Comments Add Comment

बागमती प्रदेशसभामा उठ्यो सेक्युरिटी प्रेस खरिद र ललिता निवास प्रकरण

११ फागुन, हेटौंडा । बागमती प्रदेशसभाको बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद र ललिता निवास जग्गा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच जुहारी परेको छ ।

आइतबारको विशेष समयमा बोल्दै प्रतिपक्षी दलका अधिकाँश साँसदले सरकार भ्रष्टचारमा लिप्त हुँदै गएको आरोप लगाएका छन् ।सत्तापक्षका सांसदहरुले सरकारले भ्रष्टचार गर्ने कोहीलाई नछाड्ने गरी काम गरिरहेको भन्दै सरकारको बचाउ गरेका छन् ।

नेपाली कांग्रेसकी सचेतक राधा घलेले सरकार भ्रष्टाचारबाट ग्रसित बन्दै गएको आरोप लगाइन् । सरकारले बोलेको र यथार्थमा देखिएका घटनाले सरकार भ्रष्टचारमुक्त देश निर्माण तर्फ नभई नीतिगत र संस्थागत रुपमा भ्रष्टचार गर्नमा अग्रसर देखिएको बताइन् ।

उनले प्रधानमन्त्री केपी ओलीको भनाई उधृत गर्दै ‘के साँच्चै भ्रष्टचारीलाई छाड्नुहुन्न त प्रधानमन्त्री ज्यू’ भन्दै प्रश्न गरिन् । यस्तै दीपेन्द्र श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा सरकारले विभेदपूर्ण निर्णय गरेको आरोप लगाए । एउटै घटनामा नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन प्रधानमन्त्रीहरुलाई छाड्ने तर प्रतिपक्षीलाई मुद्दा लगाउने काम नीतिसंगत नभएको बताए ।

काण्डैकाण्डमा फसेको सरकारको ढाकछोप गर्नको लागि प्रचारात्मक शैलीमा सार्बजनिक जग्गा खोज्ने र खम्बा गाड्ने काम भइरहेको उनले बताए ।

विवेकशील पार्टीका रमेश पौडेलले राष्ट्रसेवक कर्मचारीलाई अमर्यादित शब्द प्रयोग गर्ने र ७० करोडको प्रकरणमा मुछिएका मन्त्रीको राजीनामा लाई नैतिकताको आधारमा राजीनामा दिएको भन्नु गलत भएको बताए ।

बैठकमा सत्तापक्षका सांसद दीपक निरौलाले संसदमा सांसदहरुले उठाउने बिषयहरु सत्य र तथ्थगत रुपमा राख्नुपर्ने भन्दै प्रतिपक्षीको आरोपको खण्डन गरे ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सुनिएका आवाज क्यारिकेचर गरिएको हुनसक्ने भन्दै छानविन बिनै सुनेका भरमा मात्रै दोषी करार गराउन नहुने बताए ।

नेकपाबाहेक अन्य कुनै पनि पार्टीले आरोप लाग्नेबित्तिकै नैतिकताको आधारमा राजीनामा दिई अनुसन्धानलाई सहज बनाउने हिम्मत नगरेको दावी उनले गरे ।

यस्तै केशवराज पाण्डेले प्रिन्टिङ प्रेस खरिद प्रक्रिया जीटुजी मोडेलबाट अघि बढिरहेकोमा एजेण्ट कसरी आयो भन्दै उक्साएको भरमा दोषी प्रमाणित नहुने बताए ।

महादेवलाई सुनको जलरी ?

सरकारले पशुपतिनाथ मन्दिरमा सय किलोको सुनको जलरी लगाउने निर्णयको कांग्रेस सा‌ंसदले बिरोध गरेकाछन् ।

बागमती प्रदेश सभामा आइतबारको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद नरोत्तम बैद्यले खरानी घसेर भक्तहरुको कल्याण र संरक्षण गर्ने महादेवलाई सरकारले सुनको जलरी लगाएर सामन्ती बनाउन खोजेको आरोप लगाए ।

उनले ‘सो सिम्पल महादेवलाई सुनको जलरी कहीँ सुहाउँछ’ भन्दै व्यङ्ग्य गरे । प्राचीन स्मारक संरक्षण ऐन अनुसार नै पशुपतिनाथलाई संरक्षण गर्न सांसद बैद्यले सरकारलाई आग्रह समेत गरे ।

राप्रपाकी सांसद रिना गुरुङले प्रदेश सरकार महलिामैत्री नभएको आरोप लगाइन् । उनले आम महिलाहरुको अधिकारका लागि संसदमा बोल्ने महिला सांसदहरुले आफ्नै अधिकारका लागि लड्न नपरोस् भन्दै बागमती सरकारको मन्त्रिमण्डल समावेशी बनाउन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment