीले आफ्नो होमवर्क कपी च्यातेजसरी स्वस्थानी किताब च्यात्न सम्भव छैन ।

हो, स्वास्थानी कथा अहिलेको समाज र सामाजिक चेतनाअनुकुल नहोला । लैंगिक दृष्टिकोणबाट कमि–कमजोरी भेटिएला । तर, यो कुनै संविधान वा कानून त होइन । न सरकारले अनिवार्य गरेको कुनै पाठ्यपुस्तक हो । २१ औं शताब्दीको चेतनाको जगमा स्वस्थानी लेखिएको पनि होइन । त्यसैले यसभित्रका एकाध प्रसंग र संवादहरुलाई उछालेर महिलाविरोधी वा पितृसत्तावादी भन्दै निन्दा गर्नु भनेको आफैंलाई मूर्ख बनाउनु मात्रै हो । सयौं वर्ष अगाडि लेखिएको धार्मिक ग्रन्थलाई त्यस कालखण्डको चेतनाको आलोकमा हेरिनुपर्छ ।

के हो श्रीस्वस्थानी ?

शाब्दिक अर्थमा ‘स्वस्थानी’ लाई ‘आफू बसेको स्थानकी देवी’ भनेर बुझिन्छ । श्रीस्वस्थानीका विषयमा केही दिनअघि अनलाइनखबरमा अमेरिकी सोधकर्ता जेसिका भेन्टिन बिर्कन्होल्जको अन्तरवार्ता प्रकाशित भएको थियो । उनी स्वस्थानीलाई हिन्दू धर्मकी रहस्यात्मक देवीका रुपमा चित्रित गर्छिन् ।

उनी भन्छिन्, ‘स्वस्थानी देवी एक जटिल चरित्र हुन् र अन्य धार्मिक महिला पात्रहरुभन्दा फरक छिन् । अरु देवीभन्दा फरक, उनका साथमा कुनै खास पुरुष पात्र देखिँदैनन् ।’

स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी कमल र सिंहासनमा बस्ने, चार हात भएकी देवीको रुपमा चित्रित गरिएको छ । स्वस्थानी देवीका चार हातमध्ये पहिलोमा निलकमल, दोस्रोमा खड्ग तेस्रोमा ढाल र चांैथो हातमा वरदमुद्रा भएको पुराणमा उल्लेख छ ।

नेपालमा आएर तीन वर्ष स्वस्थानीका विषयमा सोध गरेकी जेसिकाको भनाइमा यो कथा सुरुमा नेवारी भाषामा र पछि नेपालीमा लेखिएको हो । उनकाअनुसार स्वस्थानी व्रत परम्परा सुरु भएपछिका दुई सय वर्षसम्म गोमा, चन्द्रवती, नवराज र स्वस्थानी देवीको कथा मात्रै यसमा थियो । पछि तीन भाग थप गरिए । पहिलो शिव–पार्वतीको कथा, दोस्रो, मधु–कैटभको वध र समस्त सृष्टिको कथा तथा तेस्रो कामदेव, वृन्दा लगायत अन्य पात्रको कथा । अहिले हामीले पढ्ने गरेको स्वस्थानी मूलरुपमा भगवान शिवमाथि केन्द्रित छ ।

हिन्दू धर्मग्रन्थको कुरा गर्दा सबैभन्दा प्रख्यात हुन्, रामायण र महाभारत । रामायणले त्रेता युगका भगवान रामको र महाभारतले द्वापरयुगका भगवान कृष्णको कथा भन्छन् । श्रीस्वस्थानीमा चाहिँ सत्ययुगको वर्णन छ ।

महादेव र सतिदेवीको विवाह, अग्नीकुण्डमा सतिदेवीको आत्मदाह, पत्नीको मृत शरीर बोकेर शिवको परिभ्रमण, पार्वतीको रुपमा सतिदेवीको रुपमा पुनर्जन्म र पुनः महादेवसित विवाह स्वस्थानीको मुलकथा हो । साथमा थुप्रै उपकथाहरु छन् । खासगरी, बालिका गोमाको वृद्ध शिव शर्मासँगको विवाहको प्रसंग निकै मर्मश्पर्शी छ ।

स्वस्थानीमा संग्रहित कथाहरु कति वास्तविक र कति काल्पनिक हुन् भन्ने बहसकै विषय हो । आस्तिक मानिसहरुले स्वस्थानी कथामा विश्वास गर्छन् । अरुले काल्पनिक मान्छन् । जे भए पनि सबैले स्वस्थानी कथा चाख लिएर पढ्छन् र सुन्छन् ।

स्वस्थानी कथामा धेरै प्रसंगहरु छन् जुन अहिलेको भौतिकवादी दुनियाँमा असम्भव र हास्यास्पद मानिन्छन् । भगवान विष्णु निदाएका बेला उनको कानबाट मधु र कैटभ राक्षस उत्पत्ति भएका, पार्वतीको मयलबाट गणेश जन्मेको, दक्षप्रजापतिका शरीरमा महादेवले बोकाको टाउको जोडिदिएको जस्ता प्रसंगहरु पत्यारिला छैनन् । तर, जसले भगवानको अनन्त शक्तिमा विश्वास गर्छन्, उनीहरुले पत्याउँछन् । जसरी नपत्याउन पाइन्छ, त्यसैगरि पत्याउन पनि पाइन्छ ।

व्रत परम्परा

१६ औं शताब्दीपछि नेपालमा स्वस्थानी कथाहरु प्रकाशित हुन थालेको र त्यससँगै व्रत बस्ने सिलसिला सुरु भएको पाइन्छ । निश्चित मनोकामनाका साथ विभिन्न नियमभित्र बसेर स्वस्थानी देवीको आराधना गर्नु नै स्वस्थानी व्रत हो ।

स्वस्थानीको व्रत बस्दा मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ । प्रायः महिलाहरुले व्रत लिने भए पनि कतिपय पुरुषहरु पनि स्वस्थानी व्रत लिने गर्छन् । यो व्रतका निश्चित तौरतरिकाहरु छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने प्रचलन परम्परादेखि रहिआएको छ ।

सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी भगवान विष्णुको सुझावअनुसार स्वस्थानीको व्रत बसेको सन्दर्भ स्वस्थानी व्रतकथामै उल्लेख छ । यसैगरी गोमा ब्राम्हणीले सप्तऋषीले सिकाएको व्रतविधिअनुसार ब्रत बस्दा उनका छोरा नवराज लावण्यदेशको राजा भएको वर्णन पनि गरिएको छ । लावण्य देश हाल काठमाडौंको साँखु क्षेत्रमा पर्ने विश्वास गरिन्छ । त्यही भएर अहिले स्वस्थानीका व्रतालुहरु साँखुस्थित शालीनदीमा स्नान गर्ने गर्छन् । त्यहाँ व्रत अवधिभर मेला पनि लाग्ने गर्छ ।

स्वस्थानी व्रतमा शरिर र मनको सुद्धतामा जोड दिइएको हुन्छ । दैनिक स्नान गर्नुपर्ने, सुद्ध–सफा पहिरन लगाउनुपर्ने, एक छाक मात्र सात्विक भोजन गर्नुपर्ने, भुईमा सुत्नुपर्ने र हरेक बेलुकी स्वस्थानी व्रतकथा वाचन एवं श्रवण गर्नुपर्ने नियम स्वस्थानीमा वर्णित छन् । यो क्रम पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्छ । यस अवधिमा महिला/पुरुषले शरीरका कुनै पनि अंगको रौं काट्नु नहुने, कसैसँग झगडा गर्न नहुने, मिठो बोलिवचन गर्नुपर्ने लगायत नियमहरु पनि छन् ।

व्रत समापनको दिनलाई साङ्गे भनिन्छ । यस दिन नित्य कथावाचन समाप्त गरी विशेष पूजा गरिन्छ । पुजापछि १०८ पटक परिक्रमा गरी दण्डवत् ढोग गर्नुपर्छ ।

स्वस्थानी व्रत परम्परा नेपालबाहेक हिन्दूहरुको उपस्थिति रहेका अन्य राष्ट्रमा खासै पाइँदैन । कथामा वर्णन गरिएका साली नदी र श्लेशमान्तक बन अनि, सतिदेवीको अंगपतन गरेका शक्तिपिठहरु धेरै नेपालमा भएकाले पनि नेपालीका लागि स्वस्थानी विशेष महत्वको बन्न गएको हो ।

विश्वास र अविश्वास

फेरि मुद्दामा फर्किउँ । पछिल्लो समयमा केही महिलावादीहरुले स्वस्थानीलाई नेपाली महिलामुक्तिकै वाधक जसरी चित्रण गर्न थालेका छन् । स्वस्थानीमा उल्लेखित केही सन्दर्भलाई लिएर उनीहरु यस ग्रन्थको विद्रुपिकरण गर्न उद्यत छन् ।

उनीहरुको दावी छ– ७ वर्षकी गोमा र ८० वर्षका शिव शर्मा ब्राम्हणको विवाह प्रसंगले बालविवाहलाई प्रोत्साहित गर्छ । भेष बदलेर भगवान विष्णुले बृन्दाको सतित्व हरण गरेको घटनाले महिला हिंसालाई बढावा दिन्छ । पिताले श्रीमानको निन्दा गर्दा सतिदेवीद्वारा आत्मदाह गरेको घटनाले महिलालाई कमजोर बनाउँछ । साथै, अहिले सामाजिक सञ्जालमा स्वस्थानीका केही पंक्तिलाई रातो घेरा लगाएर भाइरल बनाउने काम भइरहेको छ ।

माथि उल्लेखित प्रसंगहरु स्वस्थानीमा कसरी प्रस्तुत गरिएका छन् भन्ने पक्ष यहाँ विचारणीय हून्छ । गोमा ब्राम्हणी र शिव शर्मा ब्राम्हणको विवाहलाई भगवान शिवले दिएको एउटा श्रापको दुखद परिणामका रुपमा चित्रित गरिएको छ । यो कथा पढेर कुनै बाबुआमा आफ्नी बालिका छोरी कुनै वृद्धलाई सुम्पिन प्रोत्साहित होलान् त ?

पत्नीको पतिवता धर्मले गर्दा शक्तिशाली बनेका दैत्य जालन्धरलाई बध गर्न भगवान विष्णुले छल गर्छन् । जालन्धरको भेष धारण गरेर बृन्दाको सतित्व हरण गर्ने उनको कदम गलत नै हो भन्ने भाव कथामा प्रष्ट झल्किन्छ । आफूमाथि छल भएको थाहा पाएपछि वृन्दाले विष्णु भगवानलाई नै बन्धक बनाउँछिन् । अर्थात्, गलत काम गर्दा भगवानले पनि एक सामान्य महिलाबाट दण्डित हुनुपर्दोरहेछ भन्ने पाठ सिक्न सकिन्छ ।

आफ्ना पिताले श्रीमानको अपमान गरेको सहन नसकेर सतिदेवीले आत्मदाह गर्छिन् । यो घटनाले कुनै पनि विवाहित स्त्रीको मनोभाव एवं पतिप्रेमको गहिराईलाई दर्शाउँछ । एउटी विवाहिता स्त्रीले आफ्नै बुवाको मुखबाट किन नहोस, श्रीमानको अपमान सहन सक्दिनन् भन्ने यसको पाठ हो ।

अनि, अहिले भाइरल बनाइएका जो पंतिहरु छन्, तिनीहरु नै स्वस्थानीका मूलमन्त्र हुन् त ? पक्कै होइनन् । ती गोमा ब्राह्मणीले एउटा खास प्रसंगमा बोलेका संवादहरु मात्र हुन् जसले उनको चेतनास्तरलाई अभिव्यक्त गर्छ ।

स्वस्थानीले महिनावारीलाई प्रवद्र्धन गरेको वा छाउप्रथालाई बढावा दिएको माननीयको आरोप छ । त्यो पनि सत्य होइन । महिलाहरुले महिनाबारीका बेला आफ्नो सरसफाई, सुद्धता र आराममा ध्यान दिनुपर्ने भाव मात्र स्वस्थानीमा पाइन्छ । यस्तो भाव अरु धर्मग्रन्थमा पनि भेटिन्छन् । जस्तो कि क्रिश्चियनको ग्रन्थ बाइबलले महिनाबारीको रक्तस्रावलाई असुद्ध मानेको छ ।

बाइबलमा भनिएको छ, ‘जब एक महिलाको नियमित रक्त प्रवाह हुन्छ, उनको मासिक चक्रको असुद्धता सात दिन कायम रहन्छ । र, उनलाई छुने व्यक्ति बेलुकासम्म असुद्ध हुन्छ । महिनावारीका क्रममा उनले सुत्ने र बस्ने हरेक कुराहरु असुद्ध हुन्छन् ।’

यस्ता कुरा धर्मग्रन्थहरुमा हुनु स्वाभाविक किन छ भने यी ग्रन्थहरु आज लेखिएका होइनन् । आज विज्ञानले महिनावारीको रक्तस्रावलाई अपवित्र मान्दैन । त्यसअनुसार समाजमा क्रमिक परिवर्तन आइरहेको छ । नेपाली समाजमा आजभन्दा २० वर्ष अगाडि महिनावारी बार्न जुन कडाई थियो, त्यो अहिले छैन । शहरी क्षेत्रमा त धेरै खुकुलो भइसकेको छ । स्वस्थानी पढ्ने महिलाले नै महिनाबारी हुँदा भान्सामा पसेर खाना पकाउन हिच्किचाउँदिनन् । बालविवाहको दर आजभन्दा ५० वर्ष अगाडि कति थियो र आज कति छ लेखाजोखा गरौं ।

त्यसउसले, सामाजिक जागरण वा महिला मुक्तीका लागि स्वस्थानीलाई बाधक देख्नु क्रान्तिकारीहरुको दृष्टिभ्रम मात्र हो ।

बरु स्वस्थानीभित्र बोधगम्य कुराहरु धेरै छन् । भगवान गणेशले ब्रम्हाण्डको सयर गरेर आउन भन्दा आफ्नै पितामाताको परिक्रमा गरेको कथाबाट बाबुआमा ब्रम्हाण्डभन्दा ठूला हुन् भन्ने सन्देश ग्रहण सकिन्छ । छोरा राजा र बुहारी रानी भएपछि गोमाले राजपाटको सम्पूर्ण जिम्मा बुहारीलाई लडाउँदै ढुकुटीको साँचो सुम्पिन्छिन् । यसले युवापुस्तालाई नेतृत्व हस्तान्तरणको अर्थमा बुझ्न सकिन्छ । पत्नीको मृत शरीरलाई सम्पूर्ण अंग पतन नहुञ्जेलसम्म काँधमा बोकेर भौंतारिने भगवान शिवलाई समस्त सृष्टीकै नमूना प्रेमी मान्न सकिन्छ ।

आज नेपाली समाज भ्यालेन्टाइन डेको रौनकमा डुबिरहेको छ । पश्चिमा संस्कृतिलाई यसरी अंगाल्नुभन्दा हाम्रो आफ्नै धर्मग्रन्थका ‘महादेव र सतिदेवी वा शिव पार्वतीलाई प्रेमको प्रतिक मान्दा हुँदैन ?

विवादित विषयहरु अन्य धर्मग्रन्थमा पनि पर्याप्त भेटिन्छन् । क्रिश्चियनहरुको ग्रन्थ बाइबलमा समलिंगी सम्वन्ध राख्नेलाई हत्या गर्नुपर्ने भनिएको छ, जुन अहिलेको समयमा आपत्तिजनक लाग्छ । यतिसम्म कि बाबुछोरीका पवित्र सम्वन्धलाई नै धमिल्याउने खालका सन्देशहरु पनि बाइबलमा फेला परेका छन् । बाइबलले दासत्वलाई अनुमति दिएको, नोकरहरुलाई पिटेर तह लगाउनुपर्ने मान्यता राखेको र युद्धको समयमा महिला बन्दीहरुलाई बलात्कार गर्न, पुरुषलाई बहुविवाह गर्न छुट दिएको विषयमा एकाध बुद्धिजिवीहरुले टिप्पणी गरेको भेटिन्छ । तर, कुनै क्रिश्चियन धर्माबलम्बीले यस्ता कुरालाई उछालेर रडाको मच्चाएको पाइँदैन ।

धर्म र माओवादी

जनयुद्धकालमा माओवादीले हिन्दू धर्मविरोधी अभियान नै चलायो । संस्कृतका किताबहरु जलाइए । मृत्यूपछि काजक्रिया गर्न पनि रोक लगाइयो । दशैंमा टीका बहिस्कार गरियो । प्रख्यात पुराणवाचक नारायण पोखरेलको हत्या भयो ।

तर, माओवादीको त्यो उग्रवादी तुजुक अहिले लगभग समाप्त भइसकेको छ । हिजो नारायणप्रसाद पोखरेलको हत्या गर्ने पार्टीका कमाण्डर प्रचण्डकी छोरी रेणु दाहाल चितवनमा क्रिकेट रंगशालाका लागि सहयोग जुटाउन आयोजित महायज्ञमा उत्साहसाथ सहभागी भइन् । संयोगले त्यहाँ पुराणवाचक थिए, नारायणप्रसाद पोखरेलकै छोरा दिनबन्धु । संस्कृतविरोधि आन्दोलनमा सहभागी माओवादी नेताहरु नै पछि संस्कृत बचाउ अभियानमा संलग्न भएका  उदाहरण छन् । धेरैजसो पूर्वमाओवादी नेताहरुले दशैंमा टीका टाँस्न थालिसकेका छन् ।

तर, अझै पनि केही पूर्वमाओवादीमा पुरानो धङधङी बाँकी छ । यशोदाको अभिव्यक्ति त्यसैको द्योतक हो । जतिसक्दो छिटो यो धङधङीबाट ब्यूँझिनुपर्छ उनले । च्यात्ने, जलाउने, ध्वस्त गर्ने, सिध्याउने कुरा गर्न शभ्य समाजमा सुहाउँदा पनि सुहाउँदैन ।

स्वास्थानी कथाभित्रका राम्रा कुराहरुलाई ग्रहण गर्ने र बाँकीलाई नजरअन्दाज गर्ने स्वतन्त्रता हरेक नेपालीमा छ ।  यो नेपाली हिन्दूहरुको मौलिक ग्रन्थ हो । यसको जर्गेना र संरक्षण हुनुपर्छ । स्वस्थानीमा बर्णन गरिएका देशभित्र रहेका स्थानहरुलाई पवित्र भूमिका रुपमा संरक्षण गर्दै धार्मिक पर्यटक आकर्षित गर्ने अवसर अझै पनि हामीसित छ ।

लेखक
चिरञ्जीवी पौडेल

पौडेल अनलाइनखबर डटकमका पूर्व एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?