+
+
Shares

प्रतिपक्षीय भूमिका कमजोर भएको कांग्रेसको स्वीकारोक्ति

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते २०:००

४ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिपक्षीय भूमिका कमजोर भएको स्वीकार गरेको छ ।

सरकारको २ वर्षे समिक्षाबारे पार्टीको धारणा सार्वजनिक गर्दै कांग्रेसले ‘पास मार्क’समेत दिन नसक्ने बताएको छ ।

पार्टीले शालीन र जिम्मेवार प्रतिपक्षी भूमिका निर्वाह गरेको गरेको तर प्रतिपक्ष कमजोर भएको आलोचना खेप्नुपरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता शर्माले भने, ‘दुई बर्षको अवधिमा हामी कमजोर भएको आलोचना ब्यहोर्न तयार भयौं ।’

‘जिम्मेवार प्रतिपक्षको भूमिका भविष्यका प्रतिपक्षीहरुका लागि स्थापित गर्नपर्छ भन्ने दूरगामी दृष्टिका साथ सालिनता राखेका छौं । आगामी दिनमा शालीनतालाई केही प्रखर रुपमा बदल्दै सरकारसँग ब्यवहार हुने उद्घोष गर्न चाहन्छु’ उनले अघि भने ।

कांग्रेसले आफ्नो शालीनतालाई कमजोरी नठान्न पनि सरकारलाई चेतावनी दिएको छ । ‘कांग्रेसको भूमिकालाई लिएर समाजबाट आउने सुझाव र हुने आलोचनालाई आत्मसाथ गर्ने घोषणा गर्छौं’ शर्माले भने, ‘तर, कांग्रेसको भूमिकालाई कमजोरी ठान्ने मनोविज्ञान सत्ताले कम्तीमा राख्न हुन्न भन्ने अपिल र आग्रह गर्न चाहन्छु ।’

कांग्रेसले सरकारको कमजोरी देखाउने र राष्ट्रियताको विषयमा साथ दिने भूमिका खेलेको उनले बताए । तर सरकारले अनुकुल वातावरणको सदुपयोग गर्न नसकेको उनको टिप्पणी छ ।

सत्तारुढ नेपाल कन्युनिस्ट पार्टी (नेकपा)को चुनावी घोषणापत्रलाई अगाडि राखेर पत्रकार सम्मेलनमा प्रस्तुत भएका प्रवक्ता शर्माले भने, ‘कमरेडहरुबाट धेरै कुरा आएको तर ब्यवहारमा नदेखिएको कांग्रेसको ठहर छ ।’

सरकारले दुई बर्षमा गर्ने भनेका सबै कार्यक्रम अलपत्र परेको, चुनावमा गरिएका बाचाहरुको कन्तबिजोग रहेको कांग्रेसको टिप्पणी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार संसदमा सम्वोधन गर्दै सरकारले सबैतिर राम्रो गरेको भन्दै दिएको अभिव्यक्तिमा सत्यता र तथ्य नभेटिएको पनि प्रवक्ता शर्माले बताए ।

सरकार अधिनायकवादी बाटोतर्फ लम्किएको भन्दै उनले त्यसको प्रमाण विभिन्न विधेयकहरु भएको बताए ।

‘नेकपामा एमसीसी गिजोलिनु दुःखद’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गिजनोलिएको बताए ।

सरकारको अर्कमण्यताका कारण एमसीसीबारे विवाद भएको भन्दै उनले भने, ‘एमसीसीलाई एकातर्फ संसदमा प्रस्तुत गर्न ढिला गर्ने अर्कोतर्फ नागरिक पंक्तिमा उठेका प्रश्नलाई जिम्मेवार ढङ्गले सम्बोधन नगरेर आन्तरिक पार्टीगत राजनीतिको द्वन्द्वले गिजोल्ने कर्म दुःखद भएको छ ।’

निर्माणाधीन विकास आयोजनाहरुको प्रगति राम्रो नरहेको, सरकारले नेपालभित्रै रोजगारी सिर्जना हुने गरी एउटा पनि कार्यक्रम वा विकास परियोजना ल्याउन नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको कांग्रेसको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?