Comments Add Comment

बजेट अभावका कारण रम्तेल स्मृति पार्कको कामले गति लिएन

१४ फागुन, गोरखा । आज फागुन १४, जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २५औं स्मृति दिवस । २०५२ साल फागुन १४ गते प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको थियो ।

बारपाक सुलिकोट गाउँपालिका–८ जराङका रम्तेलले ११ वर्षको कलिलो उमेरमा सहादत प्राप्त गरे । तिनै रम्तेलको सम्झनामा जराङमा निर्माण हुन लागेको शहीद स्मृति पार्कको गत वर्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए ।

तर पार्क निर्माणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण कामल गति लिन नसकेको गाउँपालिका अध्यक्ष बिष्णु भट्ट बताउँछन् । ‘गत वर्ष गाउँपालिकाले १५ लाख रकम छुट्याएको थियो,’ उनले भने, ‘जग्गा सम्याउने र घेराबार गर्दैमा पैसा सकियो ।’ यस वर्ष पनि गाउँपालिकाले १५ लाख रकम छुट्याएको उनले बताए । ‘त्यो पैसाले पर्खाल, गार्डेनिङ लगायतका काम गर्छाै,’ उनले भने । रम्तेलको घर नजिक अतिथि गृहका लागि सानो संरचना बनाउने योजना समेत रहेको उनले जानकारी दिए । उनका अनुसार स्टिमेट तयार भइसकेको छ ।

केन्द्रीय बजेट नभएका कारण पार्क निर्माणको कामलाई तीव्रता दिन नसकेको उनको भनाइ छ । उनका अनुसार पार्कमा रम्तेलको शालिक, संग्रहालय, पुस्तकालय सहितको संरचनाहरु निर्माण गर्ने योजना छ । ‘मिटिङ हल सहितको दुइ तले भवन बनाउने योजना हो, एक तलामा सेमिनार हल हुन्छ, अर्काे तलामा एकातिर पुस्तकालय र अर्कातिर संग्रहालय बन्छ,’ उनले भने । जनयुद्धमा तयार भएका दस्तावेजहरु संग्रहालयमा राखिने उनले बताए ।

जनयुद्धका पुराना हतियार लगायत युद्धजन्य सामानहरु के के पाइन्छ खोजेर संग्रहालयमा राखिने उनले बताए । इन्जिनियरिङ डिजाइनको काम सकिएको उनले बताए । उनका अनुसार रकम नभएका कारण संरचना निर्माणको काम भने अघि बढ्न सकेको छैन । केन्द्रसँग रकम माग गरेपनि नआएको उनको भनाइ छ ।

रम्तेल स्मृति दिवसको अवसरमा जिल्लामा रक्तदान लगायतका विभिन्न कार्यक्रमहरु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment