News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले बिहीबार ८ दिनका लागि वित्तीय प्रणालीबाट डेढ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
- चाडबाडमा रेमिट्यान्स आप्रवाह बढेपछि वित्तीय प्रणालीको अधिक तरलता बढेर १३ खर्ब ८६ अर्ब रुपैयाँ राष्ट्र बैंकमा थुप्रिएको छ ।
- राष्ट्र बैंकले अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतभन्दा तल जान नदिन निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र र स्थायी निक्षेप सुविधामार्फत तरलता व्यवस्थापन गर्दै आएको छ ।
१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीको डेढ खर्ब तरलता खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ८ दिनका लागि बजारबाट पैसा खिच्न लागेको हो ।
चाडबाडको समयमा रेमिट्यान्स आप्रवाह बढ्ने तथा आर्थिक गतिविधि बढ्ने भएकाले बैंक तथा वित्तीय संस्थामा तरलता बढ्ने गर्छ । विगत देखिनै अधिक तरलता रहेको वित्तीय प्रणालीमा चाडबाडका समयमा भित्रिएको रेमिट्यान्सले झनै बढाएको हो । हाल वित्तीय प्रणालकिो पैसा कैन्द्रीय बैंकमा १३ खर्ब ८६ अर्ब थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा कर्जाको माग घट्दा अधिक तरलता थुप्रिएको हो ।
रेमिट्यान्समा आएको निरन्तर सुधारले तथा रसुवा बाढीमा आएको वैदेहिक सहयोगका कारण वित्तीय प्रणालीको अधिक तरलता थप बढेको हो । गत साउनमा मात्रै २ खर्ब १५ अर्ब रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अल्पकालीन ब्याजदर अर्थात अन्तर बैंक ब्याजदर घट्छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत भन्दा घट्न नदिने नीति लिएको छ । सो अनुसार केन्द्रीय बैंकले तरलता खिच्ने र पठाउने गर्दे आएको छ । तथापी पछिल्लो समयमा अधिक तरलता भएर खिचेको मात्र छ ।
केन्द्रीय बैंकले निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र तथा स्थायी निक्षेप सुविधा मार्फत प्रणालीको अधिक तरलता खिच्दै आएको छ । राष्ट्र बैंकका अनुसार बिहीबारबाट वित्तीय प्रणालीमा करिब ५५ अर्ब तरलता रहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेका पैसा परिपक्व हुने भएपछि त्यसलाई पुन: खिच्नका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् ।
त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा केन्द्रीय बैंकले पैसा पठाउँछ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ५.७५ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4