Comments Add Comment

उपत्यकाका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु, १ गम्भीर

१२ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

ललितपुरको बालकुमारीमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार अन्दाजी ३० वर्षकै ललिता राई रहेका छन् ।

प्रहरीका अनुसार कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनाका घाइते दुवैलाई ग्वार्कोस्थित बी एण्ड बी अस्पताल पुर्‍याइएकोमा त्यही उपचारका क्रममा निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यस्तै, भक्तपुर नगरपालिका–९, च्यामासिंहमा आइतबार साँझ एक ट्रकको ठक्करबाट एक  बालकको मृत्यु भएको छ । बा ३ क ३५८८ नम्बरको ट्रकको ठक्करबाट घाइते भक्तपुर नगरपालिका–१०, कमलविनायकका ११ वर्षीय तिलक मकाजुको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको पुरानो बसपार्कमा बा ७५ प २२५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा १ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गोदावरी नगरपालिका–५, लेलेका ४२ वर्षीय श्रवण तामाङ छन् । प्रहरीका अनुसार, उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment