Comments Add Comment

प्रहरी हेडक्वार्टर पुगेर गृहसचिव न्यौपानेले भने – संगठनको शिर झुकाउनेविरुद्ध एकजुट हुनुस्

८ फागुन, काठमाडौं । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण भ्रमण गरेका छन् । बिहीबार दिउँसो न्यौपानले प्रहरी प्रहरी मुख्यालय पुगेर काम, कारबाहीबारे जानकारी दिएका हुन् ।

न्यौपानेले कमाण्ड सेन्टरबाट ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्सद्वारा सम्बोधन गर्दै सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न पनि निर्देशन दिएको जनाइएको छ ।

न्यौपानेले मुलुकमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने कार्यका साथै आतंकवाद एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण, अपराध न्यूनिकरण लगायतका गतिविधिहरुमा नेपाल प्रहरी प्राप्त म्यान्डेट अनुसार क्रियाशील रहेको चर्चा गरे । समाजका विकृति निर्मूल गर्न थप उत्प्रेरित भएर जिम्मेवारी बहन गर्न पनि उनले निर्देशन दिए ।

प्रहरी कर्मचारीहरुले नागरिकलाई गर्ने व्यवहार र उनीहरुप्रतिको प्रतिक्रियाले सरकारको प्रतिबिम्ब प्रस्तुत गर्ने उल्लेख गर्दै गृहसचिव न्यौपानेले भने, ‘हाम्रो व्यवहार, काम गर्ने शैली, सेवाग्राहीलाई सम्बोधन गर्ने तरिका जस्ता कुराहरु थप मर्यादित, सभ्य र सुसंस्कृत हुनुपर्छ ।’ संगठनको शिर झुकाउने प्रवृत्तिविरुद्ध सबै एकतावद्ध भइ लाग्नुपर्नेमा जोड दिँदै उनले संगठनको नीति विपरीत कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई कानुनी दायरामा ल्याइने बताए ।

काममा थप प्रभावकारिता, उपलब्ध साधनस्रोत व्यवस्थापनमा चुस्तता कायम गर्दै चौकीदेखि उच्च तहसम्म समन्वयात्मक रुपमा कुशलतापूर्वक अगाडि बढ्नुपर्ने उनले चर्चा गरे ।

नेपाल प्रहरी संगठनलाई अझै सुसज्जित र क्षमतावान बनाउँदै प्रहरी कर्मचारीहरुको वृत्ति विकास एवम् क्षमता अभिवृद्धि गर्ने काममा नेपाल सरकार तथा गृह मन्त्रालय सदैव क्रियाशील रहने उनले उल्लेख गरे ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले नेपाल सरकारको दीर्घकालीन लक्ष्य ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई सफल बनाउन नेपाल प्रहरी अझ क्रियाशील, निर्भिक र कर्तव्य पालनामा समर्पित रहेको उल्लेख गर्दै प्रहरी संगठनलाई उत्कृष्ट संस्थाका रुपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment