Comments Add Comment

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी, एन्जिओग्राफी गरियो

७ फागुन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

लघुवित्तका बेइमानीबारे मुख्य समाचार बनाएको नयाँ पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको तयारी भइरहको लेखेको छ । समाचार अनुसार, प्रधानमन्त्री ओलीको दास्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको समाचारमा उल्लेख छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो । मुटुका भल्भ तथा नसाहरूको अवस्था हेर्न एन्जिओग्राफी गरिन्छ ।

नेपाल ट्रस्टको १७३ रोपनी जग्गा व्यक्तिका नाममा बनाइएकोबारे अन्नपूर्णले मुख्य समाचार बनाएको छ । त्यस्तै चल्लामा १२ करोड लुट भएको अर्को खबर पनि अन्नपूर्णमा छ । समाचार अनुसार ह्याचरी उद्योग संघले चल्ला उत्पादनमा सिन्डिकेट लागू गरी सातामै १२ करोड २५ लाख लुटेको हो । संघले एक महिनामा चारपटक मूल्य बढाएर एक साताभित्र उक्त रकम नाफा लिएको समाचारमा उल्लेख छ ।

‘तानातानमा नेपाल’ शीर्षकमा कान्तिपुरले नेकपाभित्रको समीकरणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार आ–आफ्नो समूह बलियो बनाउने ध्याउन्नमा ओली र प्रचण्ड छन् । यही कारण माधव नेपाल दुवैको तानातानमा परेको समाचारको सार छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज अनियमितताको उजुरी छानबिन नै नगरी टुंग्याएको अर्को खबर पनि कान्तिपुरमा छ । झन्डै पाँच अर्ब रुपैयाँ अनियमितता भएको घटनामा अख्तियारले प्रारम्भिक अनुसन्धानबाट फाइल तामेली राखेका हो । यही विषयमा महालेखापरीक्षकको कार्यालयले अनियमितता भएको निष्कर्ष निकाल्दै छानबिन गरी यकिन हुनुपर्ने निर्णय गरेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment