+
+
Shares

कृष्‍णनगरले पाएन प्रशासकीय अधिकृत, तलब नपाएर शिक्षक आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १५:२७

१२ फागुन, कपिलवस्तु । विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक आउने सेवाग्राही निराश हुँदै फर्किने गरेका छन् । कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गए पनि कृष्णनगर अधिकृतविहीन भएको हो ।

गत साउन ९ गते निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हाल्दै आएका राजप्रसाद त्रिपाठी आवकाश भएपछि भदौमा भण्डारी कृष्णनगर आएका थिए । भण्डारी कृष्णनगरमा मुश्कीलले एक महिना मात्र बसेर मङ्सिर मै आफ्नो पायक पर्ने स्थानमा सरुवा भए ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले प्रमुख प्रशासकीय अधिकृतका लागि पाँच पटक काठमाडौँ धाउँदासमेत कुनै सुनुवाई नभएको बताए । शाहले पटकपटक सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका मन्त्रीलाई भेटेर कृष्णनगरमा अधिकृत पठाउन माग गर्दा पनि मन्त्रालयले कुनै पहल नगरेको गुनासो गरे । ‘मैले तत्कालीन मन्त्री लालबाबु पण्डित र अहिलेको मन्त्री हृदयश त्रिपाठीलाई पटकपटक कार्यकारी पठाउन माग गरेँ, तर हालसम्म कोही आएनन्’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयबाट दुई पटक ज्ञापन बुझाए पनि हालसम्म मन्त्रालयले कार्मचारी नपठाउनु दुःखद् भएको उपप्रमुख सबनम खातुनले बताइन् । कृष्णनरको विकासको बाधक अहिले मन्त्रालय रहेको उनले आरोप लगाइन् ।

नगरपालिकामा अधिकृत नहुँदा विकास निर्माणको काम ठप्प हुनुका साथै प्रशानिक काम बन्द भएको छ । त्यस्तै कर्मचारीले तलब खानबाट समेत वञ्चित भएका छन् ।

शिक्षक आन्दोलित    

कृष्णनगर केही महिनादेखि अधिकृतविहीन भएकाले तलब नपाएका शिक्षकहरु आन्दोलन शुरु गरेका छन् । आइतबार कृष्णनगर नगरपालिकाको कामकाज ठप्प पारेर नगरपालिका भित्रका कूल २७ सामुदायिक र २२ धार्मिक विद्यालयका शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

नगरपालिकाभित्रका शिक्षकहरुले नगरपालिका तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्रसमेत बुझाएका छन् । शिक्षकहरुले दैनिक दुई घण्टा नगरपालिका आएर धर्ना दिने बताएका छन् ।

चार/चार महिनासम्म आफ्ना बालबच्चालाई उधारो खुवाउँदै आएका शिक्षक वर्गको मर्का मन्त्रालयले समेत बुझिदिनुपर्ने राष्ट्रिय शिक्षक सङ्घका नगर अध्यक्ष प्रल्हादप्रसाद पाण्डेयले बताए । तलबलगायत विद्यालय पूर्वाधार, खाजा, छात्रवृत्तिलगायतका रकम निकासाको समस्या छिटै समाधान नभए नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गरी सडकमा उत्रन बाध्य हुने शिक्षक प्रदीप सिंहले जानकारी दिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटकपटक सूचना गरे पनि कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नपठाएका कारण शिक्षक, कर्मचारी, उपभोक्ता समिति तथा अन्य योजनाहरुको काम ठप्प रहेको नगरप्रमख रजतप्रताप शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?