Comments Add Comment

नारायणी रंगशालालाई ७ करोड बजेट, कभर्डहल र प्याराफिट बन्ने

८ फागुन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रंगशालाको पुनर्निर्माणका लागि केन्द्र सरकारले ७ करोड रुपैयाँ बजेट निकासा गरेको छ ।

५ करोड रुपैयाँबाट रंगशालाको दक्षिणपट्टिको प्याराफिट भत्काएर नयाँ निर्माण गर्ने र २ करोड रुपैयाँबाट बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने तय भएको छ ।

कभर्डहलको बिहीबार खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गरेका छन् । उनले काठमाण्डु पछिको दोस्रो ठूलो नारायणी रंगशालालाई ओझेलमा पर्न नदिने प्रतिवद्धता जनाए ।

‘प्रदेश २ मा कहाँ प्रादेशिक रंगशाला बनाउने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने थियो, जनकपुरमा बनाउने कुरा भयो, वीरगञ्जले असन्तुष्टी जनाउनु स्वाभाविक हो’ उनले भने ‘तर जनकपुरलाई जति नै ५ करोड रुपैयाँ नारायणीलाई पनि विनियोजन गरिएको छ । थप २ करोड कभर्ड हलका लागि छुट्याएका छौं ।’

प्रदेश सरकारले जनकपुरमा प्रादेशिक रंगशाला बनाउने निर्णय गरेपछि वीरगञ्जमा त्यसको विरोधमा प्रदर्शन पनि भएको थियो ।

कभर्ड हल बनाउन १ करोड १३ लाख ९१ हजार ४ सय ४६ रुपैयाँमा कादम्बरी कन्स्ट्रक्सनले जिम्मा लिएको छ । तर गत मंसिर १३ गते सम्झौता गरेको कम्पनीले तीन महिना ढिलो गरी काम सुरु गरेको छ । काम सक्ने मिति ०७७ जेठ १८ गते तोकिएको छ ।

भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, कराँते, तेक्वान्डो, जुडो, बक्सिङ लगायतका सम्पूर्ण ‘इन्डोर’ खेल खेल्न सकिने गरी कभर्ड हल निर्माण हुनेछ । रंगशालाको दक्षिण–पश्चिम कुनामा बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न लागिएको हो ।

मध्यमाञ्चल खेलकुद विकास समिति कार्यालय प्रमुख ज्याउल इस्लामले प्याराफिट निर्माणका लागि बोलपत्र आह्वान भई सम्झौता हुने प्रक्रियामा रहेको बताए ।

रंगशालाको दक्षिणपट्टिको प्याराफिट भत्काएर पहिलो चरणमा ७९.७१ मिटर लम्बाइको ९ वटा स्टेप (बस्ने स्थान) भएको प्याराफिट निर्माण गरिनेछ । दक्षिण र उत्तर भागका प्याराफिट हाल सात स्टेपका छन् । रंगशालामा भीआईपी प्याराफिटसहित कुल ४ वटा प्याराफिट छन्  ।

करिब १५ हजार दर्शक क्षमताको रंगशाला २०३८ सालमा निर्माण गरिएको थियो । संरक्षण र मर्मत संभारको अभावमा यो प्याराफिट जीर्ण अवस्थामा छ । जीर्ण भएकै कारण रंगशालाको उत्तर र दक्षिण प्याराफिटमा राष्ट्रिय खेलकुल परिषदले दर्शकलाई बस्नमा रोक लगाएको छ ।

नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय सदस्य कृष्ण कन्हैया कायस्थका अनुसार प्रदेश २ मा नारायणी रंगशालामा जत्तिको पूर्वाधार र जग्गा अन्य जिल्लामा छैन । तर, खेलकुद पूर्वाधारको समयमै संरक्षण र मर्मतसम्भार नहुँदा खेलकुदमा वीरगञ्ज पछाडि पर्दै गएको छ । ‘म पटक पटकको नापीमा सहभागी भएको छु, नारायणी रंगशाला १८ विघामा फैलिएको थियो’ उनले भने ‘अहिले खुम्चिएर १५ विघामा आइसकेको छ ।’

नारायणी रंगशालामा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता, तेजबहादुर, महेन्द्र र लक्ष्मण थापा जस्ता गोल्डकप अनि एएफसी यू–१६ छनोट प्रतियोगिता आयोजना हुने गरेका थिए । नेपाल र भारतका सुपर डिभिजनका टिम सहभागी हुन्थे । तर, केही वर्षयता यी प्रतियोगिता हुन छाडेका थिए ।

२०७४ देखि विशाल फाउन्डेसनले रंगशालामा विशाल गोल्डकप आयोजना गर्न थालेको छ । गोल्डकपको तेस्रो संस्करणका लागि आयोजक तयारीमा जुटिसकेको छ ।

जीर्ण बनेको नारायणी रंगशाला पुनर्निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख रुपैयाँ खर्च गरेर रंगशालाको डीपीआर (विस्तृत अध्ययन प्रतिवेदन) तयार पारेको छ । डीपीआरअनुसार रंगशाला पुनर्निर्माणका लागि २ अर्ब ६४ करोड रुपैयाँ आवश्यक पर्छ ।

बिहीबार आयोजित शिलान्यास कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि नारायणी रंगशालाको संरक्षणमा जोड दिएका छन् । नेकपाका नेता रामचन्द्र साहले विग्रनु भन्दा अगाडी नै सचेत हुन आग्रह गरे ।

नेपाली काँग्रेसका पर्सा सभापति अजय द्विवेदीले रंगशालामा चारैतिरबाट आउन जान मिल्ने सडक बनाउनुपर्ने बताए । समाजवादी पार्टीका पर्सा सचिव तवरेज अहमदले मधेसी माथि चरम विभेदको नमुना नारायणी रंगशाला भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment