Comments Add Comment

बागमती प्रदेशले युवालाई आत्मनिर्भर बनाउने कानून ल्याउँदै

११ फागुन, हेटौंडा । बागमतीको प्रदेशसभामा प्रदेश युवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ ।

सामाजिक विकास मन्त्रालयले तयार गरेको विधेयक सामाजिक विकासमन्त्रीको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पेश गरेका हुन् ।

युवाहरुको क्षमता र सीप विकास गर्ने र युवाहरुलाई विकासका लागि सही ढंगले परिचालन गर्ने उद्देश्यले विधेयक ल्याइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबारको बैठकमा अन्तरप्रदेश वासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दफवार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइएको छ ।

आइतबारको प्रदेशसभा बैठकमा प्रश्नोत्तर कार्यक्रमसमेत भएको छ । कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले छाडा पशु चौपायाका कारण सडक सवारीमा अवरोध पुगेको भन्दै राखेको प्रश्नको जवाफ बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले दिएका थिए ।

उनले यस्ता पशु चौपायाको व्यवस्थापनका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन रुपमा योजना बनाएर काम गरिरहेको बताए ।

उनले स्थानीय सरकारसँग समन्व गरी यस्ता छाडा पशु चौपायालाई व्यवस्थित गर्ने काम सुरु भइसकेको जवाफ दिए ।

प्रदेशसभाको आइतबारको बैठक पुनः साढे ३ बजे बस्नेगरी स्थगित भएको छ । बैठकमा विशेष समयको कार्यक्रम रहने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment