Comments Add Comment

मानव तस्करीको नयाँ शैली : मोटरसाइकल चढायो, सीमा कटायो

१४ फागुन, विराटनगर । घटना नं. १ :– सिन्धुपाल्चोक मेलम्चीकी रञ्जना तामाङका श्रीमान मजदुरी गर्छन् । श्रीमानको कमाइले मात्र घर व्यवहार चलाउन कठिन भएपछि रञ्जनाले नावालक छोरो छोडेर उनी वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने निधो गरिन् । त्यही क्रममा उनको लाक्पा लामासँग भेट भयो, उनले कुवेतमा राम्रो आम्दानी हुने लोभ देखाए । तीन वर्षको छोरालाई श्रीमानको जिम्मा लगाएर रञ्जना २८ माघमा सिन्धुपाल्चोकबाट कुवेतका लागि हिँडिन् ।

उनी त्रिभुवन विमानस्थलबाट उडिनन् । सडक मार्ग प्रयोग गरेर विराटनगरको रानी नाका हुँदै दिल्ली पुर्‍याउने दलालको योजना थियो । त्यहीअनुसार उनी काठमाडौंबाट विराटनगर पुगिन् । विराटनगरको नाका कटाउने क्रममा उनको उद्दार भयो ।

‘केही कमाइ होला भनेर हिँडेको, यस्तो दुःख पाउने भए त किन आउँथे ?’ उद्धारपछि उनले भनिन् ।

घटना नं. २ :– सिन्धुपाल्चोककी फुलमाया तामाङ २ फागुनमा कुवेत जाने योजनाका लागि दिल्ली हिँडेकी थिइन् । सामान्य चिनजानका दिनेश लामाले उनलाई कुवेतमा राम्रो कमाइ हुने आश्वासन दिएपछि उनी पढाइ छाडेर हिँडेकी थिइन् ।

उनलाई पनि विराटनगरको रानी नाका हुँदै सीमापारी पुर्‍याउन खोजिएको थियो । तर उनको उद्दार गरिएको छ । । ‘मालिकले छिटो आइज घरको काम हो भनेपछि हिँडेको हुँ,’ उद्दार गरिएकी फुलमायाले भनिन्, ‘अब घर फर्किन चाहन्छु ।’

घटना नं. ३ :– धादिङकी मन्दिरा सुनुवारको रुपा विकसँग चिनजान भयो । कुराकानीका क्रममा रुपाले कलकत्तामा राम्रो कमाइ हुने भन्दै काम लगाइदिने आश्वासन दिइन् । र, भारत लैजान ८ फागुनमा विराटनगर ल्याइपुर्‍याइन् । सीमा कटाउने क्रममा उनलाई साथ दिन विराटनगरका विष्णु मण्डल थपिए । तर रानी नाका पार गर्ने क्रममा माइती नेपालले उद्दार गर्‍यो ।

उनलाई घर फर्काइएको छ भने रुपा र विष्णु एक दिन प्रहरी हिरासतमा बसे ।

नेपाली महिलाहरुलाई दलालहरूले भारतको बाटो भएर कसरी खाडी मुलुक पुर्‍याउँछन् भन्ने उदाहरण हुन् माथिका घटना । सरकारले महिलालाई रोजगारका लागि खाडी मुलुकमा जान प्रतिबन्ध लगाएको छ । तर पछिल्लो समय सडकमार्ग हुँदै भारतको आसाम, मणिपुर, मिजोरम हुँदै म्यानमार पुर्‍याउने र त्यहाँबाट श्रीलंका हुँदै खाडी मुलुक पुर्‍याउन गिरोह सक्रिय देखिएको छ ।

सीमा कटाउने नाका रानी र काँकडभिट्टा

दलालले सीमा कटाउने सुरक्षित मार्गका रुपमा काँकडभिट्टा र रानी नाकालाई प्रयोग गर्ने गरेका छन् ।

जोगबनीबाट दिल्लीका लागि सीधा रेल सेवा भएकाले मानव तस्कारहरुले विराटनगरको रानी नाकाबाट सीमा कटाउने गरेको माइती नेपाल मोरङका संयोजक विनोद पाखरेलले बताए ।

यसरी सीमा कटाएपछि भारतको दिल्ली, पहाडगन्ज, गोठगाउँ, मुनिरका, बनारस, मनिपुर, चेन्नई, जयपुर र मिजोरममा राख्ने गरिन्छ । त्यस्तै, दिल्ली, बनारस, चेन्नई, जयपुर, बम्बई, कोलकाता, लखनउ र बैंगलोरको विमानस्थलबाट खाडीका लागि उडाउने गरिन्छ । कतिपयलाई भारतकै कोठीमा बेच्ने गरिन्छ ।

सरकारले त्रिभुवन विमानस्थलमा कडाइ गरेपछि दलालले नेपाली चेली पुर्‍याउने सडकमार्गको विकल्प प्रयोग गर्दै रानी र काँकडभिट्टा नाकाबाट भारतको विभिन्न शहरमा लैजाने गरेको पाइएको १ नं. प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुमनकुमार तिम्सिनाले बताए । उनी भन्छन्, ‘नेपालबाट नागरिकता बोकाएर दिल्ली लगिन्छ, त्यसपछि भिसा लगाएर खाडी पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ ।’

नेपालको अनुरोधमा भारत सरकारले दिल्ली विमानस्थलमा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरेपछि दलालहरूले बंगलादेशको रुट प्रयोग गर्न थालेका थिए । बंगलादेशमा पनि कडाइ भएपछि अहिले सडकमार्ग भएर भारतको मणिपुर, मिजोरम, म्यानमार, श्रीलंका हुँदै खाडी पुर्‍याउन थालेको पाइएको छ ।

२९४ जनाको उद्दार, ४१ जनालाई मुद्दा

रानी र काँकडभिट्टा नाकाबाट माइती नेपालले एक वर्षमा २९४ जना महिलालाई उद्दार गरेको छ ।

२०१९ को जनवरीदेखि डिसेम्बरसम्म उद्दार गरिएका उनीहरुलाई सडक मार्ग भएर भारत लाने क्रममा उद्दार गरिएको हो । उनीहरु सबै १८ वर्षभन्दा माथिका छन् ।

यही अवधिमा नेपाली महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी मानव बेचबिखन गर्न खोजेको आरोपमा ४१ जना पक्राउ परेका छन् र उनीहरुलाई मुद्दा चलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरु पूर्वी नेपालका नाकाबाट नेपाली महिलाहरुलाई सीमा कटाउने क्रममा पक्राउ परेका थिए ।

तस्करले फेरे शैली

प्रहरी र माइती नेपाल लगायतका संघ संस्थाले नाका क्षेत्रमा कडाइ गर्न थालेपछि मानव तस्करहरुले सीमा पार गर्ने तरिकामा पनि परिवर्तन गरेका छन् । महिलाहरुलाई सीमा कटाउन पछिल्लो समय मोटरसाइकल प्रयोग गरेको पाइएको छ ।

माइती नेपालका मोरङ संयोजक पोखरेलकाअनुसार यसअघि चारपाङ्ग्रे सवारी साधन प्रयोग हुन्थ्यो । त्यसमा जाँच हुन थालेपछि तस्करहरुले मोटरसाइकलको प्रयोग बढाएको उनको भनाइ छ । पोखरेलले भने, ‘किनमेलका लागि परिवारलाई लिएर सीमापारी जान लागेकोझैं गरेर महिलाहरुलाई सीमा कटाउन खोज्छन् । तस्करहरुको यो नयाँ शैली हो । त्यसमा पनि निगरानी थालेका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment