Comments Add Comment

हामी एक गाँस पनि शुद्ध एवं अर्ग्यानिक खाइरहेका छैनौं

नेपालमा पूर्ण अर्ग्यानिक उत्पादन खोज्ने हो भने दुई किलो गाजर समेत पाउन मुस्किल छ । तर, हामी ठूला ठूला स्वरमा भाषण गरेर पूरा देश नै अर्ग्यानिक भइसकेको जस्तो दाबी गर्छाैं । हामीसँग पूर्ण अर्ग्यानिक हो या होइन भनेर यकीन गर्ने प्रयोगशाला छैन । लाखौं रुपैयाँ खर्च गरेर सबै स्याम्पलहरु विदेश लैजान पनि मुस्किल छ । त्यसैमाथि विदेशमा लगेर परीक्षण नै गरेका पनि धेरै स्याम्पलहरु फेल भएका धेरै उदाहरणहरु छन् ।

यसरी अर्ग्यानिक शून्यप्रायः अवस्थामा छ भनिरहँदा अर्ग्यानिक उत्पादन भनेर विषादी नै प्रयोग नगरी उपजहरु उत्पादन गरिरहेकाहरुबाट आक्रोशका स्वरहरु आउन सक्छ कि हामीले विषादी नै प्रयोग गरेका छैनौं भने उपज कसरी अर्ग्यानिक भएन ?

यो प्रश्नको उत्तर पाउनको लागि विभिन्न अन्तराष्ट्रिय अध्ययनहरु एवं सम्बन्धित विषयमा अध्ययन गरिरहेका वैज्ञानिकहरुको रिपोर्टलाई आधार मान्न सक्छौं । सन् २००२ मा ब्रिटिश इकोलोजिकल सोसाईटीले गरेको एक अध्ययनले देखाएको छ कि पूर्ण रुपमा अर्ग्यानिक उपजहरुको उत्पादन गर्ने हो भने त्यसको लागि निकै कसरत गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले त माटोको स्वास्थ्य हेरेर सोही अनुसार त्यसलाई सन्तुलित अवस्थामा पुर्याउनु पर्छ ।

त्यसमा सिञ्चाई गर्ने पानी कस्तो हुनुपर्ने ? त्यहाँ कस्ता जनावरहरुको मल प्रयोग गर्ने ? या त पातहरु कुहाएर त्यसको मल प्रयोग गर्ने ? जस्ता विषयहरुमा ध्यान दिनुपर्छ । कुनैपनि उपज लगाउनुपूर्वदेखि त्यसको प्रशोधन, भण्डारणसम्मको अवस्थामा पूरा ध्यान दिएपछि बल्ल उत्पादनलाई पूर्ण अर्ग्यानिक मान्ने गरिन्छ । माथि उल्लेख गरिएका प्रविधिहरुमध्ये लगभग कुनैपनि प्रक्रिया हामीले अपनाउने गरेका छैनौं । त्यसैले पनि हाम्रा उत्पादनहरु पूर्ण अग्र्यानिक रहित छ भन्न सकिने अवस्था छ ।

प्रयोगशालामा धेरै उपजहरु हुन्छन् फेल

हामीले प्युठान र जाजरकोटमा व्यवसायिक रुपमा उत्पादन गरिएका जडिबुटीहरुलाई हामीले पूर्ण अर्ग्यानिक मान्ने गरेका थियौं । तर, धेरै पटक यहाँका उत्पादनहरु पनि अन्तराष्ट्रिय मापदण्डपूरा हुन नसकेपछि पूर्ण अग्र्यानिक हो भनेर प्रमाणपत्र दिने प्रयोगशालामा फेल भएको पाइन्छ ।

कुनैपनि फलफूल, जडिबुटी या फलफूललाई गुणस्तर परीक्षणको लागि दुई किसिमका प्रयोगशालाहरुमा पठाउने गरिन्छ । एउटा नियामकहरुको लागि आइएसओद्वारा प्रमाणित प्रयोगशालाहरु हुन्छन् । उनीहरुको छुट्टै मापदण्ड हुन्छ । त्यसको नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका ल्याबहरुले परीक्षण गर्ने गरेका छन् । तर, भोलिन्टियरी मार्केटमा पठाउनको लागि गरिने परीक्षणमा भने अन्तराष्ट्रिय छुट्टै मापदण्डहरु रहेका छन । तिनीहरुले आइएसओ प्रमाणित प्रयोगशाला भन्दा धेरै शुद्ध उत्पादनको खोजी गर्छन् । जुन प्रयोगशालाबाट नेपालका धेरै उत्पादनहरु पास हुन कठिन छ ।

सन् २००२ मा गरिएको सोसाइटीको सो अध्ययनले कुनैपनि उत्पादनलाई पूर्ण अर्ग्यानिक बनाउनको लागि चराहरुको आवतजावत, माटो र पानीको उचित सम्मिलन, उत्पादन गरिने वस्तुलाई मिल्ने जीवजन्तुको मल आदि आवश्यक पर्ने उल्लेख गरेको थियो । तर, नेपालमा कुन कुराको उत्पादन गर्दा कस्तो मल प्रयोग गर्ने ? भन्ने विषयमा अध्ययन हुने गरेको छैन । माटोको स्वास्थ्यबारे सामान्य परीक्षण गर्ने गरिएको छ । तर, माटोको स्वास्थ्य परीक्षण गरेर सोही अनुसार कृषि उपज लगाउने गरिएको पाइँदैन ।

भण्डारण र ढुवानीमा ध्यान नदिँदा समस्या

विसं २०२० देखि नेपालमा युरिया जस्ता रासायनिक मलको प्रयोग बढ्न थालेपछि बिस्तारै माटोको स्वास्थ्य कमजोर बन्दै गयो । योसँगै अस्वस्थ माटोबाट उत्पादन हुने उपजहरु कम अर्ग्यानिक हुन थाले । धेरै पैसाको लोभमा अर्ग्यानिक खेती गर्ने किसानहरुले रासायनिक मल र अरु विषादी त कृषि उपजहरुमा कम प्रयोग गर्न थाले ।

तर, भण्डारण र ढुवानीमा देखाउनुपर्ने सावधानीबारे भने धेरै किसानहरु बेखबर छन् । एउटै गाडीमा पहिले विषादी बोकेर जाने गरिन्छ भने सोही गाडीमा पछि तरकारी बोकेर फर्किने गरिन्छ । विषादी राखेको बोरामा राखेर उनीहरुले ती उपजहरु बजारमा ल्याउने गर्छन् । यसले गर्दा पनि समस्या सिर्जना हुने गरेको छ । यसैले उपजहरुमा अर्ग्यानिक गुण हराउने गर्छ र प्रयोगशालामा हामी अनुत्तीर्ण हुन्छौं । त्यसैले पनि दाबी गर्न सकिने कुरा के छ भने नेपालमा उत्पादन हुने कुनैपनि उपजहरु पूर्ण अर्ग्यानिक छैन ।

यो किसानको मात्रै कमजोरी होइन । यो एक किसिमले व्यवसायीहरुले पनि पनि उनीहरुलाई सिकाउनुपर्नेमा त्यो सकेनन् । यो उनीहरुको कमजोरी हो । यसमा व्यवसायीहरुको पनि आफ्नै पीडाहरु छन् । एउटा व्यवसायीले लाखौं रुपैयाँ खर्च गरेर कुनै किसानलाई अर्ग्यानिक उपज उत्पादन गर्न लगाउँछ । तर, त्यही किसानले उपज उत्पादन गरेपछि ५० रुपैयाँ धेरै भाऊ पायो भने अर्कैलाई बेचिदिन्छ । लाखौं रुपैयाँ खर्च गरेको व्यवसायी हेरेको हेर्‍यै हुन्छन् । त्यही कारणले पनि पूर्ण अर्ग्यानिक उपजहरुको प्राप्तिमा समस्या भइरहेको पाइन्छ ।

अर्ग्यानिक उपज उत्पादन नहुनुका कारक तत्वहरु

प्रयोगशालामा कुनैपनि फसलको परीक्षण गर्दा त्यो कति अर्ग्यानिक छ या छैन ? भन्ने यकीन हुने गर्छ । तर, त्यसमा के कारणले त्यो अर्ग्यानिक भएन ? भन्ने यकीन हुँदैन । तर, यो केवल माटोको स्वास्थ्यसँग मात्रै सम्बन्धित छैन । कुन फसलमा कस्तो जनावरहरुको मल प्रयोग गरिएको छ ? ढुवानी गर्ने साधनमा यस अघि कस्ता सामग्रीहरुको ढुवानी गरिएको थियो, त्यो उत्पादन कस्तो पानीमा भएको छ ? कस्तो भाँडामा भण्डारण गरिएको छ र त्यसमा पहिले कस्तो सामानहरु राखिएको थियो ? भन्ने कुराले पनि सरोकार राख्नेगर्छ । कुनै फसल कत्तिको गुणस्तरीय छ ? भन्ने कुरा परीक्षण गर्ने कार्य नै निकै महंगो रहेको छ ।

त्यसपछि परीक्षण बिना नै धेरैले बजारमा पूर्ण अर्ग्यानिक उपजको रुपमा यसलाई व्याख्या गर्ने गरिएको पाइन्छ । पछिल्लो समय नसर्ने दीर्घकालीन रोगहरुको कारणले मानिसहरु योगा प्राणायाम र आयुर्वेदिकहरु तिर धेरै झुकाव राख्ने गरेका छन् । तर, केही ट्रायल बेसिसमा रहेका कम्पनीहरुले परीक्षण बिना नै बजारमा सामान पठाउँदा पनि समस्या भएको छ ।

नेपाल हर्बल एण्ड हब्स प्रोडक्ट एसोसिएनका महासचिवसँग अनलाइनखबरका लागि सुदर्शन अर्यालले गरेको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment