Comments Add Comment

बिजुली, सडक र खानेपानीले भोक्रोफाँटमा खुसियाली

स्थानीयवासी भन्छन्-जीवनको अँध्यारो पाटो अन्त्य भयो

११ फागुन, चितवन । उमेरले ४० कटेकी भागिसरा थापालाई जीवनको एउटा अँध्यारो पाटोको अन्त्य सधैका लागि भए जस्तो लाग्छ । यही जुनीमा भोगेको पीडा, दुःख र हैरानी उनका लागि सपना वा कुनै चलचित्रमा देखे जस्तो अनूभूति हुन्छ ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-३ स्थित भोक्रोफाँटमा बिजुली, सडक र खानेपानी पुगेपछि यहाँका बासिन्दाले नयाँ जीवन नै पाएको अनूभुति गरेका छन् ।

भागिसराले ३० वर्षअघि यही ठाँउमा भोगेको जीवन र अहिलेको जीवनमा आकाश जमीनको फरक छ । ‘मट्टीतेलको बत्तीको भरमा जीवन बिताइयो, एक घण्टासम्म टाढा पुगेर पानी बोकेर ल्याएर खाइयो, ५ घण्टा हिडेर मात्रैं बसको मुख देख्न पाइन्थ्यो, तर आज यहाँ भएको विकास देख्दा सपना जस्तो लाग्छ’ भागिसरा भन्छिन्, ‘भोलिका पुस्ताले हामीले भन्दा अझैं बढी सुख पाउँछन् ।’

गैंडाकोट नगरपालिका कार्यालयबाट झण्डै ९ किलोमिटर उत्तरतर्फ रहेको सो ठाँउमा मगर समुदायको बाक्लो बसोवास छ । मूल राजमार्गमा आउन विगतमा झण्डै पाँच घण्टा हिड्नुपर्ने यहाँका बासिन्दा अहिले एक घण्टामा सजिलै पूर्वपश्चिम राजमार्ग आइपुग्छन् ।

कालीगण्डकी कोरिडोरको सडकले भोक्रोफाँटको ‘पेट’ चिरे पनि उनीहरू खुसी छन् । यसले उनीहरूलाई सहजता मिलेको छ । गत भदौमा भोक्रोफाँटमा झलमल्ल बिजुली बल्यो । खुसीको कुनै सिमा रहेन् यहाँका स्थानीय बासिन्दाको ।

यसअघि हुने खानेले घरमा सोलाए राखेका थिए । आर्थिक अवस्था कमजोर हुनेहरुले टुकीको धिपधिपेमा दिनहरु कटाएका थिए । गाउँमा बिजुली पुगेपछि भने सबैका घर झिलिमिली भएका छन् ।

यो क्षेत्रका झण्डै ६५ घरधुरीमा बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणको गत वर्षको १२ लाख र नगरपालिकाको ८ लाखको लागतमा गाउँमा बिजुली पुर्‍याइएको हो ।

भोक्रोफाँट टोलविकास संस्थाका अध्यक्ष पदम ग्रन्द्रमा मगरले पहिलोपटक बिजुलीको उज्यालोमा बस्न पाउँदा निकै खुसी मिलेको बताए । ‘टुकी बालेर बस्नुपर्ने बालवच्चा पढाउनुपर्ने अवस्थाको अन्त्य भएकोमा खुसी लागेको छ,’ अध्यक्ष ग्रन्द्रमा मगरले भने, ‘घरमा सक्ने फ्रिज राखेका छन्, टिभी हेर्न पाएका छन्, इन्टरनेट चल्छ, टिभी, आइरन चल्छ, धेरै सुबिस्ता भएको छ ।’

अर्का स्थानीयवासी अर्जुन बाँचे मगरले कयौं पुस्ता अन्धकारमा बसेर जीवन कटाएको युगको अन्त्य सदाका लागि भएको भन्दै खुसी व्यक्त गरे । बाँचेले अगाडि थपे, ‘अब विभिन्न पेशा व्यवसाय गर्न पनि सजिलो भएको, बालवच्चा, गृहणी सबै खुसी छन् ।’

भोक्रोफाँटमा सडक र बिजुलीले मात्रै हैन, खानेपानीको पनि उत्तिकै अभाव थियो । खानेपानी लिन एक घण्टा पैदल हिडेर जानुपथ्र्यो । हिउँदा त झनै आपत । बालबच्चालाई विद्यालय पठाउन उत्तिकै समस्या ।

तर, अहिले भोक्रोफाँटमा घर घरमा पानी धारा छन् । पश्चिम ग्रामीण नेपाल खानेपानी आयोजनाको करिब ८० लाखको लगानीमा घरघरमा पानीका धारा बनेपछि यहाँका बासिन्दाको खुसीले ‘हृयाटि्रक’ गरेको छ ।

६५ वर्षका गंगाबहादुर झेसीमगर भोक्रोफाँटका दुःख र सुखका साछी बसेका छन् । उनी भन्छन्, ‘मैंले त यस्तो दिन आउला भनेर सोच्या पनि थिएन, रोड पनि पायो, पानी पनि पायो, बिजुली पनि पायो, अब सिँचाइ चाँहियो ।’

झोक्रोफाँटको काखमा कालीगण्डकी नदी बगिरहेको छ । नजिकै नदी भएर पनि यहाँका बासिन्दाले सिँचाइको असुविधा वर्र्षौर्ंदेखि भोगिरहेका छन् ।

स्थानीयका गुनासा सुन्न यहाँ पुगेका गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले स्थानीय तहको चुनावमा आफूले गरेको बाचा पूरा गरेर जनताको घरघरमा बिजुली र पानी पुर्‍याएको बताए । उनले अब छिट्टै सिँचाइको सुविधा उपलब्ध गराउने बाचा जनताका वीचमा गरे ।

‘म चुनावमा भोट माग्न आउँदा यहाँ बिजुली थिएन, सडकको ट्याक थियो, खानेपानी थिएन, मैले बचन दिएको थिए,’ नगरप्रमुख पौडेलले भने, ‘अब यहाँका जनताका दुःखका दिन सकिए, सुखका दिन आए, अध्यारो युगको अन्त्य भएर उज्यालो युगको सुरुआत भयो अब सिँचाइ सुविधा पनि एक वर्षभित्रै उपलब्ध हुन्छ ।’

उनले कालीगण्डकीको पानी लिफ्ट वा बोरिङ कुनै एक माध्यमबाट सिँचाइ उपलब्ध गराउने र सुख्खा ठाँउलाई हराभरा पार्ने बताए ।

यसअघि वडानम्बर ३ कै हर्दी र केलादी क्षेत्रमा पनि नगरपालिकाको पहलबाट केही महिनाअघि बिजुली बालेको नगरप्रमुख पौडेलले जानकारी दिए ।

नगरपालिकाका १८ वटा वडा मध्ये वडानम्बर १८ मा अहिले पनि बिजुली पुगेको छैन । चालु आर्थिक वर्षमा नै विद्युतीकरणका लागि ४ करोड ५० लाख रकम विनियोजन भएर आएको नगरप्रमुख पौडेलले बताए ।

गै‌ंडाकोट नगरपालिका भरिका कुनै पनि जनता अब अन्धकारमा बस्नुपर्ने अवस्था सधैका लागि अन्त्य गरिने मेयर पौडेलको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment