Comments Add Comment

एमसीसी संसदबाट अनुमोदन हुन्छ : अर्थमन्त्री

८ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने बताएका छन् ।

बिहीबार अर्थ मन्त्रालयमा संयुक्त राज्य अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिङ र अमी बेरासँगको भेटमा अर्थमन्त्री खतिवडाले एमसीसी अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्विविधा नभएको बताएका हुन् ।

भेटका अवसरमा अर्थमन्त्री खतिवडाले नेपाल र अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।

नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा उनले जानकारी गराएका थिए । मन्त्री खतिवडाले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको भन्दै यहाँ उत्पादन भएका वस्तुको बजारका लागि समस्या नहुने समेत उल्लेख गरे ।

विश्वका धेरै जनसंख्या भएका मुलुक छिमेकी देश भएकोले विश्व वजारको केन्द्रविन्दुमा नेपाल भएको उनको भनाइ थियो । उनले गतबर्ष भएको लगानी सम्मेलनमा अमेरिकी निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा धन्यवादसमेत दिएका उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा. खतिवडाले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भइरहेको उल्लेख गरे । उनले अमेरिकाबाट थप सहयोगको समेत अपेक्षा गरिएको बताएका छन् ।

अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गरेका थिए । नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भइरहेको उनीहरुको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment