Comments Add Comment

दन्त्य कथाजस्तो उमेश यादवको एक दिन

११ फागुन, जनकपुर । न नेपाली युवाहरु विदेश जाने क्रम रोकिन्छ । न विदेशबाट नेपाली मजदुरको लास आउने श्रृंखला बन्द हुन्छ । किनकी यो श्रृंखला बन्द हुनासाथ देशको चक्र अगाडि बढ्न सक्दैन ।

आर्थिक वर्ष ०७५/७६ मा युवा निर्यात गरेर सरकारले ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रायो । नेपालको २५ दशमलव ४० प्रतिशत अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । यदि रेमिट्यान्स घट्यो भने राष्ट्र बैंकको टाउको दुख्छ । राज्यको हालत खराब हुन्छ ।

सोही वर्ष पाँच लाख आठ हजार आठ सय २८ नेपाली विदेशी भूमिमा पुगे । तीमध्ये ७ सय ८३ रातो कफिनमा फर्किए ।

तर, सरकारसँग एकिन तथ्यांक छैन की विदेशी जेलमा नेपाली मजदुर कति छन् ? तीमध्ये कति जना मृत्युदण्डको सजायँ सुनेर पलपल मृत्युको सास फेरिरहेका छन् ? उनीहरुलाई देश फर्काउने पहलको कुरा त परको भयो । यस्तो लाग्छ, अब उप्रान्त उनीहरुले रेमिट्यान्स पठाउनेवाला छैनन् र रेमिट्यान्स नपठाउने नेपाली नागरिक नै होइनन् ।

जस्तो, कि धनुषाका उमेश यादव ।

यदि उमेश यादवको लागि सरोज रायले कुनै–कुनै कदम चाल्दैनथे भने उनी विदेशी भूमी साउदीमा फाँसीमा झुण्डीसकेका हुन्थे । पाकिस्तानी नागरिक हत्याको आरोपमा साउदीले उमेशलाई जुवेल जेलमा बन्धक बन्दी बनाएको थियो । १० वर्षको जेल जीवनपछि ‘जनरल कोर्ट’ले उनलाई मृत्युदण्ड(फाँसी)को सजायँ सुनायो ।

सरोजले साउदी दूतावास र न्यायाधीशसँग परामर्श गरे । पाकिस्तान पुगेर पीडित परिवारको माफीनामा बनाए । जनताबाट ३२ लाख रुपैयाँ सहयोग संकलन गरी पीडित परिवारलाई उपलब्ध गराए । हरप्पा कानून लागेका उमेशलाई अन्तिम समयमा मृत्युदण्डको सजायँ उल्टाइदिए ।

०००

उमेश माघ ७ गते राति दुई बजे १३ वर्ष ८ महिनापछि जेलको चार दिवारबाट बाहिर निस्किएका थिए । जेलकै साथीहरुबाट जहाज भाडा संकलन गरी अर्को बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे ।

 

साँझ उमेशले भनेका थिए, ‘म बसेकै कोठामा पाँच जना नेपाली छन् । विवेक दाहाललाई फाँसीको सजायँ सुनाएको छ, तर उनलाई कसैले सहयोग गरेको छैन । म आउने भएपछि अस्तिदेखि नै उनले खाना खान छोडेका छन् । आज बिहान मसँग इमोमा ड्वाँ–ड्वाँ रोएका थिए ।’

आँसुबाट सुरु भएर आँसुबाटै सकिने दिन अब सकियो उमेशको । एउटा ट्याबलेट खाएर दुई–तीन दिनसम्म सुत्नुपर्ने बाध्यताको अन्त्य भयो । अब, १४ वर्षपछि भेट हुनेवाली पत्नीसँग कसरी खुशी साट्लान् उमेश ? मृत्युबाहेक केही नसोचेका उमेश, सकुशल जन्मभूमिमा टेक्दा कसरी आफूलाई सम्हाल्लान् ? १८ दिनमै छाडेर गएको छोराले कसरी बाबा भन्लान् ?

एउटा परदेशीको अर्को अकल्पनीय यात्रालाई हामीले पनि पछ्यायौँ । किनकि उमेश हाम्रो समाजको नौलो विडम्बना हुन् ।

०००

काठमाडौं टेकेको पाँचौ‌ं दिन अर्थात १३ माघमा उमेशले गाउँको साइत तय गरे । घरसम्म पुर्‍याउने जिम्मा सरोजको थियो ।

काठमाडौंलाई हतार छ । सधैंको आत्तुरी । यो कार्यालय समय हो – ९ः३० बजे । बानेश्वर चोक वरिपरिको जामले यात्रुलाई सडक पार गर्न मुस्किल छ । माघको महिना चिसो छ । फुटपाथमा न्यानो कपडा लगाएर मानिसहरु यसरी ठोक्किँदै हुइँकिदै छन् की एकछिन मात्र रोकिए संसार बित्नेवाला छ । कति सवारी चालकलाई ट्राफिक लाइट पर्खने फुर्सद छैन । यहाँ ट्याक्सीलाई पनि फुर्सद छैन । लामो समयपछि फेला पर्‍यो । ट्याक्सी चालक इमान्दार रहेछन् । मिटर भाडामै एयरपोर्टसम्म पुर्‍याए ।

विमानस्थलको प्रतिक्षालय उस्तै खचाखच । मानिसहरु आउने क्रम रोकिएको छैन । तर, अहिलेसम्म एउटै उडान भएको छैन । प्रतिक्षालयमा खाली कुर्सी पाउन गाह्रो छ । कोही सुतेका छन्, कोही झोक्राएका छन्, कोही कफी पिउँदै छन् । अधिकांश मोबाइलमा व्यस्त छन् । ड्युटीमा खटिएका एक जना प्रहरी अधिकृतले भने, ‘यो मौसममा नजिकको यात्रु त गाडीमै गएको बेस् ।’ तर, उमेश यादव पनि छिटो पुग्ने भन्दै यही भिडको एउटा हिस्सा बनेका छन् ।

१०ः३० उडानको समय । ११ बज्यो, १२ बज्यो, एक पनि बज्यो, तर उडान भएन । उमेश टोलाइरहन्छन् । मोबाइलमा घोत्लीरहन्छन् । निरन्तर घरमा फोन घुमाइरहन्छन् । उमेशले मधेशी लवजमा नेपालीमै भने, ‘सबै परिवार एयरपोर्टमै आएर कुरिरहेका छन् ।’

२ः४५ मा एयरपोर्टको माइकले भन्यो, ‘जनकपुरका यात्रु महानभावहरु कृपया पाल्नु होला ।’ हतारमै उमेश बसमा गएर बसे । तर, बसले पनि अझै ढिलो गर्छ । वाकीटाकी समाएका एक कर्मचारी भन्दैछन्, ‘एक जना कता हराउनु भएछ !’

रोइरहेका उमेशलाई सम्हाल्दै सरोज राय ।

उमेश खै कुन–कुन सम्झनाले मनको कुनामा हराए ? बसको कुनामा बसेर सुक्क–सुक्क गर्न थाले । घामको किरण बसभित्रै आएको छ । उमेशले डाँको छाड्न थाले । उनी थामिदैथामिएनन् । बस विमानतर्फ हिँडेपछि भने, ‘सबैभन्दा बढी छोराको अनुहार हेर्न मन लागेको छ ।’

०००

जनकपुरको रनवेलाई विमानले टेक्दा घडीमा ३ बजेर ३० मिनेट गैसकेको थियो । विमानबाट ओर्लनेवित्तिकै रन–वे ढोगे । र, स्वतन्त्र पंक्षीजस्तै उडेका उमेशले केही फोटो लिए । जुन मोबाइल सरोजले नै उपलब्ध गराएका थिए । त्रिभुवन विमानस्थल ओर्लंदा त उमेशको गोजीमा सात रिअल (साउदी पैसा) मात्र थियो ।

उमेश जनकपुर विमानस्थलको गेटमा नपुग्दै उनको घाँटीमा माला बर्सियो । सरोजको गला पनि मालाले नै पुरियो । उनलाई हेर्ने र स्वागत गर्नेको भिड लाग्यो । तर, त्यो भिडभन्दाको हल्लालाई छिचोल्दै क्रन्दनको चर्को आवाज आइरहेको छ, बाहिर कोही रोइरहेका छन् ।

उमेश गेटबाहिर के निस्किएका थिए, उनको अनुहार कच्याक–कुचुक भयो । आँसु झर्‍यो, तर आवाज उनीभित्रै हरायो । श्रीमती हुत्तिदै उमेशको खुट्टामा झुण्डिन आइपुगिन् । उसैगरी डल्ला परे आफन्त । दुई छोराले बाबा.. भन्दै आमा र बाबाको दृष्य हेर्दै आँसु पुछिरहे । उमेशकी श्रीमती यसरी चिच्याइन् की यो कुनै सपना हो, र रोएर विपनामा बदल्नु छ । मान्छे दुःखमा मात्र होइन खुशीमा पनि छाती पिटेर रुन्छ । अभिव्यक्तिको चरम रुप सायद आँसु हो ।

जनकपुर विमानस्थलमा उमेश ।

केही पर उमेशको लागि गाडी तयार थियो । गाडी जनकपुरधामतर्फ हुइँकियो । तर, उनकी पत्नीको न आवाज रोकियो, न आँसु । यसरी कि, १४ वर्षसम्म दुई छोराको लागि गरेका दुःख, पतिको प्रतिक्षामा पलपल जलेको मनभरीका पीडा आँसुबाट बगाउन चाहन्छिन् उनी ।

२१ वर्षीय उमेश सपनाको चाङ र ऋणको भारी बोकेर सन् २००६ मा साउदी लाग्दा पत्नी सञ्जुको उमेर मात्र १६ वर्ष थियो । १३ वर्षको उमेरमा उनीहरुले बिहे गरेका थिए । तर, बिहे गरेको तीन वर्षमै उमेश धन कमाउन साउदी लागे र उतै हराए ।

यता दुई छोरा हुर्काउन सहज थिएन सञ्जुलाई । एक वर्षसम्म पनि श्रीमानको अत्तोपत्तो भएन । घरमा दिनदिनै साहुहरु आउन थाले । सञ्जु दुई काखे छोरा च्यापेर माइत लागिन् ।

पाँच वर्ष माइतमै बसिन् । अरुको खेतमा काम गरेर भए पनि छोराछोरीलाई भोको रहन दिइनन् । पाँच वर्षपछि फेरि दिदीको शरणमा महेन्द्रनगर पुगिन् । निरन्तर फर्निचरमा काम गरेर भए पनि दुई छोरालाई शिक्षाबाट टाढा रहन दिइनन् । बोर्डिङ स्कुल नै पठाइन् ।

श्रीमान कहाँ छन् सञ्जुलाई कुनै पत्तो थिएन । ‘१२ वर्षमा त पक्कै आउनुहोला भनेर बाटो हेरिबसेँ’, मञ्जु भन्छिन्, ‘छोराछोरी खायो खाएन, कसरी बाँच्यो, कसैले सोध्ने थिएन । म रोइमात्र रहन्थेँ अनि दुई छोरा हेरेर आँसु पुछ्थेँ ।’

विदेशिएको चार वर्षपछि मात्र सञ्जुले आफ्नो श्रीमानको आवाज सुन्न पाइन् । उनले धुर्मालो हल्ला सुनेकी थिइन्– उमेश जेलमा छन् । जब सञ्जुले जेल भित्रका श्रीमानको आवाज सुनिन्, उनी रोइन् मात्र । उमेशले भनेका थिए, ‘जेल परेको छु । एक महिनापछि आउँछु । नआत्तिकन बस्नू ।’

तर, त्यसपछिका दुई वर्ष सञ्जुले उमेशको आवाजसम्म सुन्न पाइनन् । आत्मविश्वासलाई भने डगमगाउन दिएकी थिइनन्, ‘१२ वर्षमा त श्रीमान कसो नफर्किनुहोला । उहाँकै बाटो हेरी बस्छु ।’

१३ वर्षपछि श्रीमती र दुई छोरासँगको भेट ।

अहिले जेठा छोरा कमलेस सात कक्षा पढ्छन् भने सानो हितेस तीनमा । कमलेस भन्छन्, ‘मैले त आठ वर्षमा बल्ल बाबाको आवाज सुनेको थाहा छ ।’ १५ वर्षका कमलेसले र हितेसले बाबालाई भेटेपछि एकछिन् छाडेका छैनन् ।

०००

गाडी जनकपुरबाट उमेशको गाउँतर्फ लाग्यो । सडक धुलाम्य छ । गर्मीले पखेटा फिजाउन थालेको छ । बाटो छेउछाउ फुस र टालीका झुप्रा बढी छन् । बस्तीपिच्छे पोखरी देखिन्छन् । तराईबासीको श्वासप्रश्वास हो पोखरी । खेतमा तयार उखुको पात सुक्न थालेका छन् । आज थुप्रैको लगन वा पूजा वा मेला हुनुपर्छ, बाटैभरि माइकमा घन्किएको मैथली गीत, भजन कानमा ठोक्किन आइपुग्छ ।

डेढ घण्टाको कच्ची बाटो छिचोलेर गाडी कमला नगरपालिका– ३ पर्सा गाउँ पुग्यो । यतिबेला घडिले साँझको साढे पाँच बजाइसकेको छ । क्षितिजको घाम डुब्न आत्तिएर रा…तो भएको छ ।

उमेशको स्वागतमा डिस्को गाडी तयार पारिएको छ । जहाँ मैथली गीत घन्कीरहेको छ । ब्यान्ड बाजाको टोली छ । मुख्य बाटोसम्मै स्थानीयको भिड लागेको छ । यसरी की यहाँ कसैको धुमधाम बिहे हुँदै छ ।

जन्मभूमिमा उमेशलाई स्वागत गर्दै पर्सा गाउँबासी ।

उता उमेशको एक तले टालीको झुप्रो उनलाई पर्खेर बसिरहेको छ । उमेशलाई साउदी सपनाले लगाएको एक लाख ४० हजार रुपैयाँको ऋणले धन्न यत्ति घर खाएको छैन । ऋण र ब्याज तिर्दा–तिर्दा पाँच कठ्ठा खेतबाट जम्मा १० धुरको जमिन बचेको छ । तर, ऋण अझै सकिएको छैन ।

यही झुप्रोमा ढोकाछेउ छोराको प्रतिक्षामा भक्कानिरहेकी छन् ७५ वर्षीया आमा अमरदेवी । छोरालाई कुर्दा–कुर्दा मधुरो भइसकेका छन् उनका आँखा । कपाल सेतै, दाँत झरिसकेका छन्, मन मैलो । भाका फिजाउँदै एउटा हातले टाउको र अर्कोले भुइँ पिटेर रोइरहेकी छिन्, अमरदेवी । ढोकाको अर्को छेउमा कलश र दियो बलिरहेको छ ।

उमेशको ७५ वर्षीया आमा ।

उमेशले जब पर्सा गाउँमा टेके, उनका खुट्टा लडखडाए । भुइँमा ढोकलाई ढोग गरे र डाँको छोडेर रोए । यो आँसुको कथा हो । यतिबेला उमेशसँगै रोइरहेको छ पर्सा गाउँ । यसरी की उमेशले साउदीबाट समुद्र पनि बोकेर आएका छन् जुन गाउँलेका आँखाबाट बर्सिरहेछन् ।

उमेशलाई गाउँलेले दोहोर्‍याइरहेका छन् । यो १४ वर्षमा कति बाटो बने, कति घर बने, कति भत्किए, कति जन्मिए, कतिको मृत्यु भयो ? उनलाई के थाहा । उनी त फेरि जन्मिएजस्तो पो भएका छन् । आफ्नै घर पुग्ने बाटो बिर्सेर अर्कै घर प्रवेश गर्न खोज्छन् ।

उमेशको घर आइपुग्यो । उनको घरसँग मैदान छैन । उमेश अर्कैको आँगनमा लामो समय घोप्टी परे । मान्छेलाई मान्छेको मात्र होइन, माटोको पनि उत्तिकै माया हुन्छ । उनले हृदयदेखि माटोलाई माया गरे, त्यही माटोमा आँसु चुहाइरहे ।

उमेशलाई घरको संघारनेर पुर्‍याइयो । तर, उनका पैतला पछाडितर्फ सर्न थाले । यसरी की घरको संघार टेक्नका लागि उनले अझै साहस जुटाइसकेका छैनन् । बुढी आमा लड्खडाउँदै घरबाट निस्किइन् र छोरालाई अंगालोमा बाँधिन् । लामो समय आमा–छोराको मिलनप्रेम अंगालोमा बाँधिइरह्यो ।

स्वागत कार्यक्रममा उमेशको परिवार ।

आफन्तको सहयोगमा आमाले हात कमाउँदै छोरालाई टीका लगाइदिइन् । अगरबत्ती बालेर आरती गरिन् । र, पचास रुपैयाँ हातमा थमाइदिइन् । श्रीमती र दुई छोराले टाउकोमा फूल राखिदिए ।

पछाडिबाट माइकको आवाज आयो, ‘आज हामी सपनाका कुरा गर्दै छौँ । खुशीका कुरा गर्दैछौँ ।’ गाउँले नै उमेशलाई स्वागत गर्दै छ । स्वागत कार्यक्रममा सरोजले घोषणा गरे– उद्यमी बन्न उमेशको लागि १० लाख रुपैयाँ ।

मञ्चमा उमेशसँगै घुम्टोले मुख छोपेर बसेकी छन् सञ्जु । कार्यक्रममा उमेशले बह पोखे, ‘देशमा दुई पैसा कमाएर दाल–रोटी खान्छु, छोरा–छोरी पढाउँछु । तर, विदेशको नाम कहिल्यै लिँदैन, कहिल्यै लिँदैन ।’

भतेर सुरु भयो । मानिहरु अघिसम्म जसरी रोइरहेका थिए, त्यसरी नै खुसी भए ।

०००

साँझ ढल्कीसकेको थियो । उमेश श्रीमतीसँग के कुरा गर्न थालेका थिए । उनी बेहोस भए । श्रीमती चिच्याइन् । मानिसहरु उनको तालुमा पानी खन्याइदिए । आधा घण्टापछि बल्ल उमेश चलमलाए । र, साँझको साढे नौ बजे उनलाई फेरि जनकपुर अस्पतालतर्फ दौडाइयो ।

यो एक दिन कुनै दन्त्य कथाजस्तो लाग्छ । तर, परदेशी नेपालीको धेरै परिवारले दन्त्य कथाजस्ता थुप्रै बास्तविकताको सामना गर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment