Comments Add Comment

रामपुर क्याम्पसमा अनेरास्ववियुको विवादले लियो उग्ररुप, पार्टी कार्यालय तोडफोड

५ फागुन, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरु बीच भएको कुटाकुटले उग्ररुप लिन थालेको छ ।

जनयुद्ध दिवसका सन्र्दभमा पूर्व एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र पूर्व एमाओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी बीच भएको विवादले झडपको रुप लिएको हो ।

गत फागुन २ गते पूर्व एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि पूर्व माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले आक्रमण गरी घाइते बनाएका थिए । उनीहरुको आक्रमणबाट अनेरास्ववियुका सागर काफ्ले, विक्रम केसी, आशिष कार्की, केशवराज काफ्ले लगायतका घाइते भए । सोही दिन साँझ अनेरास्ववियुका विद्यार्थीहरुले अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीमाथि आक्रमण गरे । उनीहरुको आक्रमणबाट क्रान्तकारीका विश्वास अम्गाई, अनिश शाक्य र दिनेश पौडेल घाइते भए । एक जनाको हात भाँचिएको छ । घाइते विद्यार्थीहरु चितवन मेडिकल कलेजमा उपचार पछि घर फर्किएका छन् । उनीहरुलाई अनेरास्ववियुका विद्यार्थीहरुले रडले आक्रमण गरेका थिए ।

अखिल क्रान्तिकारीका विद्यार्थीहरुले सोमबार अनेरास्ववियुका केन्द्रीय सदस्य देव पाठकलाई टाउकोमा रडले हानेर घाइते बनाएका छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । उनीसँगै आएका जिल्ला नेता सचित सुवेदी पनि सामान्य घाइते छन् ।

विवादका कारण तत्कालीन एमाले निकट अनेरास्ववियुका विद्यार्थी संगठनका विद्यार्थीहरु कलेजमा रहेको होस्टलमा समेत बस्न सक्ने वातावरण नरहेको बताएका छन् । रामपुरमा विद्यार्थीहरुबीच पटक पटक विवाद हुने गरेको छ ।

अनेरास्ववियुले परीक्षा रोक्न र शैक्षिक वातावरण बनाउन भन्दै विश्वविद्यालय प्रशासनलाई दबाव दिइरहेको छ । संकायले लिइरहेको परीक्षाा तत्कालका लागि रोकेर सहमतिमा शैक्षिक वातावरण बनाउनुपर्ने माग उनीहरुको छ ।

अनेरास्ववियु केन्द्रमा एकता भए पनि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भने एकता अझै भइसकेको छैन । नेकपाको जिल्ला नेतृत्वले विवाद मिलाउने प्रयास गरे पनि सहमती हुन नसक्दा घटनाले उग्ररुप लिन थालेको छ । रामपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जुनसुकै बेला पनि घटना हुने सक्ने देखिएकोले सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

नेकपाको चितवन पार्टी कार्यालयमा तोडफोड

रामपुरको घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीहरुले नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् । क्रान्तकारीका विद्यार्थीहरुले केन्द्रीय सदस्य देव पाठकलाई रड प्रहार गरी घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन् । पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्ष विद्यार्थीहरुले तोडफोड गरेका छन् । पार्टी कार्यालयमा शशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

नेकपा चितवनका कार्यालय सदस्य आरसी अधिकारीले विवाद समाधानका लागि पार्टीले पहल गरिरहेको बताए । तत्कालका लागि समस्याको निकास निकालेर दीर्घकालिन रुपमा समस्याको हल गरिने उनले बताए । तल्लो तहसम्म पार्टी एकता नभएका कारण दुई पार्टीका बीचमा समस्या उत्पन्ने हुँदै आएको उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment