Comments Add Comment

नेपालगञ्ज बजारमा ग्याँसका अवैध सिलिन्डर छ्याप्छ्याप्ती

१३ फागुन, धम्बोझी (बाँके) । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्याँसका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको पाइएको छ ।

भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्याँसका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ ।

नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । सोमबार जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्याँस बिक्रेतालाई लक्षित गरी अनुगमनसमेत गरेको छ । ‘उपभोक्तालाई तोकेबमोजिमको मापदण्डअनुसार ग्याँस बिक्री भए/नभएको अनुगमन गरिएको हो’, वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले भने ।

संयुक्त बजार अनुगमन समितिले शुक्रबार पाँचवटा ग्याँस बिक्रेताको पसल अनुगमन गरेको थियो । अनुगमनमा तीनवटा पसलले मापदण्ड विपरीत साना ग्याँसका सिलिन्डर बिक्री गरेको पाइएको वाणिज्य कार्यालयका प्रमुख पौडेलले बताए । ‘उनीहरुलाई प्रतिफर्म रु २० हजारका दरले जरिमाना गरेका छौँ,’ उनले भने ।

पुनः अनुगमन गरी निर्देशन पालना गरे/नगरेको ‘फलोअप’ गरिने भन्दै उनले अनुगमनका क्रममा अधिकांश ग्याँस पसलले तराजु नराखेको पाइएकाले राख्न निर्देशन दिएको बताए । नेपालमा अनुमति नभएका साना ग्याँस सिलिन्डरको प्रयोग गर्नु जोखिमपूर्ण हुने पौडेलको भनाइ छ।

भारतले अघोषित नाकाबन्दी लगाएका बेला बजारमा साना ग्यासका सिलिन्डर अवैध रुपमा भित्रिएका थिए । नेपालमा ग्याँसको अभाव भएपछि त्यतिबेला उपभोक्ताहरुले भारतीय बजारमै पुगेर पनि साना सिलिन्डर खरिद गरी ल्याएका थिए ।

अभावका कारण नियामक निकायले समेत नेपालगञ्ज बजारमा अवैध सिलिन्डर बिक्रीमा चासो देखाएको थिएन । साना सिलिन्डरहरु उपभोक्ताले खाना पकाउन र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन् ।

साना सिलिन्डरमा ग्याँस भर्ने व्यवस्था नेपालमा छैन । व्यवसायीहरुले अवैध रुपमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा ग्याँस भर्दै आएका छन् । ठूलो सिलिन्डरबाट सानोमा ग्याँस भर्दा दुर्घटनाको जोखिमसमेत रहने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment