Comments Add Comment

छापामा आज : कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्माको जन्मोत्सव र संविधान संशोधनका लागि नेकपाले बनाएको कार्यदलले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । त्यस्तै, गोकुल बास्कोटाको अडियो छानबिनका लागि अख्तियारले देखाएको अग्रसरता, सेक्युरिटी प्रेस खरिदमा विमल पौडेलले खेलेको भूमिकालगायत विषयबारे पनि पत्रपत्रिकाहरूले चर्चा परिचर्चा गरेका छन् ।

‘कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव’ शीर्षकमा नयाँ पत्रिकाले आज ब्यानर समाचार बनाएको छ । कम्युनिस्ट राजनीतिमा लामो समयदेखि सक्रिय प्रधानमन्त्रीले आफ्नो ६९ औं जन्मोत्सव राजसी ठाँटले मनाएको ठहर नयाँ पत्रिकाको छ ।

नयाँ पत्रिकाका अनुसार जन्मोत्सव मनाउन चार हेलिकोप्टरसहित आठराई पुगेका प्रधानमन्त्री ओलीले ट्याक्टरमा ओसारिएका विद्यार्थीलाई कापी–कलम वितरण गरेका थिए । यती समूहका अध्यक्ष ल्हाक्पा शेर्पा आफ्नै स्वामित्वको एयर अल्टिच्युडको हेलिकोप्टरमा केक बोकेर ओलीको जन्मगाउँ पुगेका थिए । केक नेपालको नक्सा आकारको १५ किलोको थियो । त्यही काटेर प्रधानमन्त्रीले जन्मोत्सव मनाएका हुन् ।

नयाँ पत्रिका लेख्छ– जन्मोत्सव मनाउन प्रधानमन्त्री ओलीले आफ्नै पहलमा पार्टी नेता–कार्यकर्ताका लागि बनाएको आचारसंहितको समेत उल्लंघन गरेका छन् । गत ५ माघमा ओली र अर्का अध्यक्ष प्रचण्डले जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता संस्कारका कार्यक्रमलाई परिवारमा मात्र सीमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता–कार्यकर्तालाई आचारसंहिता जारी गरेका थिए ।’ तर प्रधानमन्त्री ओलीले आचारसंहिता उल्लंघन गरेर राजसी ठाँटका साथ जन्मोत्सव मनाएको नयाँ पत्रिका समाचारको सार छ ।

कोरियाबाट आउने नेपालीको कोरोना परीक्षण अनिवार्य रहेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । समाचार अनुसार, कोरियामा कोरोना संक्रमण फैलिएपछि त्यहाँबाट आउने सबै यात्रुको स्वास्थ्य परीक्षणसहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपतकालीन हेल्थ डेस्कलाई निर्देशन दिइएको छ ।

नेकपामा कार्यदल विवाद रहेको समाचार अन्नपूर्णमा छ । त्यस्तै चिनियाँका कारण प्रभावित भएका निर्माण कार्यबारे पनि अन्नपूर्णले आज समाचार बनाएको छ ।

जीटूजी र नीतिगत निर्णय भ्रष्टाचारका मुख्य दुई माध्यम रहेको ठहर नागरिकले गरेको छ । मन्त्रिपरिषद्को नीतिगत निर्णयमा अख्तियारलाई छानबिन अधिकार नभएकाले अनियमितता गर्न नीतिगत निर्णयलाई सहारा बनाउन थालिएको समाचारमा उल्लेख छ ।

नेकपा नेता वामदेव गौतमका लागि संविधान संशोधनको तयारी गरिएको खबर कान्तिपुरले लेखेको छ । त्यस्तै गोकुल बास्कोटाको कमिसन डिलिङसम्बन्धी अडियो छानबिनमा अख्तियारले देखाएको अग्रसरताबारे पनि कान्तिपुरले समाचार बनाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment