Comments Add Comment

‘देशभरि घुमिराखेको छु, जनता कहीँ पनि खुशी देखिँदैनन्’

सरकार आफ्नो तर्फबाट राम्रो काम गर्न अगाडि नबढेको भन्न मिल्दैन । संघीय गणतन्त्र कार्यान्वयन गर्न आवश्यक थुप्रै कानून बनाउन आवश्यक थियो । त्यो नहुँदा संविधानिक संकट आउन सक्थ्यो । कानूनहरू बनाउने कुरामा सरकारले राम्रो गर्‍यो । एकसय भन्दा बढी कानून बनाएर सरकारले संविधान कार्यान्वयनमा सहज वातावरण बनाएको छ ।

छिमेकीहरूको सम्बन्धलाई सहजीकरण गर्ने र नेपालको विकास प्रयासमा उनीहरूका सहयोग जुटाउने कुरा धेरै महत्वपूर्ण थियो । किनभने, विगतमा सम्बन्ध अलिकति बिग्रिएको स्थिति थियो । त्यसमा पनि सरकारले राम्रो भूमिका खेल्यो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सफल तथा ऐतिहासिक भ्रमण र त्यसमा महत्वपूर्ण समझदारी भए । बिराटनगरस्थित भारतीय कार्यालय हट्नु, पेट्रोलियम पाइपलाइन जस्ता कुरामा पनि सरकारले राम्रो काम गर्‍यो ।

ठूला परियोजनातर्फ विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन भए । लगानीको वातावरण बनाउने प्रयास भएको छ । राम्रो काम भएकोमा शंका छैन । सरकारलाई नम्बर दिनु पर्दा हामी उत्तीर्ण छौं ।

तर, यति हुँदाहुँदै पनि जनता सन्तुष्ट देखिँदैनन् । एउटा त नयाँ संरचना भएको हुनाले यसलाई कसरी क्रियाशील बनाउने भन्ने कुरा छ । पहिलाजस्तो पञ्चायत गयो, बहुदल आयो भनेजस्तो होइन अहिले । संघीय, प्रादेशिक र स्थानीय सरकारहरू छन् । त्यसलाई पनि व्यवस्थापन गर्न सरकारले राम्रो काम गरेकै छ । यी सबै राम्रा कामका बावजुद जनता कहीँ पनि खुशी भएको देखिँदैन ।

म त देशभरि घुमिराखेको छु । स्थानीय तहले, प्रदेशले र संघले लगाएको करले ढाड भाँच्चियो भन्ने जनताका गुनासा छन् ।

व्यवसायीहरू लगानी गर्नुभन्दा पनि अब के गर्ने भनेर टाउकोमा हात राखेर बसेका छन् । उहाँहरूसँग त मैले प्रत्यक्ष अन्तरक्रिया गरेको छु । कोही पनि खुशीजस्तो देखिँदैनन् ।

ठूला विमानस्थल, द्रुतमार्ग, रेल बनाउने कुरा धेरै राम्रो हो । तर, हामीले ठूला कुरा गरिरहँदा स-साना खाल्डो पुरिएको नदेख्दा जनतालाई रीस उठेको छ । धुँवा, धुलो, खाल्डो, प्रदूषण छ । मान्छे बिरामी परेका छन्, मरेका छन् ।

अब जनताले गुनासो गरिरहेका स-साना कुरामा पनि हाम्रो ध्यान जानुपर्छ भनेर हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकमा पनि यसको समीक्षा गरिएको छ । प्रधानमन्त्री स्वयंले पनि अस्ति गल्ती कमजोरी छन् भने हामी आलोचना सुन्न तयार छौं भन्नुभयो । देशभरिको अनुभव केन्द्रित गरेपछि हामी यस्तो समीक्षामा पुगेका हौं ।

(अनलाइनखबरसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment