Comments Add Comment

दूध त डेरीबाट ल्याउँला, आमा कहाँ पाउने ?

मातृत्व गुमाएको एक बच्चाले बाबुलाई सोध्यो,
दूध त डेरीले दियो आमा कुन दोकानले दिन्छ ?

पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षको मञ्चमा उभिएर जब गजलकार अमृत सुवेदीले गजलीय शेर भन्न थाले मञ्ज विमुख बसेका दर्शक स्रोता ध्यानमग्न भएर सुन्न थाले । बेलाबेला मौनताको बाँध भत्काउँदै उनीहरु भन्थे, ‘वाह ! वान्समोर…।’

१७ वर्षदेखि पोखरामा गजलका विभिन्न कार्यक्रम गर्दै आइरहेको वाङ्मयी संस्था गजल सन्ध्याले शनिबार २ सय औं शृंखला गर्‍यो । प्रत्येक महिना नियमित गजल गजल वाचन गर्दै आएको संस्थाले शनिबार २ सय महिना पुगेको अवसरमा विशेष गजल वाचन राखेको थियो, जसमा विशेष गजल वाचकका रुपमा निम्त्याइएका थिए संस्थाकै पूर्व ८ अध्यक्षहरु ।

दुई चरणमा भएको कार्यक्रममा पहिलो चरणमा प्रत्येक गजलकारले पहिलो चरणमा २/२ वटा गजल र दोस्रो चरणमा ३/३ वटा गजल सुनाएका थिए । गजलबाटै उनीहरुले समसामायिक विषय र बेथितिबारे शब्दबाटै चर्को वाणमात्रै हानेनन्, मायाप्रेमका कोमल शब्दसमेत खर्चिए ।

संस्थाका निर्वतमान अध्यक्ष अमृत सुवेदीपछि मञ्चमा उक्लेका दिलीप दोषीले ‘जिन्दगीलाई’ र ‘बेहिसाब’ शीर्षकमा गजल सुनाए । संस्थाका संस्थापक अध्यक्षसमेत रहेका उनले मायाप्रेमका गजलीय शेर सुनाए ।

तेस्रो क्रममा मञ्चमा उक्लेकी बिर्सना बस्नेतले समसामायिक विषयमा गजलबाटै चोटिलो व्यंग्य हानिन् । उनले आफ्नो छोडिगएको प्रेमीलाई सरकारझैं ‘रङ फेर्नेे छेपारो’को संज्ञा सिर्जनाबाटै दिइन् । उनले भनिन्,

‘सादा जीवन बाँचिदिन्छु बनावटीपना छैन
छेपारोझैं रङफेर्ने सरकारतिर तिमी….’

संस्थाका अर्का पूर्व अध्यक्ष गजलकार दीपक समीपले दर्शन मिश्रति गजल सुनाए । उनले जिन्दगी चलाउन ससाना कुराले पनि ठूलो अर्थ राख्ने दर्शन गजलबाटै दिए । उनले आगोबाट फलाम पगालेजसरी पनि जीवन बाँच्न पगालिनुपर्ने सुनाए । उनले पछिल्लो समयको राजनीतिक आचरण प्रति पनि गहिरो व्यंग्य गरे । उनले भने,

‘नेताको शरीरबाट टाउको गायब भएको छ
भोलि पुस्ता कस्तो जन्मिएला ? खुब तनाव भएको छ ।’

क्रमैसँग अन्य ४ गजलकारले पनि आआफ्ना रचना २ चरणमा सुनाए । उनीहरुका गजल व्यंग्यबाट कतिबेला दर्शकदीर्घामा हाँसोको फोहोर छुट्थ्यो त कतिबेला मर्मस्पर्शी शब्दबाट मौन हुन पुग्थे । गजलकार उदीपराज ढुंगानाले आफ्नी पूर्व प्रेमिकालाई गजलबाट यसरी सम्बोधन गरे,

‘जब म तिम्रोबारेमा गम्भीर भएर सोच्ने गर्दछु
छात्तिको देब्रे पाटोमा असजिलो भएर आउँछ ।’

गजलकार रुपिन्द्र प्रभावीले औपचारिक कार्यक्रममा वक्ताले लगाउने लामो पत्यारलाग्दो ‘गफ’बारे चर्चा गरे । उनले जति लामो गफ गरे पनि अन्तिममा ‘शब्द यहीं टुंग्याउँछु’ भन्ने चलनप्रति व्यंग्य गरे ।

अर्का गजलकार तथा गीतकार मन क्षेत्रीले पनि दर्शनले भरिएका गजल सुनाए । उनले आफ्ना सिर्जनामा बाटो, बगरलाई बिम्ब बनाएर गजल सुनाए । गजलकार कपिल शर्माले मान्छेले धनले जति सम्पन्न भएपनि मनको शान्ति नै ठूलो हुने गजलबाटै सुनाए । उनले भने,

‘कोही माग्ने, कोही दिने मन्दिरमा रहेछन्,
देखियो सम्पत्ति हुने पनि पीरमा रहेछन् ।’

कार्यक्रमा विशेष गजल वाचनमा उभिएका ८ गजलकारलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले मायाको चिनो प्रदान गरे ।
उनले गजलकारकै आन्तरिक विवादले गजलको अस्तित्व खतरामा पर्दै गइरहेको सुनाए । ‘गजलको वास्तविक मर्म, सौन्दर्य बुझ्न छाडेर हरेक गजलकार झिनामसिना अहमबाटै टुक्रिरहेकाछन्,’ उनले भने, ‘मैले लेखेको गजल अरुले लेखेको नगजल प्रवृत्तिले समस्या बढिरहेको छ ।’ उनले बहर र स्वतन्त्र गजल जे लेखेपनि त्यसले गजलकै वृत्ति विकास हुने सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment