
९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार रोजर स्टोनलाई त्यहाँको एक अदालतले जेल सजायको फैसला सुनाएको छ ।
रोजरले अमेरिकी कंग्रेसलाई झुटो बोलेको, प्रत्यक्षदर्शीलाई प्रभावित पारेको तथा अवरोध गरेको अभियोगमा त्यहाँको फेडेरल जजले उनलाई ४० महिना जेल सजाय सुनाएको हो । उनलाई २० हजार डलर तिर्न र २५० घण्टा समुदायको सेवा गर्न पनि अदालतले भनेकाे छ ।
रोजर ट्रम्पको पक्षमा उभिएर ढाकछोप गर्ने कार्यमा संलग्न भएकाले जेल सजायको फैसला सुनाइएको न्यायाधीश एमी बर्मन ज्याक्सनले बताएकी छन् ।
६७ वर्षीय स्टोन ट्रम्पका छैटौं सल्लाहकार थिए । सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको अभियोगबारे अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग स्टोन जोडिएका थिए ।
यो प्रकरणबारे लिइएको बयानमा स्टोनले ढाँटेको दाबी गर्दै उनीमाथि सातदेखि ९ वर्षको जेल सजाय माग गर्दै अदालतमा मुद्दा दायर भएको थियो ।
ट्रम्पले स्टोनमाथिको अभियोगको आलोचना गर्दै सफाइ पाउनुपर्ने मत राखेका छन् ।
यसैबीच, जेल सजायको फैसला गर्ने न्यायाधीशले स्टोनले आफूलाई धम्क्याएको बताएकी छन् ।
प्रतिक्रिया 4