Comments Add Comment

दर्शक हराएका छैनन्, तर भड्काउँदैछन् फिल्मकर्मी

कलाकार दीपकराज गिरीले चलचित्र ‘सेन्टी भाइरस र आमा’मा दर्शक आएपछि एउटा स्टाटस लेखे–‘धेरैपछि दर्शक हलमा आए, अत्यन्त खुशीको कुरा हो । दर्शक हराएका रहेनछन् । अब आएका दर्शक टिकाउने कि भड्काउने त्यो चाही हाम्रै हातमा छ ।’

उनको स्टाटसमा खुशी र ब्यङ्ग्य दुबै छ । एउटा कुरा के पक्का हो भने, नेपाली चलचित्र हेर्ने दर्शक हराएका कदापी होइनन् । मात्र, हलमा गएर पैसा खर्च गर्न लायकका चलचित्र नबनेकाले हलसम्म नगएका हुन् ।

दर्शकले थोरै मात्र मेकर र केही चलचित्रलाई पत्याएका छन् । उनीहरुले ती मेकरका चलचित्र हेरेका छन् । तर, के ती मेकर दर्शकको विश्वास बचाउन सफल छन् त ? मुख्य प्रश्न यही हो ।

चलचित्र ‘शत्रु गते’ले बम्पर व्यापार गरेपछि मह जोडी र उनको टिमले हतार गरेर चलचित्र ‘दाल भात तरकारी’ बनाएका थिए । दर्शकले मह जोडी र ‘शत्रु गते’ चलचित्रमाथि बढी विश्वास गरेर ‘दाल भात तरकारी’ हेर्न हलमा पुगे । तर, यो चलचित्र हेर्न हल पुगेका दर्शक निराश भए । चलचित्रको ओपनिङ बम्पर थियो, तर लाइफ टाइम कलेक्शन यसको गतिलो भएन । निराश भएका दर्शकलाई फेरि विश्वासमा लिन मह जोडीलाई सजिलो छैन । ‘दाल भात तरकारी’ले मह जोडीको चलचित्रमाथि आँखा चिम्लिएर विश्वास गर्ने दर्शकलाई भड्काएको पक्का हो ।

यो बर्ष बम्पर व्यापार गर्न सफल अर्को चलचित्र हो, ‘कबड्डी कबड्डी कबड्डी’ । यो चलचित्रका निर्देशक हुन् रामबाबु गुरुङ । रामबाबुले चलचित्र ‘कबड्डी ३’को मेकिङ हतारमा गरे । अझ यसो भनौ, यो ब्लाइन्ड चेक थियो जहाँ रामबाबुले चाहेको रकम लेखे । तर, यो चलचित्रले दर्शक भड्किएका छन् ।

ब्रान्ड नाममा हलुका पाराले चलचित्र बनाएको भन्दै रामबाबुको चर्को आलोचना पनि भयो । समिक्षकले ‘कबड्डी ३’लाई कमजोर भने, दर्शकको प्रतिक्रिया पनि यस्तै आयो । चलचित्रले ९–१० करोड ग्रस कलेक्शन त गर्यो तर ब्रान्डको भ्यालू जोगाउन सकेन । दर्शक यसमा पनि निराश भए ।

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सेन्टी भाइरस’ हेरिसकेपछि दर्शक सन्तुष्ट हुन सकेनन् । समिक्षकको समिक्षा हेर्दा पनि यसलाई हलुका पाराले बनाइएको उल्लेख छ ।

निकै कमजोर धरातलमा टेकेर रामबाबुले बनाएको चलचित्रमा अहिलेका सर्वाधिक चर्चित दुई पात्र सिताराम कट्टेल र कुञ्जना घिमिरेले अभिनय गरे । पक्का थियो, लामो समयपछि सिताराम र कुञ्जना पर्दामा फर्किएका थिए, दर्शकले उनीहरुलाई सबैभन्दा बढी विश्वास गरे । अर्को विश्वास, रामबाबुमाथि पनि दर्शकको केही बचेको थियो । तर, चलचित्रको समिक्षा हेर्दा दर्शकको विश्वासमा फेरि विश्वासघात भएको छ ।

सिताराम र कुञ्जनाले यसपटक चलचित्रको प्रचारका लागि चितवनमा बनिरहेको ‘गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’लाई जोडे । यसैले पनि दर्शकले उनीहरुलाई २ दिन साथ दिए । तर, आउँदो चलचित्रमा यो प्रचार शैलीले काम नगर्ने पक्का छ । सिताराम र कुञ्जनलाई दर्शकले रुचाउने चलचित्र खेलेरै दर्शकको विश्वास जित्नुपर्ने दबाब परेको छ ।

यो बर्ष रिलिज भएर राम्रो व्यापार मात्र होइन राम्रो प्रतिक्रिया पनि पाएका चलचित्र हुन्, ‘जात्रै जात्रा र छ माया छपक्कै’ । यी दुबै चलचित्रको व्यापार सुखद रह्यो, समिक्षा पनि राम्रो रह्यो । दर्शकले यी दुई मेकरका चलचित्रलाई आउँदा दिनमा विश्वास गर्न दुइमत छैन । तर, एक दुई चलचित्र मेकरले मात्र चलचित्र क्षेत्रलाई जोगाउन सक्ने वा दर्शकलाई हलसम्म तानेर हुँदैन । यसका लागि अन्य मेकरको पनि लगाव आवश्यक छ ।

चलचित्र नै नचल्दा दर्शक आएनन् भनेर निराश हुने, दर्शक विश्वास गरेर आउँदा झुक्याउने हो भने, चलचित्र क्षेत्रलाई नै समस्या पर्न सक्छ । यसैले, दर्शक जोगाउने जिम्मा पनि चलचित्रकर्मीको नै हो । यसतफर्त सचेत हुने पो हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment