+
+
Shares

महागढीमाईका मेयर र मुकेश समूहबीच झडप

सुरेश बिडारी सुरेश बिडारी
२०७६ फागुन ९ गते १२:२९

९ फागुन, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरमा नाला निर्माणको विषयमा सुरु भएको विवादले राजनीतिक रुप लिएको छ । नगर प्रमुख उपेन्द्र यादव र समाजवादी युवा संघका उपाध्यक्ष मुकेश कुशवाह पक्षबीच भएको झडपले यही संकेत गर्छ ।

मुकेशले सामाजिक सञ्जालबाट आफूविरुद्ध गाली गलौज गरेको मेयरको दाबी छ भने कुशवाहले नाला निर्माणबारे आवाज उठाउँदा मेयर यादवले आफ्ना वुबा महेन्द्र राउत अहिरलाई शौचालयमा थुन्नुका साथै कुटपीट गर्दै दुर्व्यवहार गरेको दाबी गरेका छन् ।

एकअर्काविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएको दुबै पक्षबीच बिहीबार झडप नै भएको छ । महागढीमाई नगरपालिका वडा नं २ को वडा कार्यालय र सशस्त्र प्रहरी क्याम्प भएको बजार टोलमा बिहीबार बेलुका झडप भएको हो ।

झडपमा मुकेश कुशवाहसहित ४ जना घाइते भएका छन् । तरुण दलका स्थानीय नेता साजन गुप्ता, महागढीमाई नगरपालिकाका कार्यालय सहयोगी धिरेन्द्र सिंह लहेरा र ट्याक्टर चालक साहेब यादव घाइते भएका हुन् । घाइते मध्ये तीन जनाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने छाती र टाउकोमा चोट लागेकाले मुकेशलाई काठमाडौं लगिएको छ । बजारमा बसिरहेको समयमा मेयरका मानिसहरु आएर आफूलाई समातेर गाडीमा हाल्न खोजेको मुकेशको दाबी छ ।

प्रत्यक्षदर्शी सियाराम कुशवाहले पनि मेयरका मानिसहरुले आक्रमण गरेपछि मुकेशका समर्थकले प्रतिकार गरेको बताए । ‘नगर प्रमुख यादवका मानिसहरु आएर एक्कासी मुकेशलाई हमला गर्‍यो, उनीहरुले नगरपालिका तिर लैजान खोज्दै थिए, अरुले बचाउन खोज्दा झडप भयो’ उनले भने ‘मुकेशलाई बचाउने क्रममा प्रतिकार भएको हो ।’

सशस्त्र प्रहरी टोलीले झडप शान्त पार्नुका साथै मुकेशलाई नियन्त्रणमा राखेर जोगाएका थिए ।

बिहीबार मुकेशका बुवाले मेयर यादवविरुद्ध भेदभाव तथा अपमान जन्य व्यवहार कसुरको मुद्धा दर्ता गराएका छन् । त्यसअघि मेयरको यादवको उजुरीको आधारमा प्रहरीले दिपेन्द्र कुशवाहलाई ‘अभद्र व्यवहार’ मुद्धामा पक्राउ गरी कारबाही थालेको छ ।

बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले दुई पक्षबीच सामान्य झडप भएको जानकारी दिए । ‘झडपमा संलग्न मानिसहरुको पहिचान भइसकेको छ’ एसपी पंगेनीले भने ‘घाइतेहरुको प्रहरी निगरानीमै उपचार भइरहेको छ, घटनाबारे अनुसन्धान गर्दैछौं ।’

 

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?