Comments Add Comment

सांसदले सोधे – मन्त्रिपरिषदमा महिला सहभागिता खोई ?

१२ फागुन, हेटौंडा । वागमती प्रदेशको मन्त्रिपरिषद्मा महिला सहभागिता शून्य रहेको भन्दै सत्तापक्षकै महिला सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

सोमबार प्रदेशसभाको शून्य समयमा बोल्दै नेकपाका महिला सांसदहरुले संविधानको भावना विपरीत प्रदेश सरकारको मन्त्रिपरिषद् गठन भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

सांसद सरस्वती बाटीले संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी प्रावधान वागमती प्रदेशको मन्त्रिपरिषद्मा नदेखिएको भन्दै निर्णायक तहमा महिला सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरिन् ।

‘हालै पुनर्गठन गरिएको मन्त्रिपरिषद्मा पनि महिलाको सहभागिता भएन,’ उनले भनिन्, ‘सरकारले संविधानको मर्म विपरीत काम गरिरहेको छ । महिलाहरुको निर्णायक तहमा सहभागिता हुन जरुरी छ ।’

सत्तारुढ सांसद सीता अधिकारीले वागमती प्रदेश सरकारले संविधानकै उल्लघंन गरेको आरोप लगाइन् । उनले बागमती प्रदेशको मन्त्रिपरिषद्मा महिला किन नअटाएको भन्दै प्रश्न गरिन् ।

‘प्रदेश सरकारमा महिलाहरुको सहभागिता शून्य छ,’ नेकपा सांसद इन्द्रमाया गुरुङले भनिन्, ‘संविधानले स्पष्ट व्यवस्था गरेको समानुपातिक, समावेशी सहभागिताको उल्लघंन भएको छ । प्रदेशमा समावेशी सरकार कहिले बन्छ ?’ नेकपाकै सांसद शान्ति थिङले मन्त्रिपरिषदमा महिला सहभागिता नहुनुको कारण बारे मुख्यमन्त्री डोरमणि पौडलेसँग जवाफ माग गरिन् ।

वागमती प्रदेशमा एक जना पनि महिला मन्त्री नभएको कारण प्रदेशसभाबाटै सरकारको आलोचना भएको हो । फागुन ५ गते पुनगर्ठन भएको मन्त्रिपरिषदमा पनि महिला सहभागिता नभएपछि सोमबारको शून्य समयमा सांसदहरुले विरोध गरेका हुन् । महिला सांसदहरुले आफूहरुको पनि प्रतिनिधित्व मन्त्रिपरिषद्मा हुनुपर्ने आवाज यस अघि पनि उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment