Comments Add Comment

कक्रोचको आँखामा बले : उहाँले जोडी भेट्नुभो, म सिंगल !

९ फागुन, काठमाडौं । नेपाली हास्यकलाकारिता क्षेत्रमा दुई कलाकारहरु जोडी भएर काम गर्ने ट्रेन्ड छ । मह जोडीबाट सुरु भएको यही ट्रेन्ड पछ्याउने पछिल्लो पुस्ताका हास्यकलाकार हुन् सागर लम्साल बले र हरिश निरौला कक्रोच ।

यी दुवै लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलबाट उदाएका कलाकार हुन् । पुरानो भद्रगोलको टिम अहिले ‘सक्किगोनी’ मा बसाइँ सर्दा यो जोडी पनि यतै आएको छ । सिरियलमा उनीहरु सबैभन्दा नजिकका साथीहरुको रुपमा छन्, जसको प्राय नोकझोक परिरहन्छ ।

रियल लाइफमा पनि उत्तिकै नजिक छन्, बले र कक्रोच । दुवैको उमेर एउटै हो । बलेभन्दा कक्रोच मात्र एक महिना जेठा छन् । कक्रोचले माघमा जन्मदिन मनाए । बलेले आज (शुक्रबार) मनाउँदैछन् ।

एक दशकभन्दा बढी समयदेखि संगत अनि सहकार्य निकै सुखद रहेको बताउँछन् हरिश ।

आफूहरुबीच कहिल्यै झगडा वा मनमुटाव नभएको उनले सुनाए । बलेसँगको पहिलो भेटेदेखि पछिल्लो सम्बन्धका विषयमा उनले यसरी वर्णन गरे :

म ‘भद्रगोल’ मा पहिलो एपिसोडदेखि नै संलग्न थिए । बलेको इन्ट्रीचाहिँ सायद १८ औं एपीसोडपछि भएको हो । हाम्रो पहिलो भेट पनि भद्रगोलकै सुटिङको सिलसिलामै भएको हो ।

भद्रगोलभन्दा अगाडि उहाँले ‘लोफर’ भन्ने चलचित्रमा ‘बले’ को क्यारेक्टर गर्नुभएको थियो । भद्रगोलकै सहकलाकार कमणमणि नेपाल (खुपीका बाउ) को निम्तोमा जिग्री, पाँडे र म त्यो चलचित्र हेर्न गएका थियौं । हामी सबैलाई बलेको चरित्र र अभिनय मन पर्‍यो अनि भद्रगोलमा उहाँलाई खेलाउने सल्लाह भयो । त्यही बमोजिम कमलमणिले उहाँसम्म कुरा पुर्‍याउनुभयो । उहाँ पनि तयार भइहाल्नुभयो । यतिञ्जेल मेरो उहाँसित प्रत्यक्ष भेट भएन ।

बले त्यतिबेला चाबहिलमा बस्नुहुन्थ्यो । भद्रगोलमा खेल्ने टुंगो लागेपछि उहाँलाई सुटिङ स्थल मुड्खुभञ्ज्याङ पुर्‍याउने जिम्मा मलाई दिइएको थियो । सुटिङको बसबाट मैले उहाँलाई फोन गरे । उहाँ चोकमै पर्खिरहनुभएको रहेछ । गाडी रोकेर उहाँलाई चढायौं ।

नयाँ मान्छे भएकाले गाडीमा हामीबीच खासै कुराकानी भएन । उहाँ चुपचाप नै बस्नुभयो । आ-आफ्नै सुरुमा यात्रा गर्‍यौंं । त्यसबेला उहाँसँग यति लामो सहयात्रा होला भन्ने सोचिएको थिएन ।

बले र मेरो सँगै सुटिङ थियो । एकछिन सुटिङ ब्रेक भएपछि म चिया खान त्यहाँ रहेको सानो चियापसल (जसलाई हामी सिरियलमा सोलमारी भनेर देखाउँथ्यौं’) मा छिरेँ । मैले दूध चिया भनेँ । म सँगसँगै बले पनि आएर बस्नुभयो । उहाँले पनि दूध चिया नै अर्डर गर्नुभयो । अनि, उहाँले नै कुरा सुरु गर्नुभयो ।

‘साथी, तिम्रो बसाइ कता हो ?’ उहाँले फ्याट्ट सोध्नुभयो ।

पहिलोपटकमै ‘तिमी’ भनेको सुन्दा झण्डै मेरो कन्सिरी तातेको थियो (हाँसो) । के तालको मान्छे रैछ भनेजस्तो लाग्यो । तैपनि ‘कुल’ नै बसेँ । मैलेचाहिँ उहाँलाई ‘तपाईं’ नै भनेँ । उहाँले ‘तिमी’ र मैले ‘तपाईं’ भनेर नै केहीबेर कुराकानी भयो । जेहोस, मान्छे फरासिलो नै लाग्यो ।

त्यसपछि केही समयसम्म यही क्रम चल्यो । उहाँ मलाई ‘तिमी’ भन्ने, म ‘तपाईं’ । जबकि उमेरमा एक महिना मै जेठो रहेछु । यो कुराको आभाष उहाँलाई पनि भएछ क्यारे, मलाई पनि तपाईं भन्न थाल्नुभयो । मेरो तिमीबाट तपाईंमा बढुवा भयो भनौं न । आजसम्म पनि हामी एक-अर्कालाई तपाईं नै भन्छौं ।

हाम्रो निकटता देख्दा मान्छेहरुलाई यिनीहरुबीच तँ-तँ नै चल्छ होला भन्ने लाग्दो हो । हो, हामीबीच एकदम अनौपचारिक सम्वन्ध छ । तर, बोल्दाखेरि भने तपाईं नै भन्छौं । पहिलो-पटक उहाँले तिमी भनेर सुरु गर्दा मैले पनि तिमीमै जवाफ दिएको भए बेस हुन्थ्यो होला । तपाईं भन्न थालेपछि तिमीमा झर्नै सकिएन । तर, तपाईं भन्दाको बेफाइदा के नै पो छ र ?

०००

कलाकारका रुपमा बलेको प्रतिभालाई सबैले चिन्नुभएकै छ । उहाँ कलाकार बन्नकै लागि जन्मेको मान्छे जस्तो लाग्छ मलाई त । उहाँको फ्यान नै हुँ म । उहाँले गर्नुभएको क्यारेक्टरलाई सबैले रुचाउनुभएको छ ।

अहिलेसम्म बलेको रुपमा मात्रै चर्चित भए पनि उहाँसँग धेरै खालको भूमिका गर्न सक्ने खुबी छ । म्युजिक भिडियोहरुमा सुन्दरीहरुसँग रोमान्स गर्दा सुहाएकै छ । राम्रो नाच्नुहुन्छ । जे होस, प्रतिभाको खानी नै हुनुहुन्छ ।

व्यक्तिगत स्वभाव र आचरणको कुरा गर्दा पनि उहाँबाट सिक्न सकिने कुराहरु धेरै छन् । काममा एकदमै ‘सिन्सियर’ र लगनशील हुनुहुन्छ । कहिल्यै आफ्नो काममा ध्यान नदिएको वा लापरबाही गरेको थाहा छैन । मिजासिलो र सहयोगी पनि हुनुहुन्छ । रमाइलो त भन्नै परेन ।

सुधार्नुपर्ने कुराचाहिँ के छ भने जे कुरामा पनि हतार गर्नुहुन्छ । राम्ररी योजना बनाउने भन्दा पनि सोचेको काम तुरुन्त गरिहाल्नुपर्छ उहाँलाई । अनि कामको नतिजा पनि छिट्टै खोज्नुहुन्छ । चाँडै हौसिने र चाँडै निराश पनि भइहाल्ने स्वभाव छ । त्यो सुधार्नुपर्ने देख्छु ।

यो पनि पढ्नुहोस ‘बले’को आज जन्मदिन, टि्वनी गर्ल्सदेखि मुन्नीले यसरी दिए शुभकामना

भद्रगोल खेल्दा सुरुसुरुमा स्टेज शोहरुमा हाम्रो त्यति डिमान्ड हुन्थेन । दर्शकले मन पराएका थिए, तर त्यस बमोजिम मिडियामा चर्चा पाइन्थेन । यसले उहाँलाई कहिलेकाहीँ निराश बनाउँथ्यो । म भन्थेँ, ‘अहिले नै हामीले नतिजा खोज्नु हुँदैन, विस्तारै हाम्रो समय आउँछ ।’ उहाँचाहिँ अलि व्यग्र बन्नुहुन्थ्यो ।

मैले भनेजस्तै विस्तारै-विस्तारै हाम्रो डिमान्ड बढ्न थाल्यो । भद्रगोलमा प्रायः बले र म एकसाथ देखिने भएकाले स्टेज कार्यक्रमहरुमा पनि हामीलाई जोडीको रुपमा निम्त्याउन थालियो । जोडी भएर हामीले धेरै स्टेज शो गरिसक्यौं । झण्डै दर्जन देशहरु सँगै भ्रमण गरिसक्यौं । देशभित्र पनि धेरै ठाउँहरुमा पुगेका छौं । उहाँसँग हुँदा सँधै रमाइलो लाग्छ ।

०००

बले र म सिरियलबाहिर पनि बेस्ट फ्रेन्ड नै हौं । हामीबीच व्यक्तिगत कुराहरु पनि धेरै सेयर हुन्छन् । केही नयाँ कुरा भएमा मैले सबैभन्दा पहिले सुनाउने उहाँलाई हो । उहाँले पनि सुनाउने मलाई हो । हाम्रो बसाइ पनि नजिक-नजिकै छ । म गौशाला बस्छु, उहाँ कालोपुल बस्नुहुन्छ । एक-अर्काकोमा बाक्लै आउजाउ हुन्छ ।

अहिले उहाँको प्रेम-प्रसंग पनि चर्चामा आइरहेको छ । यो कुरा उहाँले मसित लुकाउनुभएको छैन । उहाँहरुको जोडी निकै राम्रो लाग्छ मलाई पनि । मैले मात्रै होइन, सबैले उहाँहरुको जोडी रुचाएका छन् । सबै प्रेम सफल नै हुन्छन् भन्ने त छैन, तर उहाँहरुको प्रेमचाहिँ विवाहसम्म नै पुगोस भन्ने मेरो इच्छा अनि कामना छ । मसित उहाँले यो वर्ष होइन, अर्को वर्षचाहिँ बिहे हुन सक्ने संकेत गर्नुभएको छ ।

मचाहिँ यो उमेरसम्म सिंगल नै छु । उहाँ लभमा परेपछि मलाई पनि हल्का दबाब नपरेको त कहाँ हो र (हाँसो) । तर, लभ भन्ने कुरा गर्ने भन्दा पनि पर्ने हो जस्तो लाग्छ । पर्ला नि मेरो पनि । अनि दुई जोडी भएर घुम्न हिँड्नुपर्ला ।

अँ आज उहाँको जन्मदिन । मैल फेसबुकमा त ‘विस’ गरिसकेँ । फेरि पनि भन्न चाहन्छु कि उहाँजस्तो साथी पाउनुलाई मैले आफ्नो भाग्य सम्झेको छु । हाम्रो सम्बन्ध र सहकार्य अटुट अगाडि बढ्ने विश्वास छ ।

उहाँले मबाट जन्मदिनमा उपहारको अपेक्षाचाहिँ गर्नुहुन्न । कहिले दिने भए पो ! खासमा हामीबीच र्‍यापिङ पेपरमा पोको पारेर उपहार दिने-लिने चलन कहिल्यै भएन । दुवैजना लोभी भएर होकि ? मभन्दा उहाँ अझ बढी लोभी हुनुहुन्छ (हाँसो) ।

मैले त फेसबुक स्टाटसमै हात उठाइसकेँ ! ‘हाम्रो मित्रता नै एक-अर्काको लागि उपहार हो’ भनेको छु । योभन्दा ठूलो उपहार के दिन सक्छु र होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment